भद्रपुर, बिर्तामोड, सुरुङ्ग, दुधे र दमकमा हुने प्रतियोगितालाई पनि समेटेर एसोसिएसन बनाउन सुझाव राखेका गिरीले कोष कसरी निर्माण गर्न सकिन्छ भन्ने उपाय बताउँदै थपे, ‘प्रत्येक गोल्डकपले दुई/दुई करोड राख्दा खर्च गर्ने स्रोत पनि हुन्छ ।’
रेजिना गौतम
बिर्तामोड फागुन । हरियो मैदान । वरीपरी बाँसका प्यारापिट । प्यारापिटमा अटाई नअटाई दर्शकको भीड । घरेलु मैदानमा खेल हेर्न झुम्मिने फुटबलका पारखीहरुको यो मोह बर्षेनी गहिरिंदै गएको छ । परैबाट हेर्दा आकर्षक मैदानमा खेल खेल्न रहर भएपनि अभ्यास नभएका खेलाडीलाई सहज हुँदैन । मैदानसँग परिचित खेलाडीले जति सहज रुपमा खेल्न सक्छन्, नयाँ खेलाडीलाई अभ्यास आवश्यक पर्छ ।
फुटबल प्रेमीहरु उत्साहित हुँदा त्यसले आयोजक र प्रतियोगिताका प्रतिष्पर्धी खेलाडीहरुमा ऊर्जा नभरिने कुरै भएन । त्यसमाथि घाँसे मैदानमा खेल्ने खेलाडीको रहर अनि खेलेरै जीवनस्तर र पारिवारिक आर्थिक अवस्थामा परिवर्तन ल्याउने उत्कट चाहना । एउटा प्रतियोगिताले त्यहाँ भित्रका धेरै पाटाहरुलाई उजागर गरेको हुन्छ ।
यी सबै दृश्य देखिन्छ– झापाको डोमालाल रंगशालामा । सोमबार सातौं संस्करणको झापा गोल्डकप प्रतियोगिता सम्पन्न भएको छ । यो पटकको गोल्डकपमा विभागीय टिमसहित नेपाल, भारत, भूटान र मलेसियासहित १० वटा टिमले प्रतिष्पर्धामा थिए ।
प्रतियोगिताको सेमि–फाइनलमा खेलाडीको विषय लिएर उत्पन्न विवादका कारण आक्रोशित भिड मैदानभित्रै प्रवेश गर्यो । आयोजकलाई उक्त आक्रोश थेग्न निकै कठिन भयो भने सशस्त्र प्रहरीको विभागीय टिम (एपीएफ) का टिम कोच राजेन्द्र तामाङले प्रि–म्याच कन्फ्रेन्समा माफी नै मागे ।
आयोजक र एन्फाको नियमलाई नै आफूले फलो गरेको दावी गर्दै एपीएफका तामाङले भने, ‘एउटा क्लबमा आवद्ध खेलाडीले अर्को क्लबबाट खेल्दा खेलाडीको रिलिज पेपर अनिवार्य भन्ने एन्फाको नियमलाई आफूले फलो गरेको हो ।’ त्यसो गर्दा केही समस्या हुन गयो त्यसमा माफी पनि माग्न चाहन्छु ।’ आफूले उठाएको कुराबारे स्पष्ट पार्दै उनले भने, ‘झापा–११ का खेलाडीले पाँचवटा क्लबबाट खेलिसकेकोले आफूले नियमानुसार नै रिलिज पेपर माग गर्दा खेल दर्शकमा केही समस्या भयो ।’
आयोजक झापा ११ र एपीएफको प्रतिष्पर्धा एकघण्टा ढिलो गरी सञ्चालन भएको थियो ।
बिग एमाउण्ट
नेपालमा खेल क्षेत्र अझैपनि व्यवसायिक बन्न सकेको छैन । त्यसको असर खेलाडीदेखि क्लब, आयोजक र दर्शकसम्म पुग्ने गरेको छ । रिलिज पेपर पनि अन्ततः आर्थिकमै जोडिएको बताउँदै एपीएफका कोच तामाङले भने, ‘खेलसंग खेलाडीको आर्थिक कुरा जोडिएको हुन्छ, धेरै खेलौं, आर्थिक जम्मा गरौं, परिवारको पनि आर्थिक अवस्था सुधारौं भन्ने उनले थपे, ‘खेलाडी विदेशिनुको कारण पनि त्यही हो ।’
एउटा प्रतियोगिता चलिरहेको बेला अर्को प्रतियोगितामा पनि खेल्नुपर्ने आर्थिक कारण पनि बाध्यता रहेको बताउँदै भने, ‘बिग एमाउण्ट दिन सकिरहेको अवस्था छैन, बिग एमाउण्ट दिन सकेको भए खेलाडी पनि अन्यत्र जाने थिएन्न की ?’
विश्वस्तरको मैदान
डोमालाल रंगशाला विश्वस्तरको मैदान रहेको बताउँदै सशस्त्र प्रहरीको (एपीएफ) का कोच तामाङले भने, ‘वल्र्ड क्लासको मैदानमा खेलाडीले पनि खेल्न त मन गर्छन्, काठमाडौंमा खेल्दा पनि यस्तो मैदान पाइदैन’ उनले थपे, ‘इभन एपिएफले तालिम गर्न पनि यस्तो मैदान पाएको छैन ।’
खेल जुध्दा दवाब/बाध्यता
एकै पटक धेरैतिर खेल खेल्नुपर्ने बाध्यता रहेको झापा गोल्डकप सातौं संस्करणमा फाइनलमा पुगेको मछिन्द्र क्लबका कोच प्रवेश कट्वालले बताए ।
आयोजकले उत्कृष्ठ टिम ल्याएर खेलाउने चाहना, क्लबले खेलाउनु पर्ने जिम्मेवारीसंगै खेलाडीले खेल्नै पर्ने बाध्यतामा खेलाडी रहेको बताउँदै कट्वालले भने, ‘आयोजकले समय मिलाएर प्रतियोगिता आयोजना गरे यस्तो समस्या समाधान गएर जान्छ ।’ नेपालमा उत्कृष्ठ खेल खेल्ने विभागीय टिम र ३÷४ वटा क्लब भएको र आयोजकले पनि त्यही क्लबलाई ल्याउन चाहनाले पनि खेलाडी व्यवस्थापनमा समस्या रहेको उनको भनाई छ ।
अरु प्रतियोगितासंग सरोकार हु“दैन
आयोजकलाई अरु प्रतियोगितासंग खासै चासो नहुने आयोजक भगिरथ आले मामाले बताए । उनले भने, ‘एन्फासंग अनुमति लिएपछि व्यवस्थापकीय पक्षलाई मजबुत बनाएर राम्रो संग खेल खेल्ने वातावरण बनाउने जिम्मेवारी आयोजकको भएको बताउँदै ‘अनुमति दिने एन्फाको हो भने ‘खेलाडी व्यवस्थापन सहभागी गराउने क्लबको हो ।’
एउटै खेलाडीले क्लव परिवर्तन गरेर बेग्लाबेग्लै म्याचमा एकै समयमा दुई÷तीनवटा खेल खेल्दा एकातिर खेलाडीलाई गारो हुनुका साथै प्रतिष्पर्धा पनि राम्रो नहुने आयोजकसहित अन्यको बुझाई छ ।
प्यारापिट निर्माण सरकारको
२०७० सालदेखि गोल्डकप हुँदै आएको रंगशालामा खेल हेर्ने दर्शकका लागि अझै पनि प्यारापिट बन्न सकेको छैन । प्रत्येक वर्ष आयोजकले प्यारापिटको प्रश्न सामना गर्दै आएका छन् ।
सातौं संस्करणमा पनि दोहोरिएको प्यारापिटको विषयमा बरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले भने, ‘प्यारापिट बनाउने काम सरकारको हो हाम्रो होइन, हाम्रो जिम्मेवारी गोल्डकप गराउने हो, उनले थपे, ‘यो जमिन पनि गोल्डकपको नाममा छैन, रंगशाला सरकारका नाममा छ, प्यारापिट बनाउने जिम्मेवारी पनि सरकारकै हो ।
दीगो कोष निर्माणमा जोडः
गोल्डकपका पूर्व अध्यक्ष महेन्द्रकुमार गिरीले सार्कस्तरिय गोल्डकप गराउने आधार तयार गर्न प्रस्ताव गरे ।
झापाका पाँच ठाउँमा सञ्चालन गरिने पाँचवटा गोल्डकपलाई समेटेर एसोसिएसन बनाउन र दीगो कोष बनाउने कार्यमा भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाललाई नेतृत्व गर्न प्रस्ताव गरेका गिरीले भने, ‘ तीन देशको सहभागितामा छ, सिमानामा मात्रै सिमित नराखौं, प्रत्येक वर्ष केही न केही नयाँ गरिरहेका छौं, सार्कस्तरिय गोल्ड गराऊ इतिहास हुन्छ ।’
भद्रपुर, बिर्तामोड, सुरुङ्ग, दुधे र दमकमा हुने प्रतियोगितालाई पनि समेटेर एसोसिएसन बनाउन सुझाव राखेका गिरीले कोष कसरी निर्माण गर्न सकिन्छ भन्ने उपाय बताउँदै थपे, ‘प्रत्येक गोल्डकपले दुई/दुई करोड राख्दा खर्च गर्ने स्रोत पनि हुन्छ ।’
स्थायी संरचना नहुँदा गोल्डकप गराए नै पिच्छे प्यारापिट निर्माणमा ठूलो धनराशी खर्च हुने गरेको छ, अस्थायी रुपमा बनाइएका बाँसका प्यारापिटमा बसेर खेल हेर्न दर्शकहरु बाध्य छन् भने गोल्डकपको आफ्नै स्रोत नहुँदा हरेक प्रतियोगितामा सहयोग जुटाउनै पर्र्ने बाध्यता छ ।
तसर्थ एउटा निश्चित कोष बनाउनुका साथै स्थायी प्यारापिट निर्माण गर्ने हो भने दर्शकबाट टिकट वापत प्राप्त रकमले पनि व्यवस्थापकीय खर्च धान्ने सक्ने वातावरण बन्दै गएको छ ।



















