“हाम्रो समाजमा बेला बेला हुने यस्ता बर्बरता र क्रूरतापूर्ण घटनाले हरेक आमा बुबाको मन भयभित बनाउँछ । र उसलाई एउटै चिन्ताले सताउँछ, म कसरी आफ्नो छोरी सुरक्षित राख्न सक्छु। एकाध बाहेक धेरै घटनाका दोषी ,अपराधी कानुनी कठघरामा पर्दैनन् । अबोध नाबालक छोरीहरु अपराधको शिकार बनेर अनाहक मै ज्यान गुमाई रहन्छन् ।´´
जोस्ना श्रेष्ठ
२०७५ श्रावण ११ गते साथीको घरमा गृह कार्य गर्न हिडेकी कंचनपुरकी १३ बर्षे बालिका निर्मला पन्त हराएको भोलि पल्ट बिभत्स अवस्थामा उनको शव उखुबारीमा फेला पर्यो। घटनाको प्रकृतिले उनको बलात्कार पछि हत्या भएको पुष्टि गरयो । उनको हत्या भएको ८ बर्ष बितिसक्दा उनलाई बलत्कार र हत्या गर्ने अपराधी न पत्ता लाग्यो । न त पिडित परिवारले न्याय पाए । निर्मलाम माथि भएकाे क्रुरतापूर्ण हत्या बिर्साउने प्रकृतिको घटना गत असाेजमा माेरङकाे लेटाङमा दाेहाेरियाे । लेटाङ २ कि १३ बर्षिया अंशु गाैतम साथीसंग खेल्ने जान्छु भनेर घरबाट निस्किन । तर, फेरि उनी घर फर्किनन् । खाेजीका लागि परिवारले प्रहरी प्रशासन गुहारे । तर, १५ दिन पछि जंगलमा उनले लगाएकाे लुगा एकातिर र अर्कोतिर प्लास्टिकमा प्याक गरेकाे अवस्थामा शब भेटियाे । अंशुकाे हत्या कसले गर्याे अझै पत्ता लाग्न सकेकाे छैन । यी दुई प्रतिनिधि घटना मात्रै हुन् । हाम्रो समाजमा बेला बेला हुने यस्ता बर्बरता र क्रूरतापूर्ण घटनाले हरेक आमा बुबाको मन भयभित बनाउँछ । र उसलाई एउटै चिन्ताले सताउँछ, म कसरी आफ्नो छोरी सुरक्षित राख्न सक्छु। एकाध बाहेक धेरै घटनाका दोषी ,अपराधी कानुनी कठघरामा पर्दैनन् । अबोध नाबालक छोरीहरु अपराधको शिकार बनेर अनाहक मै ज्यान गुमाई रहन्छन् । पिडित परिवारले सहजै न्याय पाएको घटना कमै भेटिन्छन्। पिडित परिवार बुबा आमा न्यायको लागि भौतारिनु पर्छ । सडक देखि सदन सम्म । न्याय पाउन ठूलै संघर्ष गर्नु पर्दछ । र पनि न्याय पाउने निश्चित हुँदैन । पिडितलाई झनझन पिडित बनाउने काम गरिन्छ,चलखेल चल्न शुरु हुन्छ,अंततः घटना तोडमोड गरिन्छ । प्रमाण नष्ट गरिन्छ। यस्ता अपराध मौलाउनु दोषीले कारवाही नपाउनु हो भन्छन ,सचेत नागरिक तथा सामाजिक अगुवाहरु । “दण्डहिनता, मुलुकको फितलो कानुन र विधमान कानुन कार्यान्वयन नहुनु नै यसको मुख्य किरण हो भन्छन् उनीहरू। “कडा कानुन निर्माण गरेर दोषीलाई कारबाही गर्ने हो भने अपराध कम हुने उनीहरुको बताउँछन् हाम्रो मुलुकमा सत्ता र शक्तिको आडमा न्याय किनबेच गरिन्छ। पिडित परिवारलाई आर्थिक लोभ देखाईन्छ। दोषीलाई कारबाहीको सट्टा उन्मुक्ति दिईन्छ र फेरि पनि अपराध गर्न प्रेरित गरिन्छ पिडितलाई झन पिडित बनाईन्छ ।” यी हरफहरू समाजका अगुवाहरुको बिष्लेषण हो।
कानुन त नेपालको संविधानले छोरा छोरीमा कुनै विभेद गरेको छैन । एक जना छोरा मान्छे स्वतन्त्र र भयरहित ढंगले रात अबेरसम्म सडकमा हिडडुल गर्न सक्छ । तर छोरी मान्छे एकलै हिड्न सक्दैन किनकि उ माथी यौन दुर्व्यवहार हुन्छ, बलत्कार हुन्छ र मारिन्छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वव्यापी संचालन चलिरहेको छ । हरेक बर्ष फरक-फरक नाराका साथ मनाईने यो अभियान ‘ प्रविधिको सही प्रयोग गरौं , लैंगिक हिंसा अन्त्य गरौं ‘”” यस बर्षको नारा तय गरिएको छ । यो १६ दिने अभियानमा हरेक वर्ष अन्य मुलुकहरुमा जस्तै हाम्रो मुलुकमा पनि सरकारी स्तरबाट साथै सामाजिक संघसंस्थाहरूले विभिन्न चेतनामूलक कार्यक्रमहरू, दवाव , अन्तरक्रिया आदि सञ्चालन गरिरहेका छन्। विषेश गरी शहरी क्षेत्रमा महिला अगुवा भएको विभिन्न संघ संस्थाहरूको आयोजनामा लैंगिक हिंसाका बिषयमा छलफल, अन्तरक्रिया, कार्यशाला आदि संचालन भैरहन्छ। तर दुर्गम र ग्रामीण क्षेत्रमा पिछडिएका महिला बर्गलाई यो दिवसको जानकारी सम्म नभएको पाइन्छ। उनीहरू यति सम्म कि लैंगिक हिंसा पनि जान्दैनन्। उनीहरूलाई यस बारे जानकारी दिन जरुरी छ । यो अभियानको शुरुवात एउटा दुखद घटनाक्रम संग जोडिएको छ । २५ नोभेम्बर १९६० मा डोमिकन राज्यका तत्कालीन तानाशाही शासक त्रिजुलोले शासन सत्ता बिरोधमा उत्रिएका मिरावेल परिवारका तीन जना दिदी बहिनी मारिया ,मिर्नभा र पाट्रियाको निर्मम तवरले हत्या गरे पश्चात उक्त घटनाको बिरोध स्वरुप १९९१ देखि संयुक्त राष्ट्र संघले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन मान्यता प्रदान गर्यो । र विश्वभर महिला हिँसा बिरुद्धको १६ दिने अभियान शुरुवात भएको हो। नेपालमा भने यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिए्ता पनि वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदाय देखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो । यो दिवसको शुरुवात संग जोडिएको विश्वको इतिहास थाहा पाई रहदा नेपालको सन्दर्भ पनि हामीले छुटाउन हुदैन लैंगिक विभेद अन्त्यका लागि तत्कालीन राणा शासन व्यवस्थाको बिरोध गर्दै मुलुकमा विद्यमान बिसंगतिको बिरोध जनाउदै आएकी भोजपुरमा जन्मिएकी योगमाया न्यौपानेले बिक्रम सम्बत १९९७ साल असार ११ गते ६७ जना उनका अनुयायी सहित जल समाधि लिएकी थिइन् । उनीहरूले जल समाधि लिनुको मुख्य उद्देश्य अन्यायको विरुद्ध र लैंगिक समानता लागि थियो।
सरकारी आँकडा अनुसार महिला
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना मध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) रहेको छ। जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।
यस्तै साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ । २०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।’’
महिला हिँसाका घटना बढी
कानुन त लिंगको आधारमा कुनै बिभेद छैन। लिंगको आधारमा हिंसा दण्डनीय छ भनेको छ । कानुन एकातिर र व्यवहार अर्को तिर । हाम्रो मुलुकमा हामीले गरिने अभ्यासहरू काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्ता छन्।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार आफन्त र नाता पर्नेहरूबाटै महिला बढी हिंसामा पर्ने गरेका देखिएको छ।
नेपाल प्रहरीको सरकारी तथ्याङ्कलाई आधारमा मानेर हेर्न हो भने आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब २२ हजार महिला माथि भएका हिंसाहरू नेपाल प्रहरीमा दर्ता भए । तीमध्ये ८० प्रतिशत घरेलु हिंसा थिए भने दोस्रो नम्बरमा बलात्कार रहेको थियो ।
महिला पुनर्स्थापना केन्द्र ओरेकले सार्वजनिक गरेको महिला हिंसासम्बन्धी तथ्यांक समेटिएको वार्षिक पुस्तक ‘अन्वेश’ २०८२ मा आर्थिक वर्ष २०८१/०८२ मा भएका एक हजार दुई सय ७९ वटा हिंसाका घटनाको विश्लेषण गरिएको छ । सबैभन्दा धेरै हिंसा कर्णाली प्रदेशमा देखिएको छ भने त्यसपछि कोशी प्रदेशमा पनि हिंसाको दर उच्च रहेको छ । कुल घटनामध्ये ७२ प्रतिशत घरेलु हिंसाका घटना छन्।
समाजमा विद्यमान विभेदपूर्ण व्यवहारहरू :–
हाम्रो समाजमा छोरा र छोरीमा जानेर वा नजानेर हाम्रा अग्रज तथा पुर्खाहरूले आफनै सन्तान छोरा र छोरीमा विभेदपूर्ण व्यवहार अवलम्बन गरेका थिए जसको जरा अहिले सम्म गाडिएको छ ।
“छोरी अर्काको घरमा जाने जात, छोरा बुढेसकालको साहारा ‘ समाउने लौरो, टेक्ने लाठी आदि यस्ता खाले अभिव्यक्ति गाउँ घरमा अग्रजहरूको मुखबाट अभिव्यक्त हुन्थे।
बाबु आमाले आफ्नै सन्तान छोरा छोरीमा,छोरीहरूलाई सरकारी विद्यालय पढ्न पठाएर छोरालाई घर बाहिर महंगा नाम चलेको नीजि बिधालय पढ्न पठाउँथे। छोरीहरूले घरमा खाना पकाउनु, कुचो लगाउनु,भाडा माझ्नु, भाईको लुगा धोई दिनु अझ भाईको झोला बोकेर भाईलाई बोडिङ्ग स्कुल पुर्याउनु र हस्यागपस्यांग गर्दै आफु पनि पढ्न जानु ।”छोरीले घरायसी कामकाज जान्नु पर्दछ, अर्काको घरमा जानु पर्दछ , अर्काको घर परिवार रिझाएर खानु पर्दछ ,बिस्तारै हिड्न पर्दछ, बिहान चाडै उठ्नु पर्दछ ,सानो अनि मिठो स्वरले बोल्नु पर्दछ ”भन्ने खालका शिक्षा घरमा दिइन्थ्यो। घर भरि छोरी, छोरी जन्मिएर सन्तानको संख्या चार देखि पाँच पुग्दा सम्म पनि एउटी आमा सन्तान जन्माई रहन्थिन् । एक जना पुरूषको घरमा दुई वटा श्रीमती सामान्य जस्तै हुन्थ्यो। कसैले तीन वटा सम्म पनि ल्याउँथे। जेठी श्रीमतीबाट छोरा नभएर कान्छी ल्याएको भन्ने पनि सुनिन्थ्यो।
यी माथि प्रस्तुत अभिव्यक्ति तथा व्यवहार आफनै वरपर समाजमा आफैले देखेको , सुनेको उदाहरणहरू हुन्। जुन लिंगको आधारमा गरिएको विभेद रहेछ । त्यस बेला मेरो बाल मनस्थितिले जान्दैन, बुझ्दैन थियो । त्यसबेला यौन दुव्र्यवहार, बलात्कार हत्या , अपराध जस्ता कुकर्म समाजमा घटना कही कतै घटेको सुनिँदैन थियो । बालबच्चा आफ्ना घर वरपर छरछिमेकमा भय रहित ढंगले खेल्न सक्ने , डुल्न सक्ने बाताबरण थियो। जुन अहिले छैन । घरवरपर छोरीहरू छोड्न, खेल्न दिन डर हुन्छ। अनुसन्धान तथा तथ्यले बालिकाहरू नजिकका चिने जानेका व्यक्ति आफन्त बाटै ८० प्रतिशत हिंसा परेको पृष्टि गरेको छ।
स्वरूप परिवर्तन:-
समय क्रम सगै पछिल्लो समय लिंगको आधारमा गरिने हिंसा स्वरूप परिवर्तन हुदै आएको छ। अगाडिका दिनमा मादक पदार्थ सेवन गरेर श्रीमान् बाट श्रीमती कुटपिटमा पर्ने गाली गलौज बोक्सीको आरोप, छोरा पाउन दवाव , सम्पतिमा पुरूषको मात्र हक ,घरायसी कामकाज एक्लै गर्नु पर्ने जिम्मेवारी बाँडफाँडमा बिभेद देखिन्थ्यो । घरेलु हिँसा, शारीरिक हिंसा , मानसिक हिंसा, सामाजिक हिंसा, आर्थिक हिंसा , राजनीतिक हिंसा हुदै यतिबेला डिजिटल हिंसामा आईपुगेको छ। यस बेला हामी प्रविधिको युगमा छौ । प्रविधि बाटै हिंसा शुरु भएको छ । प्रविधिको सही सदुपयोग गर्न नजान्दा दुर्घटनामा परेको तथ्यहरु सार्वजनिक भएका छन्। आर्थिक हिंसा, यौन जन्य हिंसा , मानसिक हिंसा , शारीरिक हिंसा सबै खाले हिंसा यसबाट हुने गरेको छ।
निष्कर्ष :
लैङ्गिक हिंसाविरुद्ध अभियानलाई सार्थकता प्रदान गर्न या अंत गर्न १६ दिन मात्र होइन हरेक दिन अभियान चलाउनुपर्छ । हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु गाउँ गाउँ र विधालयमा संचालन गरिनुपर्दछ। यो बिषय विद्यालयको पाठ्यक्रममा समाविष्ट गरिनुपर्दछ। हामीले आफ्नो व्यक्तिगत आचरण सच्चाउन पर्दछ। ”हिंसा गर्दिन र सहन्न भन्ने प्रण गर्नु पर्दछ”’। घरमा छोरा छोरीमा समान व्यवहार गरिनुपर्दछ। कामको बराबरी बाँडफाँड गरिनुपर्दछ। राज्यले हिंसा अपराध हो हिंसा गर्ने व्यक्ति अपराधी हो हिंसा गर्नै छुट कसैलाई छैन भनेर अपराधीलाई अनुसार कडा भन्दा कडा सजाय दिनुपर्दछ ।

































































































