बिर्तामोड ५ भदौ । बिर्तामोडका व्यवसायीहरुको छाता संस्था बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायिक कारोबारका आधारमा लगाइएको कर अब्यवहारिक भएको ठहर गरेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको सचिवालयमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाले लगाएको ब्यवसायिक कर, विज्ञापन कर, फोहोर मैला कर अव्यवहारिक र ब्यवसायी मार्ने खालको भएको ठहर गरेको जनाएको हो ।
आफ्ना माग ७ दिनभित्र पूरा नगरे आन्दोलनमा उत्रने संघका महासचिव अर्जुन मैनालीले बताए ।
करको दायरा (सहभागिता) बढाउनुपर्नेमा व्यवसायीसंग परामर्श नै नगरी करको दर बढाउनुले नगरपालिका व्यवसायीमैत्री नभएको संघको निष्कर्ष छ । अघिल्लो वर्षसम्म लाभको आधारमा वा ब्यवसायमा गरिएको लगानीको आधारमा कर तिर्दै आएका व्यापारी व्यवसायीमाथि यसबर्षदेखि कारोबारका आधारमा कर तिर्नुपर्ने ब्यवस्था नगरपालिकाले गरेपछि ब्यवसायीहरुले आपत्ति जनाएका हुन् ।
ब्यवसायीहरुले ब्यवसायिक तथा सार्वजनिक हितका विभिन्न १३ बुँदे माग अघि सारेका छन् । पूँजीका आधारमा कर तिर्न पाउनुपर्ने, राजश्व कार्यालयको भन्दा नगरपालिकाले तेब्बर दरमा बढाएको ब्यवसायिक कर तत्काल संशोधन गर्नुपर्ने, ब्यवसायिक फर्म नवीकरण गर्दा कारोबारका आधारमा लगाइएको कर तत्काल हटाउनुपर्ने माग गरेका छन् ।
घर–बहाल कर तिर्नुपर्ने बाध्यात्मक परिस्थितिलाई हटाएर घरधनीले नै घरबहाल कर तिर्ने वातावरण बनाइनुपर्ने आग्रह गरेका ब्यवसायीले विज्ञापन करका रुपमा लिइएको अस्वभाविक कर संशोधन गरिनुपर्ने, कर उठाउँदा गरिने ब्यवहार सुधार गरिनुपर्ने, फोहोर मैला तत्काल ब्यवस्थापन गर्नुपर्ने, ब्यवसायीबाट कर उठाएपछि नगरपालिकाले सेवा सुविधा उपलब्ध गराउनुपर्ने, नगरपालिकाको राजपत्र संशोधन गरी ब्यवसायीका पक्षमा कानूनहरु निर्माण गरिनुपर्ने, सवारी पार्किङको ब्यवस्था गरिनुपर्ने, सडक बत्ती, सिसिटिभि क्यामरा मर्मत गर्नुपर्ने र सार्वजनिक शौचालय निर्माणमा ध्यान दिनुपर्ने लगायतका माग अघि सारेका छन् ।
संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष शिवाकोटीले नगरपालिकाले राजश्व संकलनको मुख्य पक्ष रहेका ब्यवसायीलाई बेवास्ता गरेको बताउनुभयो । त्यस्तै बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले करको दर बढाउनुभन्दा सहभागिता बढाउन आग्रह गर्नुभयो ।
संघका महासचिव मैनालीले संघका तर्फबाट नगरपालिकाको राजश्व परामर्श समितिमा आफूले प्रतिनिधित्व गरेपनि बैठकमा उपस्थितिमा हस्ताक्षर मात्रै गराउने र आफूखुशी निर्णय लेख्ने गरेको बताए । व्यवसायका विषयमा नगरको रातो कितावमा कर सम्बन्धी उल्लेख गरिएका कुरा संशोधन हुनुपर्ने आफूहरुको माग रहेको बताए ।
बिर्तामोड नगरपालिका व्यवसायीको हितमा नभएको ठहर गरेका व्यवसायीको छाता संस्था संघको नेतृत्वमा गएको व्यापारी–ब्यवसायीहरुले टोलीले नगरपालिकामा आफ्ना मागहरु समेटिएको ध्यानाकर्षण पत्र बुझाएका छन् ।
बिर्तामोडका व्यापारीको माग लाभ वा लगानीका आधारमा कर निर्धारण हुनुपर्छ

































































































