गौरीगञ्ज ६ भदौ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले राजनीतिक परिवर्तनका लागि गरिएका आन्दोलन सफल भइसकेको बताउँदै अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आह्वान गरे।
नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिको सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति थेवेले पार्टी र जनप्रतिनिधिबीच समन्वय गरेर स्थानीय आवश्यकता अनुसार प्राथमिकताका आधारमा योजना छनौट गर्न र विकास निर्माण एवं जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने खालका कार्यक्रम सञ्चालन गर्न आह्वान गरेका हुन् ।
गाउँ सभापति अघनुप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य मखना महतो, महाधिवेशन प्रतिनिधिहरु कात्तिकलाल राजवंशी, रोहितकुमार शाह, अनिलकृष्ण प्रसाई, ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा सहभागीहरुले पार्टी कार्यकर्तालाई योगदान र सक्रियताको आधारमा अवसर प्रदान गरिनुपर्ने, पार्टीभित्रको गुटउपगुट समाप्त हुनुपर्ने, पार्टी संगठनलाई सक्रिय बनाउन योजनाबद्ध तरिकाले प्रशिक्षण सञ्चालन गरिनुपर्ने लगायतका धारणा राखेका थिए ।
गाउँ समितिका सहसचिव राजेन्द्र ताजपुरियाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव गोपाल ताजपुरियाले गरेका थिए।
तहगत सम्मेलनलाई निरन्तरता दिइरहेको नेपाली कांग्रेसले बुधबार गौरीगन्ज र दमक नगर समितिको सम्मेलन सम्पन्न गरेको हो ।
यसैबीच नेपाली काङ्ग्रेस दमक नगर समितिको सम्मेलन नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
नगर सभापति प्रकाश प्रसाइले समितिको सांगठनिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथी थेबे, कोशी प्रदेश समिती सदस्य भुमिराज राई, चन्द्राकुमारी खड्का, जिल्ला प्रतिनिधि देबिप्रसाद दाहाल, महाधिवेशन प्रतिनिधि सुरेश सुब्बा र मन्धरा पौडेल, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेशसभा ख का सभापति रबि के सी न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
सभापति प्रसाइको सभापतित्वमा सप्पन्न कार्यक्रमको संचालन सचिब रामचन्द्र अधिकारीले गरेका थिए ।
जीवनस्तर परिवर्तनका काम गर्न थेवेको आह्वान

































































































