Homeबिबिधकष्टपूर्ण तर आनन्ददायी कैलाश मानसरोबर यात्रा

कष्टपूर्ण तर आनन्ददायी कैलाश मानसरोबर यात्रा

२०७६ साल साउन २५ गते विहान काठमाडौंको गौशालास्थित पशुपति भिजनबाट ९ बजे २ वटा बसमा कैलाश मानसरोबर तीर्थ यात्राका लागि हामी शिवम् ग्रुप होलिडेको आयोजनामा ३८ जना साउथका तामिलनाडु इन्डियन र हामी २ जना नेपाली सविना अधिकारी र म अनि ९ जना शिवम् स्टाप भान्साको ब्यवस्थापन गर्न र हाम्रो रेखदेख हेरबिचार गर्न गाइड गेल्जेन शेर्पाको अगुवाईमा बाटो लाग्यौं । पहिलो दिनको यात्रा नुवाकोट हुँदै त्रिशुलीको किनारै किनार हामी चढेको बस कुदिरहेको थियो । त्रिशुलीमा कलकल बगेको पानी, कुदिरहेको बसबाट देखिने हरियाली डाडा–काँडाले मन लोभ्याएको थियो । आहा ! मेरो देश कति रमाइलो । मनभरी नेपालको चित्र खेलिरह्यो । प्रकृतिमा कति समृद्ध छौं हामी । मन प्रफुल्लित भयो । त्रिशुलीमै दिउँसोको खाना खाएर हामी धुन्चे, स्याप्रुबेंशी हुँदै टिम्मुरेमा रातको ८ बजे पुग्यौं । त्यसदिनको यात्रा त्यही बिराम लाग्यो ।

No description available.


दोस्रो दिन टिम्मुरेबाट बाटो लाग्नु थियो । मानसरोबरको नाम र प्रचार सुनेका हामीलाई कतिबेला त्यहाँ पुगेर प्रकृतिको आनन्द लिने होला ? मनमा कौतुहल बढिरहेको थियो । त्यहीबाट हाम्रो गाडीको यात्रा टुङ्गिएको थियो भने आ–आफ्नो झोला बोकेर खुट्टे यात्रा शुरु भएको थियो । तराइमा बसेका मान्छे हामी । पहाडको यात्रा निकै कठिन थियो । शारीरिक रुपमा निकै कष्टपूर्ण यात्रालाई त्यहाँको प्रकृतिले बिर्साइदिन्थ्यो र मानसरोबर पुग्ने इच्छा जगाइदिन्थ्यो । लामो निकै कष्टपूर्ण यात्रापछि हामी रसुवागढी नाका पुग्यौं। त्यहाँ इमिग्रेसनको आवश्यक प्रक्रिया पुरा गरेपछि हामीले चाइनिज गाइड सोनम बाङ्देललाई भेट्यांै । चीनतर्फको गाडी हामीलाई कुरिरहेको थियो । गाडी चढेर केरुङसम्मको यात्रापछि दोस्रो दिनको बिसौनी केरुङलाई नै बनायौं ।

No description available.


भोलीपल्ट विहान ५ बजे नै उठेर मर्निङवर्क कै क्रममा हामीले केरुङ बजारलाई एकफन्को मा¥यौ । सानो एरिया तर सुन्दर बजार केरुङ घुम्न हामीलाई लगभग आधा घण्टामात्रै लागेको थियो । मानसरोबर कैलाश यात्राका लागि तिब्बतीयन गाइड सोनम बाङ्देलसँग नेपाली गाइड गेल्जेन शेर्पा दाईले चिनजान गराए । सोनम हिन्दी र अंग्रेजी भाषा राम्रोसँग बोल्थे । विहान ८ बजेको ब्रेकफास्टपछि हाम्रो यात्रा साँगातिर मोडियो । हरियाली डाँडाकाडा र बसको गतिसँगै देखिने परिवर्तित सुन्दर दृश्यले थकान बिर्साउँदै थियो । तर यात्राका क्रममा सुख्खा रुखो एवं जर्जर लाग्ने ढुङ्गे डाँडाबाट लगभग २७ सय मिटर माथि उक्लिदै हाम्रो यात्रा निरन्तर अघि बढिरह््यो । कतै भञ्ज्याङ र चौतारीहरुमा ध्वजा टाँगेका फाँट कतै स–साना ताल तलैया हेर्दै अघि बढिरह््यौ । ठाउँ–ठाउँमै जीउ शिथिल झै अनुभव हुन्थ्यो, यात्रा कष्टकर भइरहेको थियो । अक्सिजन कमी भएको झै अनुभव भइरह्यो । दिउँसो २ बजिसकेको रहेछ । हामीलाई खुब भोक पनि लागेको थियो । एउटा तालको नजिकै पुगेर बस रोकियो । खाना खान सबै जम्मा भयौं । शिवम् ग्रुप होलिडेका भान्से टिमले निकै मिठो परिकारको प्याकेजिङ हात–हातमा थमाउनुभयो। त्यहाँको प्रकृति, भोकाएका बेलाको खाना, अनि सबैको जमघटले लाग्थ्यो– हामी पिकनिक मनाइरहेका छौं । रमणीय स्थान छ–गणेश पर्वत । उच्च हिमशिखरहरुको अवलोकन गर्दै ब्रह्मपुत्र नदी पार गरी ४३०० मिटरको हाइटमा रहेको साँगामा पुगेर बास बस्यौं । निकै चिसो एवं हाइ अल्टिच्युटका कारण रातभर जागा नै थियौ हामी ।
यात्राका तीनदिन वितिसकेका थिए । चौथो दिन अलि विशेष यात्रा थियो । अर्थात हाम्रो लक्ष्यमा पुग्ने दिन–मानसरोबर पुग्ने दिन । विहान ६ बजे ब्रेकफास्ट खाएर सबेरै मानसरोबर यात्रामा लम्कियौं हामी । आहा ! कति राम्रो हिमाली दृश्य । स–साना बेंसीजस्तै लाग्ने समथर भूभाग ठाउँ–ठाउँमा देखिन्थ्यो । स–साना पहाड, त्यही फैलिएका घाँसे मैदान, भेडीगोठहरु, चौंरी चरन, फाँटमा कतैकतै साना तालहरु । वर्णन गरेरै नसकिने प्रकृतिको आनन्दानुभूतिसँगै यात्रा निरन्तर अघि बढिरह्यो । मान्छेको बस्ती अत्यन्तै कम । बोटविरुवा र खेतीयोग्य जमिन अभावकै कारण हुनुपर्छ मानव वस्ती नदेखिएको । हामी दिनको लगभग २ बजे झरिफुन्सुम भन्ने ठाउँमा पुग्यौ । २ वटा साना तिब्बतीयन होटल थिए । तिनकै टेन्टभित्र भान्से टिमले प्याकिङ खाना थमाए । छिटो–छिटो खाना खाएर हाम्रो यात्रा शुरु भयो । बेलुका ४ बजेतिर हामी मानसरोबरको किनारमा पुग्यौं । त्यहाँ पुग्दा यात्राका सबै थकान मेटिए । आहा कति सुन्दर ! मरेपछि स्वर्गबासको कामना गर्ने हामीलाई जीउँदै स्वर्ग पुगेको अनुभूति भयो । जुन शब्दमा बयान असम्भव छ ।
विशाल, शान्त, सफा र सुन्दर मानसरोबरको दर्शन गर्न पाउँदा खुसीको कुनै सीमा नै थिएन हामीमा । मन भावविभोर थियो । ओहो ! पूर्वजन्ममा सत्कर्म गरेकै थिएँ होला र न यस्तो स्वर्गको टुक्रामा आइपुगें । म आफैंलाई धन्य सम्झिरहेकी थिएँ । मन कृतकृत्य थियो । मनमनै भगवान सम्झिए, शिव बाबा भोलेनाथको स्मरण गर्दै हात जोडे र प्रार्थना गरे । अनि मानसरोबर तीनपटक डुबुल्की मारेर निस्किएँ । अत्यन्तै चिसो ठाउँ, हिउँजस्तै पानी, अत्यधिक चिसोका कारण हामीलाई साँगादेखि नै निन्द्रा लाग्न छोडिसकेको थियो । मानसरोवरकै किनारको होटलमा बास बस्यौं , मेरी साथी सविना र म । रातको ११ बजिसकेको थियो । सविना अलि छटपटाउन थालिन्–सोधें उनले इशारा मात्रै गरिन् । टाउको छामे–हनहनी ज्वरो आएको रहेछ । मैले विस्तारै टाउको थिचिदिदै औषधी खान अनुरोध गरें । होटलले तातोपानीको ब्यवस्था गरिदिएको थियो थर्मसमा । तातोपानीसँगै फ्लेक्सन खाइन सविनाले । चिसो अत्यधिक थियो । हामी दुवैजना रातभर निदाउन सकेनौं । यात्राको थकान र अनिद्राले जीऊ भारीजस्तै थियो । विहानको चार बजे भान्साको टिम चिया र कफी लिएर हामी बसेको कोठामा आइपुग्यो ।
यात्राको पाँचौं दिन साउथ इण्डियनहरुले वैदिक विधिपूर्वक पूजा गरे । उक्त पूजा एवं हवनादी कार्यमा हामी पनि सहभागी भयौं । सविना जी र मैले हाम्रै संस्कार अनुसार विधिपूर्वक पूजा गर्दै कैलाशपति भोलेनाथको प्रार्थना ग¥यौ र अध्यात्म एवं शान्तिमा रमायौं । ‘कैलाश पर्वत परिक्रमा गर्ने शक्ति प्राप्त होस् भोलेनाथ’– मैले प्रार्थना गरे । दिउँसोको खानापछि हामी कैलाश मानसरोबर पूग्नअघिको बेशक्याम्प दार्चेन शहरमा गएर बास बस्यौं । चिसोका कारण निन्द्रादेवीले हामीलाई पूर्ण रुपमा छोडेको अनुभव भइरहेको थियो ।
छैटौ दिन दार्चेनदेखि देशुफुक सम्मको यात्रा अब हाम्रो यात्रा झन् कठिन हुँदै गयो । आजदेखि कैलाश परिक्रमाको पहिलो दिन १५ कि.मि.खुट्टाले हिड्नुपर्छ । हामी विहानै होटलको डाइनिङमा जम्मा भएर ब्रेकफास्ट खायौं । ठूलो ब्याग होटलमा नै छोड्यौं र तीनदिनको कैलाश परिक्रमाका लागि निस्कियौं । सानो ब्यागमा २ सेट कपडा, रेनकोट, छाता, केही ड्राइफुट, तातोपानीको थर्मस केही औषधी थियो । बाटोमा बोक्न गारो हुनसक्ने गाइडहरुले भनिरहेका थिए । हामी बस चढेर ११ किमिको यात्रापछि यमद्वार भन्ने ठाउँमा पुग्यौं ।

No description available.


अब हामी ४० जनाको पैदल यात्रा शुरु भयो । साथी सविनालाई ज्वरो र खोकी झन् बढिरहेको थियो । अफ्ठ्यारो, साँगुरो बाटो पानी अनि हिलो थियो । गाइड गेल्जेन शेर्पाले हामीलाई सम्झाउँदा भने– तपाईहरु पछाडि फर्केर नहेर्न, साथीलाई नकुर्न, धेरै नबोल्न, आफ्नो गन्तब्य सम्झन भन्दै मलाई अगाडि बढ्न भने । साथी सविना र मैले पनि सल्लाह गरेका थियौ–हामी दुईमध्ये जो विरामी भए पनि गाइडको साथमा छाड्ने र पर्वत यात्रालाई निरन्तरता दिने एवं लक्षित गन्तब्यमा पुग्ने । सविनालाई झन् गाह्रो भइरहेको थियो । मलाई उनको अति नै चिन्ता लागिरह्यो । हिड्न सकिरहेकी थिइनन् । उनका पछि पछि म थिएँ । गाइडले मलाई सल्लाह दिए–उहाँलाई म लिएर आउँछु, तपाई अघि बढ्नुस् ।’ सविनाले पनि हाम्रो पहिलाको समझदारी अनुसार नपर्खन र अघि बढ्न अनुरोध गरिन् । तर अघि जान पनि मन मानिरहेको थिएन, पछि बस्न पनि मन मानिरहेको थिएन । मन भारी बनाएर भगवानसँग प्रार्थना गरे–मेरी साथीको सम्पूर्ण विराम हरण गरेर कैलाश परिक्रमाको शक्ति दिनुहोस् भगवान ! उनको स्वास्थ्य लाभको कामना गरेर म अगाडि बढें । कोही घोडाको सहारा लिइरहेका थिए भने कोही म सँगै यात्रारत थिए । जति हिडे पनि खुट्टा पछि सरेको झैं अनुभव भइरहेको थियो । अक्सिजनको कमीले श्वास फेर्न गाह्रो महसुस भइरहेको थियो । यद्यपि कठिन यात्रा नरोकी साँझ पाँच बजे म देशफुक पुगे । अब साथीको चिन्ता बाटोमा त्यस्तो बिरामी छोडेर आएँ, कसरी आइपुग्लिन् ? एकछिनको विश्रामपछि म सविनालाई खोज्न जान तम्सिएँ । तर सबैले नजान अनुरोध गरेपछि उनी आउने बाटोतिर आँखा दुखुञ्जेल हेरिरहे हेरिरहें । लगभग अढाइ घण्टापछि मात्रै सविना त्यहाँ आइपुगिन् म अत्यन्तै खुशी भएँ र कोठामा लगेर पुनः ज्वरोको औषधी खुवाए । हातखुट्टा र शरीर मिचिदिएँ । नेपाली भान्से टिमले हामीलाई औधी माया गर्थे । ४० जनामा हामी दुईजनामात्रै नेपाली भएकोले होला शायद । वाइवाई सुप बनाएर हामीलाई सुटुक्क बोलाई खान दिए । हामी ४९५० मिटरको उचाईमा थियौं । हाइ अल्टिच्युड अर्थात लेक लागेर हामी निद्राविहिन नै थियौं ।
यात्राको सातौं दिन हामी कैलाश परिक्रमाको क्रममा देशफुकदेखि डोरमाला, गौरीकुण्ड, हुँदै जुतलफुकसम्मको पैदलयात्रामा निस्कियौं । यात्रामध्येकै गाह्रो र कष्टकर यात्रा थियो त्यो । २२ किलोमिटर हिड्नुपर्ने, ४० जना यात्रीमध्ये २२ जना त दार्चेनको होटलमा नै बस्नुभयो । बाँकी १८ जना कोही घोडामा, कोही खुट्टाले हिडेर देशफुकसम्म पुगेका थियौं ।
बिहानै ७ बजे दोस्रो दिनको परिक्रमा (कोरा लगाउने) शुरु हुन लाग्यो । गाइड गेल्जेन शेर्पाले बोलाए । म पनि तयार भएँ । विरामी साथीलाई अंकमाल गरेर भने–बाँचेर आएँ भने भोली भेटौला । आफ्नो केयर गर्नु है ।’ सविनाले शुभयात्रा भन्दै विदा दिइन् । एउटा सानो ब्याग, एकजोर लुगा, पञ्जा, टोपी, औषधी, टर्चलाइट, तातोपानीको थर्मस, थोरै ड्राइफुड ब्यागमा हाले । सहारा हातमा लौरो थियो । होटलको आँगनमा झरे । मनमा लागिरहेको थियो–वाइचान्स मरे भने पनि कैलाश पर्वतको पवित्र स्थलमा स्वर्गकै बास होला । बाँचे भने विश्वकै ठूलो तीर्थस्थल कैलाश पर्वतको परिक्रमा गरेर धेरै पुण्य मिल्ला भन्दै मानसिक रुपमा तयार भएँ । जम्मा तीनजना यात्री मात्रै साथमा गाइड गेल्जेन शेर्पा थिए । साउथ इण्डियन अन्दाजी ५०÷६० बर्षका थिए । उनीहरु मलाई हेरेर सबैजना छक्क पर्दै यो सानी जान लागेकी भन्न थाले । प्राय सबैले मलाई सानी भनेरै चिनेका थिए–यात्रामा । सबैलाई बाईबाई गरेर हाम्रो उकालो यात्रा शुरु भयो । लगभग तीनरातदेखि ननिदाएको र निरन्तर हिडेको जिऊ । जति माथि उक्लिदै गयो त्यति नै अक्सिजनको मात्रा घट्दै गइरहेको थियो । त्यत्तिकै एकजना यात्रु फर्किदै थिए । मैले सोधे–‘ओ भाइसाब आप क्यु लटगया ?’ उनले भने–‘ मेरेको बहुत सास फुलगया, मे ज्यादा स्मोकिङ कर्ता था, सो आगे नही चलसक्ता । सास फुलगया के मरजाउङ्गा भन्दै फर्किए ।
अब हामी जम्मा तीनजना मात्रै भयौं । गाइड साथमा थिए । अर्को भैयाले पनि मेरो मुखमा हेर्दै भने–‘बहिन जी अब हाम भी क्या करे ?’ मैले ठूलो स्वरमा भने–आत्म विश्वास अर दृढ संकल्प हो तो जरुर मंजील तक पौचीङ्गे चलो भाइसाव’ म अघि लागे । भैया मेरा पछिपछि लागे । हिउँ फुस फुस झरिरहेको थियो । मान्छे उडाउने गरी हावा चलिरहेको थियो । ‘हे भगवान, हे कैलाशपति बाबा कल्याण गर्नुस्’ मनमनै प्रार्थना गर्दै खाने कपुर कपडामा बाँधेर माक्सभित्र सुग्दै विस्तारै उकालो चढिरह्यौं । कपुरले अक्सिजनको मात्रा पु¥याउँदो रहेछ । हामी १२ बजे डोरमाला पुग्यौं । उचाइको मुख्य पोइन्ट ५६३० बर्गफिट थियो । त्यो ठाउँमा पुग्दा मलाई जीवनकै सबैभन्दा ठूलो युद्ध जितेको अनुभूति भयो । म अत्यन्तै खुशी भएँ। आँखाबाट हर्षका आँशु खसिरहेका थिए । मन प्रफुल्ल र हल्का भयो । धेरै चिसो र हिउँ परिरहेकाले फोटो खिच्न समेत कठिन भइरहेको थियो । यद्यपि जीवनमा पुनः उक्त स्थानमा पुग्न दुर्लभ छ भन्ने सोचेर एउटा सानो भिडियो बनाएँ र भने– हे भोलेबाबा हजुरको कृपाले यहाँसम्म आइपुगें प्रभु, रक्षा गर्नुस् , सारा जगतको कल्याण गर्नुस्, कल्पना नै नगरेको यस ठाउँमा आज आइपुगे, बारबार यस्तो अवसर जुरोस् प्रभु ।’

No description available.


त्यसपछि हामी ओरालो लाग्यौं । गौरीकुण्डको माथिबाटै दर्शन गरयौं । माता पार्वती स्नान गर्ने कुण्ड अति नै राम्रो देखिन्थ्यो । निलो पानी तर त्यहाँ पुग्न गाइडले दिएनन् । अलि गहिरोमा भएकाले अक्सीजन नपुगेर धेरैलाई गाह्रो हुने कारणले पनि त्यहाँ जान नदिइदो रहेछ । सोही कुण्डको एकबोतल पानी ल्याइदिन गाइडलाई अनुरोध गरें । उनले ल्याइदिए । ओरालो यात्रा जति तल झर्दै गयो–उति सहज हुँदै गइरहेको थियो । झोलामा बोकेको ड्राइफुड र पानीले भोक मार्दै झर्दै थियौं । त्यत्तिकैमा एउटा सानो पसल भेटियो । तातोपानीमा चाउचाउ हालेर खायौं । अत्यन्तै साँगुरो बाटो, काहिंकाहीं हिमालको कच्छाडजस्तो, खोलाको तिरजस्तो, निकै डर लाग्दो बाटो । गाइड गेल्जेन शेर्पाले बेलाबेला हौसला दिइरहन्थे–दिदी डराउनु पर्दैन । गाह्रो भयो भने मैले अक्सिजन बोकेको छु । म हजुरलाई मर्न दिन्न ।’ उनको सान्त्वनाले यात्रामा निकै साहस भरिन्थ्यो । लगभग २२ किलोमिटर दुरी पार गरेपछि हामी जुतुलफुक भन्ने होटलमा पुग्यौं । गाइड गेल्जेन शेर्पा दाइलाई धेरै धेरै धन्यवाद दिदै आभार ब्यक्त गरे ।
एकछिन फ्रेस भएर रेष्ट गरेपछि थोरै खाना खाएपछि सबै आ–आफ्नो कोठातर्फ विश्राम गर्न लाग्यौं । गलेको शरीर, अनकन्टार ठाउँ आँखा पटक्कै जोडिएन । मानसरोबर देखि नै शौचालयको समस्या भोगिरहेका थियौं । त्यहाँ पनि शौचालयको समस्या थियो । घरभित्र शौचालय नहुँदा अलिक टाढा र एकान्तमा जानुपर्ने, पानीको अभाव, खुल्ला ठाउँमा ढुङ्गाले बारेको तर छानो नभएको शौचालय । ट्याङ्कीमाथि पेनमात्रै भएको । अत्यन्तै दुर्घन्धित पनि । मैले यत्रो धार्मिक तीर्थस्थलमा राम्रो शौचालयको ब्यवस्था गर्न होटलवालाहरुलाई आग्रह समेत गरे । उहाँहरुको भनाई थियो–‘सबै सुविधा सम्पन्न भयो भने यहाँको महत्व कहाँ यतिधेरै हुन्छ र ! तीर्थस्थलमा दुःख कष्ट सहेरै आउने हो तसर्थ यहाँ चीन सरकारले पनि बनाउँदैन हामीलाई पनि बनाउन दिदैन ।’

No description available.


आठौं दिन हामी यात्रा सकेर फर्कने क्रममा थियौं । विहान ५ बजे नै यात्रा शुरु ग¥यौं । जुतुलफुकबाट दार्चेन पुगेर साथीहरुसँग भेट्नु थियो । कैलाश परिक्रमामा जान नसक्नुभएका साथीहरु त्यही हामीलाई पर्खेर बस्नुभएको थियो । सकुशल कैलाश पर्वत परिक्रमाको आनन्द एकातिर थियो भने साथीहरु भेट्ने उत्सुकता अर्कातिर थियो । शरीर थाकेपनि मनमा ऊर्जा भरिएकै थियो । बेलाबेला सिमसिम पानी परिरहेको थियो, म यात्रामा निरन्तर अघि बढिरहें । लगभग ४ घण्टाको यात्रापछि दार्चेन होटलमा पुग्यौं । हाम्रो प्रतिक्षामा बसेका सम्पूर्ण तीर्थयात्रीहरुले मलाई अंकमाल गर्दै खुट्टा छुँदै बोक्न थाल्नुभयो । विशेष मेरी पृया साथी सविनालाई देख्दा हर्षका आँशु झरे । निकैबेर अंगालोमा बाधिएर रोयौं । मलाई लाग्यो त्यो क्षण म कुनै सेलिब्रेटी नै पो हुँ कि ? त्यसपछि खाना खाएर हिडेका हामी साँझ पाँचवजे साँगाको होटलमा पुगेर बास बस्यौं ।
यात्राको नवौं दिन साँगाबाट केरुङ, स्याप्रुबेशी, धुन्चे हुँदै काठमाडौं पुग्ने यात्राका क्रममा साँगा बजार परिक्रमा र किनमेल पनि निकै अविष्मरणीय बन्यो । त्यही दिन साँझ हामी काठमाडौं आइपुग्यौं ।

No description available.
spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बिबिधकष्टपूर्ण तर आनन्ददायी कैलाश मानसरोबर यात्रा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img