सामाजिक सञ्जाल प्रयोगमा देखिएका प्रमुख समस्या तथ्यहीन अभिव्यक्ति, भाषिक मर्यादाको ह्रास, अहंकार र लोकप्रियताको मोह,
आजको आवश्यकता सामाजिक सञ्जाल आरोप, भ्रम र विभाजनको साधन होइन, ज्ञान, संवाद र सकारात्मक परिवर्तनका लागि सन्देश प्रवाह गर्ने माध्यम हो ।
भिमा शिवाकोटी
सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल आजको समाजको अभिन्न हिस्सा बनेको छ । फेसबुक, ट्विटर, टिकटक, युट्युब, इन्स्टाग्राम, वाड्सएप, लिंक्डइन जस्ता प्लेटफर्महरूले मानिसलाई विश्वभर जोड्ने काम गरेका छन् । विचार आदान–प्रदान, सूचना प्रवाह, सामाजिक अभियान, व्यवसाय प्रवद्र्धनदेखि लिएर राजनीतिक, सामाजिक चेतना फैलाउनेसम्मका काम सामाजिक सञ्जालबाट सम्भव भएका छन् । तर सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको गलत प्रयोग, दुरुपयोग र गैरजिम्मेवार अभिव्यक्तिका कारण समाजमा भ्रम, द्वन्द्व र नकारात्मक प्रभाव बढ्दै गएका छन् । दुर्भाग्यको कुरा के छ भने, सामाजिक सञ्जालको प्रयोगमा सर्वसाधारण मात्र होइन, केही बौद्धिक वर्ग, राजनीतिक व्यक्तित्व र सामाजिक अभियन्ता हुँ भन्ने व्यक्तिहरूले समेत जिम्मेवार भूमिका निर्वाह गर्न सकेको पाइँदैन। विचारको गहिराइभन्दा भावनाको आवेग, तथ्यभन्दा आरोप, समाधानभन्दा उत्तेजनालाई प्राथमिकता दिने प्रवृत्ति बढ्दो छ। यस्तो अवस्थामा सामाजिक सञ्जालको वर्तमान प्रयोगको समीक्षा गर्दै यसबाट कसरी सकारात्मक लाभ लिन सकिन्छ भन्ने विषयमा सबै प्रयोगकर्ताले आत्ममूल्यांकन गर्न आवश्यक छ।
पछिल्लो समय सामाजिक सञ्जाल सूचना प्राप्त गर्ने मुख्य माध्यम बनेको छ । समाचार हेर्न, प्रतिक्रिया दिन, धारणा बनाउन र जनमत निर्माण गर्न यसको भूमिका अत्यन्त प्रभावकारी छ । तर यही प्रभावकारिताका कारण गलत सूचना, अफवाह, अर्धसत्य र घृणीत सामग्री पनि तीव्र गतिमा फैलिन थालेका छन् । ‘लाइक’, ‘सेयर’, ‘कमेन्ट’ र ‘भ्युज’ को प्रतिस्पर्धाले तथ्य जाँच नगरी सामग्री पोस्ट गर्ने प्रवृत्ति बढेको छ । राजनीतिक क्षेत्रमा सामाजिक सञ्जाल विचार राख्ने मञ्चभन्दा पनि आरोप–प्रत्यारोप गर्ने हतियारजस्तो बन्न थालेको छ । केहि सामाजिक अभियन्ताहरूले पनि विषयको गहिरो अध्ययन बिना भावनात्मक पोष्टमार्फत समाजलाई विभाजित गर्ने काम गरेको देखिन्छ । केहि बौद्धिक वर्गबाट अपेक्षा गरिने तर्क, शालिनता र जिम्मेवारी धेरैजसो अवस्थामा हराउँदै गएको अनुभूति हुँदै आएको छ ।
सामाजिक सञ्जाल प्रयोगमा देखिएका प्रमुख समस्या तथ्यहीन अभिव्यक्ति : स्रोत नखुलेका समाचार, प्रमाण बिनाको दाबी र व्यक्तिगत धारणालाई सत्यसरह प्रस्तुत गर्ने चलन बढेको छ ।
भाषिक मर्यादाको ह्रास : आलोचना र असहमति प्रकट गर्दा पनि सभ्य भाषा प्रयोग गर्नुपर्नेमा आक्रमक गालीगलौज र अपमानजनक शब्द प्रयोग हुने गरेका छन् ।
अहंकार र लोकप्रियताको मोह : केही व्यक्तिहरू सामाजिक सञ्जाललाई आत्मप्रचारको माध्यम मात्र पनि बनाइरहेका छन्, जहाँ समाज परिवर्तनभन्दा व्यक्तिगत पहिचान मुख्य उद्देश्य देखिन्छ ।
डिजिटल साक्षरताको कमी : सबै प्रयोगकर्ताले सामाजिक सञ्जालको प्रभाव, कानुनी दायित्व र दीर्घकालीन असर बुझ्न सकेको अवस्था छैन ।
यी सबै चुनौतीका बाबजुद पनि सामाजिक सञ्जाल अत्यन्त शक्तिशाली र उपयोगी माध्यम हो नभनिरहन पनि सकिन्न । यदि यसको सही सदुपयोग गरियो भने यसबाट प्राप्त गर्न सकिने धेरै बिषयहरू छन ।
सर्वप्रथम त सामाजिक सञ्जाल ज्ञान आदान–प्रदानको उत्कृष्ट माध्यम हुन सक्छ । शैक्षिक सामग्री, अनुसन्धान, तालिम लगायत विचार–विमर्शमार्फत व्यक्तिगत र सामूहिक बौद्धिक विकास गर्न सकिने दर्विलो माध्यम हो ।
त्यस्तै सामाजिक न्याय, वातावरण संरक्षण, मानव अधिकार, शिक्षा र स्वास्थ्यजस्ता विषयमा सचेतना फैलाउन सामाजिक सञ्जाल प्रभावकारी प्लेटफर्म पनि हो । सही उद्देश्य र तथ्यसहित अघि बढाइएका बिषयहरूले वास्तविक परिवर्तन ल्याउन सक्छ । राजनीतिक व्यक्तित्वले पनि सामाजिक सञ्जाललाई जनतासँग संवाद गर्ने, नीति र दृष्टिकोण स्पष्ट पार्ने तथा उत्तरदायी हुने माध्यमका रूपमा प्रयोग गर्न सक्छन् । जसका कारण लोकतन्त्रलाई थप सुदृढ बनाउँछ ।
त्यतिमात्र नभई डिजिटल मार्केटिङ, व्यक्तिगत ब्रान्डिङ, साना व्यवसाय प्रवद्र्धन र रोजगारीका अवसर सिर्जना गर्न पनि सामाजिक सञ्जाल अत्यन्त उपयोगी छ भन्ने मलाई लाग्दछ ।
त्यसैले सामाजिक सञ्जालको सही सदुपयोगका लागि यसको प्रयोग गर्ने तपाई हामी सबैले आधारभूत जिम्मेवारी हो भन्ने आत्मसात गर्न जरुरी छ ।
आफुले पोष्ट गर्न तयार पारेको सामाग्री पोस्ट गर्नु अघि सत्य तथ्य छ छैन जाँच गर्ने बानी बसालौँ । असहमति छ भनेपनि सभ्य र सम्मानजनक भाषा प्रयोग गरी आफ्ना बिचार राख्न आवश्यक ठानौ । विचार राख्दा समाधानमुखी र रचनात्मक दृष्टिकोण अपनाऔँ । बौद्धिक र सार्वजनिक व्यक्तित्वहरूले आफ्नो प्रभावको गम्भीरता बुझेर अभिव्यक्ति दिनु उपयुक्त हुन्छ होला । सामाजिक सञ्जाललाई भावनाको विस्फोट होइन, विवेकको प्रयोगस्थल बनाउन यहि लेख मार्फत सबैलाई अनुरोध छ ।
अन्त्यमा सामाजिक सञ्जाल न त आफैंमा राम्रो हो, न त नराम्रो । यो त तपाई हाम्रो सोच, उद्देश्य र जिम्मेवारीमा निर्भर गर्ने माध्यम हो । आजको आवश्यकता सामाजिक सञ्जाललाई आरोप, भ्रम र विभाजनको साधन होइन, ज्ञान, संवाद र सकारात्मक परिवर्तनका लागि सन्देश प्रवाह गर्ने माध्यम हो । विशेषगरी बौद्धिक वर्ग, राजनीतिक व्यक्तित्व र सामाजिक अभियन्ताहरूले समाजलाई दिशा दिने जिम्मेवारी बहन गरौ, यदि हामी सबैले सामाजिक सञ्जालको शक्ति बुझेर संयमित, सचेत र मुलुक प्रति जिम्मेवार नागरिक बन्न सक्यौं भने, यही माध्यम समाज परिवर्तनको सबैभन्दा प्रभावकारी औजार बन्न सक्छ । समयले हामीसँग पनि यही माग गरिरहेको छ ।



















