कृष्णनील कार्की
असमको उदालगुडी जिल्लाको ’गोर्खा भवन’ सभागारमा गत १५–१६ नोभेम्बर २०२५, मा दुईदिने कार्यसूचीसहित इन्द्रेनी प्रकाशन, असमको अगुवाइमा ‘तारापति उपाध्याय स्मृति इन्द्रेनी राष्ट्रिय कविता समारोह’ सम्पन्न भयो । छवटा सत्रमा विभाजित समारोहको पहिलो सत्र ’ उद्घाटन सत्र’ का रूपमा रहेको थियो। १५ नोभेम्बर बिहान १०.२० बजे दार्जिलिङकी प्रख्यात गायिका सुनु राईको भक्तिमूलक गीतबाट पहिलो सत्र सुरु भयो। धेरैवटा दूरदर्शन केन्द्रमा गीत परिवेशन गरिसकेको सुनु राईले धेरैवटा पुरस्कार पनि प्राप्त गरिसकेकी छन् । दार्जिलिङ आइडलकी निर्णायक मण्डलीकी सदस्य राई ’नाइटिङ्गल अफ दार्जिलिङ’ नामले परिचित छन् । सुनुको गीतपछि अध्यक्ष मण्डलको आसन ग्रहणको क्रममा सिक्किम साहित्य परिषद्का पूर्व सभापति रुद्र पौडेल (-Retired Principal Director, H. R. D.D, Skkim, प्रकाशित कृतिहरूमा–कथाकल्प–कथा, हराएको मान्छे–कथा कृति, टिस्टा बगिरहेछ– उपन्यास, भत्किएको घर–उपन्यास, स्मृतिका मूच्र्छना लगायत केही अनुवाद कृति प्रकाशित । भानु पुरस्कार, शिवकुमार राई आदि पुरस्कारले सम्मानित।), वरिष्ठ साहित्यकार ज्ञानबहादुर छेत्री, वैद्यनाथ उपाध्याय, वसुन्धरा शर्मा, डा. भक्तप्रसाद गौतम, असम गोर्खा सम्मेलन, उदालगुडी जिल्ला समितिका सभापति पवन शर्मा आदि व्यक्तित्वहरूको आसनमा आसिन भए । भाषासङ्ग्रामी तारापति उपाध्यायको प्रतिकृतिमा अगोस, उदालगुडी जिल्ला समितिका सभापति पवन शर्मा, जनशिल्पी जुबिन गार्गको प्रतिकृतिमा साहित्यकार डा. गौतम माल्यार्पण गर्छन् भने इन्द्रेनी प्रकाशन, असमका बोर्ड सदस्य चन्दन छेत्री (जसको कम्ती उमेरमै मृत्यु भएको थियो) को प्रतिकृतिमा माल्यार्पण गर्छिन् सर्जक इन्दिरा खडकाले । माल्यार्पणपछि माल्यार्पकहरूले दिवङ्गत व्यक्तित्वहरूको स्मरणमा छोटो वक्तव्य राखे । स्वागत कारिणी समितिका सभापति पुष्पधर शर्माले देशका विभिन्न भागबाट कार्यक्रममा सहभागीलाई स्वागत गर्दै लिखित भाषण पाठ गरे । साहित्यिक कार्यक्रमका माध्यमबाट मातृभाषाको यात्रालाई उज्यालोतर्फ धकेल्नुपर्ने प्रेरणात्मक मन्तव्य राखे । छोटो अवधिमा इन्द्रेनी प्रकाशनले असममा एक साहित्य जागरण ल्याउन सफल भएको छ ।
स्वागत मन्तव्य राख्दै कार्यकारिणी सभापतिले युवाहरूलाई अघि बढाएको, समालोचना साहित्यलाई नयाँ मात्रा प्रदान गरेको , धेरै साहित्यिक कार्यक्रम सञ्चालन गरेको तथा नयाँ नयाँ विषयहरूमा चर्चा गर्ने गरेको जानकारी दिएका थिए । वरिष्ठ कवि मोहन सुवेदीले रचना गरेका इन्द्रेनी स्वागत गीत पनि यसै सत्रमा सार्वजनीनकरण भएको हो। हरिसिङा उच्चत्तर माध्यमिक विद्यालयका पूर्व अध्यक्ष लोकबहादुर छेत्री र विशिष्ठ गायक कृष्ण मिजारको बाहुलीबाट यस स्वागत गीतलाई सार्वजनीकिकरण गरिएको हो। कण्ठशिल्पीहरू कृष्ण मिजार, मनु बराल, रोजी देवी र सेमन्ती देवीले यस गीतमा स्वर दिएका छन् । समारोहको उद्घाटन नेपाली साहित्य परिषद्का पूर्व मूल सचिव बद्री गुरागाइँले गरेका थिए भने यसै सत्रमा चर्चित साहित्यकार रुद्र बरालको व्यङ्ग्य कृति’आरिसमानेको उखरमाउलो’ र कवि, अनुवादक पूजा आचार्यको अनुवाद कृति ’बकुल फुलसरी’ (मूलः मृणाल कलिता, असमिया उपन्यास) लोकार्पण भएको हो । लोकार्पित दुवै पुस्तकको परिचय इन्द्रेनी प्रकाशन, असमका बोर्ड सदस्य तथा व्यङ्ग्यकार अर्जुन निरौलाले गरेका थिए । सभापति मण्डलबाट वरिष्ठ साहित्यकार रुद्र पौडेलले छोटो तर गहन अध्यक्षीय वक्तव्य राखेका थिए । इन्द्रेनी प्रकाशन, असमका बोर्ड अफ डाइरेक्टर्सका सदस्य रुद्र बरालद्वारा सञ्चालन गरेका थिए ।
दोस्रो सत्रमा’हरिप्रसाद गोर्खा राई’ का नाममा उत्सर्गित यस सत्रको सञ्चालन इन्द्रेनी प्रकाशन, असमका बोर्ड अफ डाइरेक्टर्सका सदस्य कृष्णनील कार्कीले गरेका थिए । अध्यक्ष मण्डलका रूपमा दार्जिलिङकी विशिष्ट कवि सुभद्रा बमजान, ’हाम्रो प्रजाशक्ति’ दैनिक खबर कागजका सम्पादक अञ्जन उपाध्याय, पत्रकार, सांस्कृतिककर्मी शान्ता सिर्पाली, बिटिआर गोर्खा समाजका महासचिव दीपक निरौला, विशिष्ठ साहित्यकार रेवतीरमण सापकोटा, कवि मोहन सुवेदी, कथाकार कुञ्ज देवी उपाध्याय लगायतको उपस्थिति रहेको थियो । यस सत्रमा लगभग ४० जना कविहरूले कविता वाचन गरेका थिए । सुभद्रा बमजान, गीताश्री शर्मा (मुक्तक, कथा, कविता आदि विधाका पुस्तकहरू प्रकाशित : मुक्ता– मुक्तक सङ्ग्रह, तिलस्मी–रम्बास कविता,समयका रेखाहरू–कथाकृति, नवीन मुना–दोहोरी मुक्तक कृति, वर्षा– कविता कृति साथै केही पुस्तकहरू सम्पादन गरेको पाइन्छ । जस्तैः– काव्याञ्जलि, अमृतवाणी साथै प्राथमिक तहदेखिका स्कुलका पाठ्यपुस्तकहरूको सम्पादन एवम् प्रकाशन गरिसकेकी छन्।), हिरण्य पौडेल, सुमित्रा थामी’ अविरल’ (वरिष्ठ साहित्यकार तथा दार्जिलिङ नेपाली साहित्य सम्मेलनकी कार्यकारिणी सदस्या । नन्दी तिवारी स्मृति पुरस्कार प्राप्त।)डा. गौतम, परशु छेत्री, कृष्णबहादुर राउत’ नानी’, जगदीश खनाल, लक्ष्मण प्रधान, दीपक चामलिङ राई (वरिष्ठ कवि, गीतकार र सङ्गीतकारका धेरै गीतहरू रेकडिङ भएका छन् । गीत संग्रह ’मञ्जरी’ प्रकाशित), शिष प्रियदर्शी राई (वरिष्ठ कवि, शिक्षक तथा गायक र भिडियो एल्वम निर्माता), खेमराज छेत्री, लक्ष्मी सुवेदी, सुरज गजुरेल, रञ्जन दाहाल, भारती भण्डारी, सन्तोष सुवेदी, माधव खनाल, डा. पुरुषोत्तम भण्डारी, प्रेम छेत्री, डा. हरिमोहन पोखरेल, राजु न्यौपाने, डा. लखी बराल, पद्मा देवी उपाध्याय ’सृष्टि’, आदि कविहरूले कविता वाचन गरेका थिए । कविता वाचनपश्चात् कुञ्जदेवी उपाध्यायको कथा कृति ’ चिठीभित्रको पीडा’ लोकार्पण गरिएको थियो। यस कृतिको छोटो परिचय इन्द्रेनी प्रकाशन, असमका बोर्ड अफ डाइरेक्टर्सका सदस्य रुद्र बरालले राखेका थिए । वरिष्ठ कवि, समालोचक मोहन सुवेदीले ’समकालीन कविता ः स्वरूप र नयाँ दृष्टि’विषयमाथि गहन वक्तव्य राखेका थिए । विश्वका विभिन्न भाषामा लेखिँदै गरेका कविताहरू कसरी अगाडि बढिरहेका छन्? वर्तमान कविताको स्वरूप के हो? दृष्टि वा दिशा के हो ? जस्ता जिज्ञासाको जवाफ समेत दिएको थियो।
तेस्रो सत्रमा प्रेमसिंह सुवेदी सत्र’ को सञ्चालनको दायित्वमा इन्द्रेनी प्रकाशन, असमका बोर्ड सदस्य अमित अधिकारी रहेका थिए। यस सत्रमा अध्यक्ष मण्डलका रूपमा वरिष्ठ गजलकार गोविन्द शाण्डिल्य,सामाजिक कार्यकर्ता तिलक रिजाल,कवि, कथाकार पुरुषोत्तम उपाध्याय दाहाल, कालेबुङका विशिष्ट गजलकार सुवास श्रेष्ठ, इन्द्रेनी प्रकाशन असमका बोर्ड अफ डाइरेक्टर्सको सदस्य नैना अधिकारी, चर्चित गजलकार तथा इन्द्रेनी प्रकाशन, असमका बोर्ड सदस्य रामप्रसाद दाहाल आदिको उपस्थिति रहेको थियो। विमर्शकार सुवास श्रेष्ठले ’भारतीय नेपाली गजल लेखन यात्राः विकास र सीमा’ विषयमा गहन वक्तव्य राखेका थिए ।
भारतीय नेपाली गजलको विकास यात्रा, गजल लेखनको सीमा र नयाँपन, गजलको कलात्मकता र प्रभावबारे साथै इन्द्रेनी प्रकाशनले आयोजन गरेको गजल कार्यक्रम पनि गजलको सीमा विस्तार र विकास यात्राको सजीव उदाहरण भएको धारणा राखे थियो । वक्तव्यपछि रामप्रसाद दाहालको सम्पादनमा प्रस्तुत गजल सङ्कलन ’ इन्द्रेनीमा गजल’ लोकार्पण भएको थियो । यस पुस्तकको परिचय कृष्णनील कार्कीले राखेका थिए । पुस्तक परिचयपछि गजलको महफिल सजिएको थियो। जसमा– सुवास श्रेष्ठ, रामप्रसाद दाहाल, अर्जुन कार्की, जीविका अश्रु, अरूण साम्पाङ, प्रदीप शर्मा, पुरुषोत्तम उपाध्याय दाहाल, प्रितम कौडिन्य, छविलाल निरौला, दुलुमणि उपाध्याय, अमित अधिकारी, वसन्ती देवी पौडेल, गिरिधारी उपाध्याय, सुरज खनाल, भोला अधिकारी, निमा मुक्तान ’निष्कर्ष’, प्रकाश बुढाथोकी, जमुना दाहाल, मीना पौडेल, पद्मावती देवी ढुङ्गाना आदि गजलकारहरूले गजल वाचन गरेका थिए। सभापति मण्डलबाट गजलकार गोविन्द शाण्डिल्यले गरेका थिए ।
चौथो सत्रको सञ्चालन आयोजक संस्थाकी बोर्ड सदस्य निलीमा आचार्यले गरेकी थिइन् । ’सम्मान प्रदान तथा पुस्तक आदानप्रदान सत्र’को सभापति मण्डलमा डिभाइन थियो । लॉजिकल ओपन युनिवर्सिटीका कुलपति डा. मनोजकुमार राई,सिक्किमका विशिष्ट साहित्यकार टीका ढुङ्गेल रटन (३३ वटा कृतिका सर्जक। प्रदीपिका, पूर्वाधार, तीन थुम्का आदि साहित्यिक पत्रिकाहरूको सम्पादन।), माधव खनाल, विशिष्ट साहित्यकार परशु छेत्री आदि व्यक्तिको उपस्थिति रहेको थियो। यस सत्रमा डा.मनोजकुमार राईको वक्तव्यपछि नै सङ्गीतमा उल्लेखनीय योगदानका लागि उदालगुडीका लक्ष्मण छेत्री, कविता वाचनमा सानै उमेरमै उल्लेखनीय सफलताका लागि भोलाझार, तामुलपुरका ऋषिकेश सिटौला र जागुनका परिवेश संरक्षक लीला गौतमलाई इन्द्रेनी प्रकाशन, असमतर्फबाट सम्मानित गरिएको थियो । उक्त सत्रमा वरिष्ठ साहित्यकार विद्यापति दाहाल, विश्व शान्ति मन्दिरका सभापति कालीचरण शर्मालाई पनि इन्द्रेनीतर्फबाट सम्मानित गरिएको थियो। माधव खनालको समालोचना पुस्तक ’ समीक्षा शिखर’ ,टीका ढुङ्गेल रटनको ’टीकाका टिपनटापन’ (विविध लेख सङ्ग्रह) र ’ प्रदीपिका’ (मासिक पत्रिका) सम्पादकः टीका ढुङ्गेल ’रटन’ आदि पुस्तक पनि यसै सत्रमा लोर्कापण भएको थियो ।
१६ नोभेम्बरमा ‘बमबहादुर भण्डारी’ का नाममा उत्सर्गित ’बमबहादुर भण्डारी सत्र’ को थालनीमा ब्रिटिसी क्षेत्रीय समिति, अगोसका सभापति पिताम्बर पाठकले द्वीप प्रज्ज्वलन गरेका थिए । सभापतिमण्डलको आसन ग्रहणक्रममा सिक्किम विश्वविद्यालय, नेपाली विभागका अध्यापक डा. देवचन्द्र सुब्बा (विशेष क्षेत्र : परिवेश विमर्श, साहित्य सिद्धान्त र समालोचना, भाषा व्याकरण । तिनवटा कृति प्रकाशित।), पर्या साहित्यकार डा. देवेन सापकोटा, जनपक्ष प्रकाशन, सिक्किमका प्रकाशक, सर्जक पुण्य शर्मा, बिटिआर क्षेत्रीय समिति, असम नेपाली साहित्य सभाका सभापति भीष्म ढकाल,दार्जिलिङका विशिष्ट समालोचक प्रा.कबीर बस्नेत, शिक्षक, अभिनेता नारायण भण्डारी, विशिष्ट नाटककार पृथ्वीविलास भट्टराई, बिटिसी क्षेत्रीय समिति, अगोसका मूल सचिव भुवन धमाला र इन्द्रेनी प्रकाशन, असमकी बोर्ड सदस्य पूजा उपाध्यायको उपस्थिति रहेको थियो । यस सत्रमा डा. देवचन्द्र सुब्बाले’ लोकसाहित्य अनि इकोक्रिटिसिज्मको समीकरण’ विषयमा वक्तव्य राखेका थिए । साहित्य वा परिवेश काव्य सिर्जना गर्ने साहित्यकार र कविलाई लोकको परिवेशको भौतिक र आध्यात्मिक ज्ञानको आवश्यकता औल्याउनु भएको थियो । लोकको ज्ञान र त्यसको अपरिहार्यतालाई कवितामा राखी प्रकृतिको सामिप्यमा पुग्नु कविहरूको पहिलो कर्तव्य रहेको ठहर गर्दै नेपाली लोकसंस्कृति, लोकपरिवेशको आध्यात्मिक अध्ययन गरी प्रकृतिको सामिप्यमा पुगिन्छ भने त्यहाँबाट नेपाली परिवेश कविताको नयाँ प्रकाश प्रकट हुने सम्भावना देखिन्छ भन्ने अभिमत डा.देवचन्द्र सुब्बा सरको वक्तव्यमा रहेको थियो । यस सत्रमा केही कविहरूले पर्या कविता वाचन गर्छन् । पर्या कविता वाचन गर्ने कविहरूमध्ये कुञ्ज देवी उपाध्याय, नारायण शर्मा अधिकारी, निलीमा आचार्य, डा. देवेन सापकोटा, मनिषा दाहाल, टङ्क सिटौला, पद्मादेवी, इन्दिरा छेत्री, तीर्थराज फुँयल, सुरज गजुरेल, भीष्म अधिकारी, नारदप्रसाद उपाध्याय, महिम आचार्य, रेवतीरमण सापकोटा, मिनती देवी आदि रहेका थिए । यसै सत्रमा ५ वटा पुस्तक विमोचन भएका थिए । रुद्र बराल र कृष्णनील कार्की सम्पादित ’इन्द्रेनी राष्ट्रिय कविता विशेषाङ्क’, फागुन ! तुमि उभति आहिबा’(मूल–देविका मङ्ग्रान्ती राई, नेपाली कविता– फागुन, तिमी फर्की आउनू’ को असमिया अनुवाद)अनुवादक : वीरबहादुर थापा, गजल विमर्श (समालोचना)–रामप्रसाद दाहाल, गोरेटाको पथिक (नियात्रा)–वासन्ती देवी पौडेल,स्मरणीय व्यक्तित्व (सम्पादन) –ढाकाराम काफ्ले । पुस्तक परिचयको क्रममा राम उपाध्यायले ’इन्द्रेनी राष्ट्रिय कविता विशेषाङ्क’, कृष्णनील कार्कीले’ फागुन ! तुमि उभति आहिबा’, निलीमा आचार्यले ‘गजल विमर्श’, अर्जुन निरौलाले’ गोराटाको पथिक’ र नैना अधिकारीले ’स्मरणीय व्यक्तित्व’ पुस्तकको परिचय राखेका थिए ।
अन्तिम सत्र’ कर्णबहादुर छेत्री’ का नाममा उत्सर्गित थियो । ‘कर्णबहादुर छेत्री सत्र’ का सभापतिमण्डलमा खरसाङ महाविद्यालय, स्नातकोत्तर नेपाली विभाग, एसोसियट प्रोफेसर डा. योगेश खाती (समालोचक । ८ भारतीय साहित्यका निर्माता–तुलसी बहादुर ’अपतन’,मनोग्राफ, ८अध्ययन आवर्तन, समालोचना– ८ को ? अनुवाद नाटक आदि कृति प्रकाशित । केही पुस्तकहरू सम्पादन पनि गरेका छन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय सङ्गोष्ठीहरूमा सहभागी उनले नेपाली/अङ्ग्रेजी भाषामा अध्ययनका कार्यपत्रहरू प्रस्तुत पनि प्रकाश गरिसकेका छन्।),विशिष्ट कवि, नाटककार धर्मेन्द्र उपाध्याय, अगोस, उदालगुडी जिल्ला समितिका पूर्व सभापति डा.रमेश दाहाल, अनेसास, बिटिआर क्षेत्रीय समितिका सहसचिव तुलसी गौतम, बिटिआर, आग्सु सचिव चन्द्रिका शर्मा, अधिवक्ता, सर्जक तृष्णा देवी, सामाजिक कार्यकर्ता कृष्णा देवी, अनेसास, बिटिआर क्षेत्रीय समितिका पूर्व सभापति गायत्री भट्टराई आदिको उपस्थिति रहेको थियो। दार्जिलिङकी विशिष्ट कवि पवित्रा लामाको’ कविता कन्सर्ट’ बाट सुरु भएको यसै सत्रमा सनु राईले जुबिन गर्गको चर्चित गीत’ मायाबिनी राति…. ’ गाएर सबैलाई मन्त्रमुग्ध पारेकी थिइन् । कविता र गीतपछि डा.योगेश खातीले’ कविता–लेखनका शिल्प र समाजको नैतिक संरचनाः कविको रूपान्तरणकारी शक्ति’ विषयमाथि गहन वक्तव्य राखेका थिए ।
यस वक्तव्यमा कविता लेखन कलाको शिल्पगत पक्ष, यसको सौन्दर्य शास्त्र र समाजमा परिवर्तन ल्याउने कविको रूपान्तरणकारी भूमिकाको विश्लेषण गरिएको थियो । बिम्ब, प्रतीक, व्यञ्जना, लय, छन्द र संरचनाको माध्यमबाट कविता पाठकको चेतनामा कसरी गहिरो प्रभाव पार्दछ भन्ने विषय पनि वक्तव्यमा रहेको थियो । डा. योगेश खातीको वक्तव्यपछि कविता वाचनको क्रममा पुष्पधर शर्मा, डा.टेकनारायण उपाध्याय, नैना अधिकारी, पूजा आचार्य, तृष्णा देवी, राम उपाध्याय, हेम वशिष्ठ, रश्मीरेखा देवी, रश्मी घिमिरे, दीपिका पराजुली, सञ्जीव गुरुङ, दीपक निरौला, श्रीप्रसाद शर्मा, भार्गव शर्मा, डा. देवचन्द्र उपाध्याय, डा. अरुणा कुमारी उपाध्याय, दिपीका पराजुली, झर्ना दाहाल, पद्मावती देवी ढुङ्गाना, दीपक निरौला, नारायण थापा, केशव उप्रेती आदि कविहरूले कविता वाचन गर्छन् । यसै सत्रमा विशेष सहयोगका लागि कृष्णा देवी र नारायण भण्डारीलाई इन्द्रेनी प्रकाशन, असमतर्फबाट सम्मानित गरिएको थियो । अन्त्यमा स्वागत कारिणी समितिका सचिव सहदेव गौतमले उपस्थित सर्जक, श्रोता सबैलाई धन्यवाद दिँदै इन्द्रेनीको कार्यशैलीलाई प्रशंसा गरेका थिए ।
लगभग १५० जना कविहरूको कविता वाचन, कविता र गजल विधामाथि विशेषज्ञहरूको गहन व्यक्तव्य, दुईदिनमा ६ वटा सत्र र १२ वटा पुस्तक विमोचन, गीत र कविता वाचन, गीत सार्वजनीकिकरणमा सहयोग गर्नेेलाई सम्मान गरिएको थियो । सो अवसरमा इन्द्रेनी प्रकाशनार्थ कविता आवह््वान गरिएको थियो । इन्द्रेनी प्रकाशन, असमले राज्यतह र राष्ट्रिय तहका केही कार्यक्रमहरू गरिसकेको छ भने अब अन्तर्राष्ट्रियतहमा पनि कार्यक्रम गर्दै सिर्जना र सर्जकको एउटा दर्बिलो आधार निर्माणको तयारीमा छ । कर्ममा विश्वास गर्ने इन्द्रेनीले सिर्जना र प्रकाशनलाई प्राथमिकता दिने निश्चित छ ।
प्रस्तोता
असम, भारत
































































































