बिर्तामोड ३० फागुन । नेपालको शिक्षा, साहित्य र भाषाको विकासमा योगदान गर्ने साहित्यकार तथा शिक्षासेवी दान खालिङलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक २०८२ सम्मान मरणोपरान्त प्रदान गरिएको छ ।
जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक समारोहका बीच एक लाख एघार हजार एकसय एघार रुपैयाँ राशिको उक्त सम्मान शनिबार बिर्तामोडमा खालिङकी बहिनी नवामी खालिङ, भतिजा नवीन खालिङसहित परिवारलाई हस्तान्तरण गरेको हो ।
प्रतिष्ठानका सभापति गोपालकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी तथा प्रमुख अतिथि राजेश खड्काले सम्मान गर्नुभएको थियो ।
उहाँ मूलतः साहित्यकार भए पनि अनुवाद, शिक्षा र सामाजिक चेतनाको क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । नेपालका प्रजातान्त्रिक आन्दोलनका नेता बीपी कोइरालासँग दार्जिलिङमा भेट गरेपछि राजनीतिक तथा सामाजिक आन्दोलनबाट प्रभावित हुनुभयो । त्यसपछि पढाइ छाडेर २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदै बन्दुक बोकेर नेपाल प्रवेश गर्नुभएको थियो । इलामको पशुपतिनगर नाकाबाट नेपाल छिरेर उहाँले सशस्त्र आन्दोलनमा भाग लिएको बताइन्छ।
२००७ सालको आन्दोलन सफल भएपछि राजनीतिक सक्रियता छाडेर साहित्य र शिक्षाको क्षेत्रमा समर्पित खालिङलाई भाषा शास्त्री महानन्द सापकोटासँगको संगतले लेखन तथा शिक्षण क्षेत्रमा सक्रिय बनाएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य समेत रहिसकेका खालिङ नेपाली साहित्यमा अनुवादकका रूपमा पनि परिचित उहाँले झापाका विभिन्न विद्यालय अध्यापन गराउनु भएको थियो । उहाँले नेपाली कविका विभिन्न कृतिहरू अंग्रेजीमा अनुवाद गरी नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पु¥याउन महत्वपूर्ण योगदान दिनुभएको थियो ।
प्रतिष्ठानका अनुसार समाज रूपान्तरण, भाषा–साहित्य संरक्षण तथा शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान खालिङलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष वस्नेतले बताउनु भयो ।
भारतीय साहित्यकार ज्ञानेन्द्र खतिवडाले स्व. खालिङलाई स्मरण गर्दै नेपाली भाषा र साहित्यको सम्वृद्धिका लागि दार्जिलिङको योगदानको चर्चा गर्नुभयो । प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्य र खालिङको व्यक्तित्वबारे अग्रज पत्रकार चन्द्र भण्डारीले चर्चा गर्नुभएको थियो । सो अवसरमा स्व. खालिङलाई लिटल फ्लावर इंलिस स्कूलका तर्फबाट विद्यालयका संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले एक लाख नगद, टावर टेम्पल स्कूलले २५ हजारसहित सम्मान पत्रद्वारा सम्मान गरिएको कार्यक्रममा नेपाली कांग्रेस झापा, पूर्व विद्यार्थी समाज, औषधी व्यवसायी संघ लगायतका संघ संस्थाले खालिङको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरेका थिए ।
दान खालिङलाई मरणोपरान्त पूर्णटुङ्ग आदर्श सम्मान प्रदान



















