नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै जाँदा केन्द्रीय सदस्यमा आकांक्षीहरुको उम्मेद्वारी घोषणा निरन्तर छ । पार्टीको संस्थापन पक्ष र संस्थापन इतर पक्ष आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रने तयारी भइरहेका बेला झापाका महिला नेतृहरुले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् ।
पारिवारिक राजनीतिक पृष्ठभूमि नै प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेससँग जोडिएका दुई नेतृहरु नेपाल महिला संघ झापाकी अध्यक्ष सुशिला ढकाल र नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री उमा शिवाकोटीले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन् । दुवै नेतृहरु विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनीहरु लगभग साढे तीनदशकयता मुलुकको राजनीतिक यात्रामा सक्रिय छन् ।
२०३६ सालमा विश्वप्रेमी विद्योदय विद्यालय भोजपुरबाट ने.वि.संघमा प्रवेश गरी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भइन् उनी । त्यसबेला बहुदल र निर्दलीय ब्यवस्थाका लागि जनमतसंग्रहको माहौल थियो । त्यहीबेलादेखि उनी बहुदलका पक्षमा आफ्ना विचारहरु राख्दै हिड्थिन् ।
भोजपुरबाट झापाको भद्रपुरमा बसाई सरेर आएसँगै झापाली राजनीतिमा २०४२/०४३ सालबाट प्रवेश गरिन् उनी । मेची क्याम्पसमा अध्ययन गर्दै गर्दा ने.वि.संघ इकाई समितिको सदस्य बनेर सुशिला ढकालले राजनीतिमा औपचारिक प्रवेश गरिन् । पिता लक्ष्मणप्रसाद ढकाल र काका खगेन्द्रप्रसाद ढकाल (पूर्व सांसद) को प्रभावबाट सानै उमेरदेखि राजनीतिक चेत भरिएकी ढकाल राजनीतिमार्फत नै सामाजिक रुपान्तरणमा सक्रिय भएर लागिन् ।
‘महिलालाई राजनीतिमा हिड्न त्यसबेला त्यति सहज थिएन’–उनले भनिन्–‘तर म मा बुवा र काकाको गहिरो राजनीतिक प्रभाव थियो, सानैदेखि अग्रभागमा रहेर महिलाहरुलाई आन्दोलनमा हिड्न अभिप्रेरित गर्थे । सामाजिक कुरीतिका विरुद्ध बोल्थें ।’
२०४६–०४७ सालको जनआन्दोलनमा युवा विद्यार्थी फाँटबाट अग्रणी भूमिका निर्वाह गरेकी ढकाल नेपाल तरुण दल झापाको संस्थापक सदस्य, नेपाल महिला संघ झापाको संस्थापक सदस्य, सहसचिव, सचिव हुँदै तीन कार्यकालसम्म झापा अध्यक्षको जिम्मेवारीमा छन् । ०४७–०४८ मा ने.वि.संघको छात्रा सम्मेलनबाट उनी मेची संयोजकमा चुनिइन् । उक्त जिम्मेवारी कुशलतापूर्वक संहालेपछि उनी विद्यार्थी राजनीतिबाट तरुण र महिला फाँटतर्फ प्रवेश गरिन् ।
नेपाल महिला संघको नेतृत्व सँगसँगै पार्टीको मूल प्रवाहको राजनीतिमा समेत सक्रिय ढकाल नेपाली कांग्रेसको ११ औं, १२ औं, १३ औं र १४ औं महाधिवेशनका लागि झापाबाट महाधिवेशन प्रतिनिधि हुन् । राजनीतिमा सक्रिय महिलाहरुको छाता संस्था अन्तरपार्टी महिला संजाल (जहाँ सबै दलका महिलाहरु संगठित थिए)–को अध्यक्ष रहँदा विर्तामोडमा संस्थाको भवन निर्माण गर्न समेत गर्न सफल भइन् उनी । अग्रज नेतृत्व, आफ्ना समकालीन साथी तथा राजनीतिमा प्रवेश गर्दै गरेका बालबालिकालाई समेत समान अवसर दिएर नेतृत्वमा ल्याउनुपर्छ भन्ने धारणा बोक्ने उनी झापालीहरुका माझ लोकप्रिय नेतृ मानिन्छिन् । महिलाहरुको आर्थिक रुपान्तरणबाट महिला मुक्ति सम्भव देख्ने उनी महिलाको शसक्तिकरण र आर्थिक रुपान्तरणका मुद्धालाई पनि महत्वका साथ उठाउँछिन् ।
नेपाल महिला संघको आमन्त्रित केन्द्रीय सदस्य रहेकी ढकाल २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रिय रुपमा सहभागी भइन् । सो क्रममा उनी पटक–पटक पक्राउ परिन् र प्रहरी हिरासतमा कठोर यातना सहन बाध्य हुनुपरेको थियो । समग्र महिलाहरुको नेतृत्व गर्दै महिलालाई आन्दोलनमा सहभागी गराउने उनको ब्यक्तित्व सामाजिक एवं राजनीतिक रुपमा अग्रणी छ । १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएकी ढकालले आफ्नो पक्षमा अत्यधिक मत दिएर विजयी गराउन पनि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई अपिल गर्नुभएको छ ।
झापाका सुशिला ढकाल र उमा सिवाकोटीलाई अत्याधिक मतले कन्द्रीय सदस्यमा बिजयी गराऔं