मंसीर महिनाको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी नेपालमा परम्परादेखि मनाइदै आएको एक महत्वपूर्ण पर्व हो । यो दिन पशुपतिनाथदेखि विभिन्न स्थानमा अवस्थित मठ– मन्दिरहरूमा सत्बीज (सतबीउ) रोपण गरिन्छ । वैदिक सनातन हिन्दूधर्म अन्तरगत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पनि एक हो । यो पर्वको छुट्टै विशिष्ट महत्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई सत्बीज रोपणको पर्व पनि भन्ने गरिन्छ । यो पर्व विशेषगरी आफ्ना पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । मार्गकृष्ण त्रयोदशीको साँझ काठमाडौं उपत्यकामा अवस्थित पशुपतिनाथ लगायत अधिराज्यका अन्य मठ मन्दिर शिवालयहरुमा दीप प्रज्वलन गरी रातभर जाग्राम बसेर भोलिपल्ट अर्थात् चतुर्दशीको दिन सत्बीज रोपण (छर्ने) चलन छ ।
सत्बीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास छ भने धार्मिक मान्यता यही रही आएको पाइन्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले विशेषतः सकेसम्म पशुपतिनाथको परिसरमा जाने गर्दछन । यदि पशुपतिनाथ परिसरमा जान अनुकुल नहुनेले स्थानिय मठ मन्दिरहरुको परिषरमा नै जाने जाग्राम बस्ने महादिप प्रज्ज्वलन गरि पुजा गर्ने र पितृहरुलाइ सम्झने विहान सबेरै सत्बिज रोपण गर्ने गर्दछन ।
सार्वजनिक रुपमा मन्दिरमा गएर दिप प्रज्ज्वलन गर्न र जाग्रम बस्न नसक्नेहरुले पनि चतुर्दशीका दिन बिहान नजिकैको पोखरी, तलाउ, नदी तथा घरमै तुलसीको मठमा भएपनि सत्बिज छर्ने गर्दछन् ।
नेपाली भाषामा ‘शतम्’को अर्थ सय र ‘बीज’को अर्थ बीउ हुन्छ । यसरी सत्बीज भन्नाले सयथरी बीउ भन्ने बुझनु पर्दछ । तथापी पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई प्रमुख रुपमा लिइने गरेको पाइन्छ । सत्बीजमा फलफूलको रुपमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि विशेष मानी मिसाउने गरिन्छ । यसैगरी सत्बीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । परम्परा अनुसार मंसीर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले आफूलाई पायक पर्ने मठमन्दिर परिषर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाल्ने गर्दछन् । महादीप बालेपछि सोही दीप प्रज्ज्वलन स्थलमा सकेसम्म रातभर जाग्राम समेत बस्ने गरिन्छ । जाग्रामका क्रममा विभिन्न भजनकीर्तन र लोक झाँकीका साथै दोहरी गीत गाएर रात बिताउँछन् । सत्बीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो फलहरु) छर्दै मन्दिरमा गणेशको शिला नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गर्दछन्। पौराणिक मान्यता अनुसार भगवान् शिव मृगरूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ। विशेषत गरी बाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहापाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्रेर हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ ।
तर पनि आज भोली काठमाडौ पशुपती मृगस्थली पुग्न सबैको पहुँच नहुने हुदाँ पहुँच भएका मठमन्दिरमा त्यही परम्परा अनुसार सत्बिज रोपण गरिदैँ आइएको छ ।
त्यस्तै अर्को मान्यता अनुसार आफ्ना मातापिताको आशौंच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभर जाग्राम बसी भोलिपल्ट सत्बीउ छर्नाले आध्यात्मिक, आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने पनि विश्वास रहेको पाइन्छ ।
भगवान् शिवले पनि आफ्नो बालककालमा सत्बीज छरेकोले यस दिनको नाम बालाचतुर्दशी रहेको हो भन्ने कुराको समेत पुराणादीमा उल्लेख गरिएको छ । यसैगरी शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बालाचतुर्दशीको दिन सत्बीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि पाइन्छ। मार्गकृष्ण त्रयोदशीको दिन बेलुकी त्यही वर्ष मातापिता वा आफन्त दिवंगत हुनेहरूका र धेरै वर्ष अगाडि नै दिवंगत भइसकेका पितृका सन्तानहरू पशुपतिका वरपर वा अन्य शिवालय परिसरमा गएर बत्ती बाल्ने गर्दछन् । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ । राति बालिएको बत्ती चतुर्दशीको बिहानै बाग्मती वा आफ्नो पायक पर्ने नदीमा सेलाए (बगाए) पछि पशुपतिमा बस्नेहरूले मृगस्थली हुँदै कैलाश, पशुपति,चौसठ्ठी लिङ्ग आदि विभिन्न चौध क्षेत्रमा सत्बीज छर्छन भने बाहिर रहेका भक्तजनले आफ्नो पायकपर्ने स्थानमा लगातार तीन वर्षसम्म बत्ती बालिसकेकाहरूले सत्बीज छरिसकेर ब्राह्मण पुरोहितद्वारा साङ्गेको रूपमा चतुर्थीकृत्य सम्पन्न गर्दछन् । पहिलो र दोस्रो वर्ष बत्ती बाल्नेहरू भने ब्राह्मणलाई टीका लगाई कैलाशमा गई दहीच्युरा खान्छन् । कैलासमा नपुग्नेले कैलाशको सम्झना गरि सत्बिज रोपण गरिएकै परिसर मा बसेर दहीच्युरा खाने चलन छ । दहिच्युरा खानाले भगवान् शिव खुशी हुन्छन् भन्ने जनविश्वास रहेको छ । तर पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकूल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा सो बत्ती बगाउँछन् । यो पर्व हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले उत्तिकै श्रद्धाका साथ मनाउने गरेको पाइन्छ । यसरी बालाचतुर्दशी वा सत्बीज रोपण पर्वको मुख्य सन्देश संक्षिप्तमा भनु पर्दा हामीले आफू बाँचेको समाजलाई मात्र नहेरी दिवंगत भएका पितृहरूको पनि सम्झना गर्नुपर्दछ । यसरी पितृको सम्झना गर्नाले एकातिर पितृको समेत उद्धार हुने र अर्कोतिर पितृको आशीर्वादले आफू र आफ्नो परिवारको पनि कल्याण हुन्छ। भनिन्छ देवता रिझाउन भन्दा पितृ रिझाउन कठिन हुन्छ, पितृ खुसी भए परिवारमा सुख समृद्धि आरोग्य एवं ऐश्वर्य वृद्धि हुन्छ भन्ने पुराणादिमा उल्लेख गरिएकोले पनि यस पर्वको महत्व रहंदै आएको हो । यस्ता मौलिक परम्पराहरुको निरन्तरता नै स्वधर्म संस्कृतीको रक्षा एवं परम्परा प्रतिको विश्वास हो ।
लेखक ः चेतना सहित्य समाज, भद्रपुर झापाकी संयोजक हुनुहुन्छ ।
बालाचतुर्दशीको महत्व र विश्वास



















