बुधबारे । इलामको फेदी झापाको शिर सुनमाई सुख्खा ठाउँ हो । पूर्वतर्फ सिद्धिखोला बगेपनि सुनमाईबासीले खोलाको पानी हेरेर चित्त बुझाउँदै पिउने पानीको अभाव खेपिरहेका थिए । विर्तामोडको बसाई भएपनि आफ्नो केही जमिन भएका मिनप्रकाश मैनालीलाई पनि सुनमाईबासीको पीडाले चिमोटिरहेको थियो । निकै लामो समयदेखि सुनमाईमा पानीको अभाव महशुस गरिरहेका थिए । स्थानीयले खेप्नु परेको पानीको समस्या व्यवस्थापनका लागि उनी श्रोतको खोजी गर्न थाले । पानीको स्रोत खोजी गर्ने क्रममा उनी इलामको रोङ गाउँपालिकामा अवस्थित प्युरेको जंगलमा पुगे । जहाँ प्राकृतिक सम्पदाका रुपमा जंगलका बीचमा रहेको पानी त्यतिकै खेर गइरहेको थियो । अभावले आवश्यकताको खोजी गर्छ र समस्याको समाधान निस्कन्छ भन्ने कुराको वास्तविक उपज हो सुनमाई वाटर प्रा.लि. ।
स्रोत खोज्ने क्रममा उनी यस्तो ठाउँमा पुगे जहाँ औषधीजन्य जडीबुटी सिञ्चित झरनाको पानी त्यत्तिकै खेर गइरहेको थियो । पानीको स्रोत भेटेसंगै मैनालीमा नयाँ उत्साह जाग्यो – झरनाको पानी तराईबासीसम्म पुर्याउने । प्युरेमा पानीको स्रोत पत्ता लागेसंगै उनी उक्त पानी बोकेर ल्याव टेष्टका लागि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय (हाल प्रदेश) विराटनगर पुगे । ल्याव टेष्टबाट प्राप्त रिपोर्टले नै मैनालीलाई पानीको व्यवसायी बनाइदियो । मैनाली भन्छन्–‘जुन व्यवसायका बारेमा थाहै नभएको मान्छे ल्याव टेष्टबाट आएको रिपोर्टले पानीको व्यवसायीक उत्पादक बनाइदियो ।’ उनले भने–‘ल्यावबाट आएको जुन रिपोर्ट हो त्यो मानव स्वास्थ्यसंग जोडिएको थियो ।
खाद्य प्रविधिको ल्याव परिक्षणमा पानीको पि.एच. ७.३ देखाएको थियो । पि.एचका हिसाबले यो प्रदेश–१ कै उत्कृष्ट पानी भएको ठहर भएको मैनालीले बताए । पानीको उत्कृष्टताबारे विर्तामोडमा आयोजित सार्वजनिक सुनुवाईमा चर्चा भएको बताउँदै भने–‘त्यहीबाट सुनमाईको चर्चा चुलियो ।’
इलामको जंगलको पानी झापामा झारेर ठाउँ (सुनमाई) कै नामलाई पानीको ब्रान्ड बनाएका मैनालीले २०७५ साल बैशाखबाट सुनमाई वाटर प्रालिमार्फत सुनमाई स्प्रीरिङ वाटर’ उत्पादन गर्न थाले । यो संगै प्युरेको पानीले व्यवसायिक क्षेत्रमा उनको अर्को परिचय थपिदियो–(पानी उद्योगी) । २ करोड ५० लाखको लगानीमा स्थापित उद्योगमा मिनप्रकाशसंगै सागर मैनाली, हरि मैनाली र सुनिल भण्डारीले पनि साझेदारी गरेका छन् ।
लगानीकर्ता विर्तामोडका भएपनि उत्पादन केन्द्रमा रोजगारी भने सबै सुनमाईबासीले नै पाएको उनीहरुले बताए । पटक पटकको कोरोना संक्रमणका कारण कामदारले रोजगारी गुमाएपनि सुनमाईमाले भने कामदारले रोजगारी पाइरहनुले व्यवसायिक सफलताको सन्देश दिएको छ । उद्योगमा हाल ९ महिलासहित १२ जना प्रशोधन केन्द्रमा कार्यरत छन् भने उनीहरुसहित ३० जनाले रोजगारी पाएका छन् । घरको काम भ्याएर पाएको रोजगारीले व्यवहार चलाउन पनि सहज भएको कार्यरत महिलाहरुको भनाई छ । उनीहरु दैनिक घरको काम भ्याएर पानी प्रशोधन केन्द्रमा बोतल बनाउने, पानी भर्ने, लेबल लगाउने लगायतका काम गर्ने गर्छन् । पानीको मार्केटिङमा पनि महिलालाई अघि बढाउने प्रयास गरेको बताउँदै मिनप्रकाशले भने–‘अरु टिकेनन्, एकजनाले भने राम्रै पैसा कमाइन् ।’
खानेकुरामा ध्यान दिनुका साथै र पिउने पानीमा पनि शुद्धता रह्यो कोरोना संक्रमणबाट जोगिन सकिने कुरामा विशेषज्ञहरुले जोड दिइरहेका बेला सुनमाईको पानीपनि त्यसको अंश हुन सक्ने उत्पादकको दावी छ । एलोपेथिक औषधी भन्दा पनि कोरोना संक्रमितहरुका लागि स्वदेशी भिर–पाखामा पाइने जडिबुटिजन्य ओखती अचुक बनिरहेका बेला सुनमाई पानी उत्पादक मैनाली भन्छन्–‘जंगलको बीचमा जहाँ हतपत् मान्छे पुग्न सक्दैन, पहाडका जराबुटाको जरामा सिञ्चित भएर प्राकृतिक रुपमा निस्किएको पानी त्यसैपनि औषधीय गुण हुन्छ नै’ उनले थपे–‘त्यसमा पिएचको मात्रा, अल्कालाइन युक्त भएकोले नियमित यो पानी पिउने हो भने कोरोनासहित धेरै रोग कम हुन्छन् ।’ नेपालमा झरनाबाट उत्पादन हुने पानी मध्ये सुनमाई ११ औँ र १ नं.प्रदेशमा १ नम्बर नै मैनालीको दावी छ ।
जमिनबाट तानेर प्रशोधन गरिएका बजारका अन्य पानी भन्दा सुनमाई महंगो भएको उपभोक्ता र ग्राहकबाट गुनासोबारे मैनाली भन्छन्–‘मुहान टाढा छ, मुहानदेखि प्रशोधन केन्द्रसम्म आइपुग्नै खर्चिलो छ, त्यसैले अलि महंगो पर्न गएको हो, तर शुद्ध र मीठो छ, स्वास्थ्यवद्र्धक छ ।’ बजारमा पाइने अरु पानीको तुलनामा सुनमाई १० प्रतिशतले महंगो छ । बजारमा अरु पानीको तुलनामा महंगो भए पनि सुनमाई स्प्रिरिङ्ग वाटरको माग भने बढिरहेको उनले बताए । हाल आधा लिटर र एक लिटर बोतल तथा २० लिटरको जारमा बजारमा पानी उपलब्ध छ । पश्चिममा बर्दिबास र पूर्वमा पाँचथरसम्म बजार विस्तार गरेको सुनमाईको अबको लक्ष्य देशभर विस्तार गर्नुका साथै भविष्यमा विदेशसम्म पुर्याउने रहेको बताइएको छ ।
नियमनकारी निकायका केही व्यक्ति अनुगमनका क्रममा प्रलोभनमा पर्दा गुणस्तरिय बस्तुले बजार पाउन चुनौति रहेको मैनालीले बताए । नियमनकारी निकायको नामै तोकेर भने–‘खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको फितलो अनुगमनले गुणस्तरयुक्त उत्पादनलाई बजारमा प्रतिष्पर्धात्मक चुनौति छ ।’ उनले थपे,–‘कम गुणस्तरीय पानीसँग झरनाको शुद्ध र गुणस्तरीय पानीले प्रतिस्पर्धा गर्नुपरेको छ ।’ त्यसो त पछिल्लो समय होटलहरुमा होटलकै नाममा पानी पाइन्छ । जुन पानी होटलले उत्पादन नगरेर कम गुणस्तरीय पानी उत्पादकले होटलको नाममा लेवलिङ गरिदिएको मैनालीको दावी छ । उनी भन्छन्–‘धेरै होटलहरुमा उनीहरुको आफ्नै लेवलमा पानी पाइन्छ, त्यो उनीहरुले उत्पादन गरेको होइन, अरु पानी उद्योगीले लेवलिङ गरिदिएको हो, होटलले आफैं उत्पादन गर्नका लागि प्रज्ञापन पत्र अनुमति चाहिन्छ ।’ मैनालीले भने प्रश्न गरे अर्काको नाममा लेवलिङ गर्नु गैह्रकानूनी काम हो ! त्यसको अनुगमन खै ? कहाँ छ सरकारी निकाय ?’
उत्पादन शुरु गरेको छोटो अवधी मै कोरोना संक्रमणको चपेटामा परेको सुनमाई वाटर प्रा.लिले शुरुवाती चरणमा घाटा व्यहोर्नु परेपनि त्यसयता भने सुधार हुँदै गएको बताइएको छ । पहिलो वर्ष १५ र दोस्रो वर्ष १२ लाख घाटा व्यहोरेको सुनमाईले चालु आवमा भने मासिक खर्च कटाएर एकलाख रुपैयाँ आम्दानी हुने गरेको मैनालीले जानकारी दिए ।
सुन फल्ने ठाउँ सुनमाईको अभावले मैनालीलाई जुन जागरुकता थपेर नयाँ उद्योगको स्थापना भयो, स्थानीयले रोजगारी प्राप्त गर्न सके र पिउने पानी सहज प्राप्त गर्न सके यो सह्रानीय कार्य हो । अभाव पूरा गर्दा मैनालीलाई केही व्यवसायिक लाभ पनि होला । तर, सोच राखेर अघि बढ्यो भने निकास र विकास र रोजगारी संगसंगै जोडिएर आउँदा रहेछन् भन्ने उदाहरण पनि हो यो ।