Homeसमाचारआयोडिनयुक्त नुनको गुणस्तरबारे छलफल, सरोकारवालाद्वारा चिन्ता

आयोडिनयुक्त नुनको गुणस्तरबारे छलफल, सरोकारवालाद्वारा चिन्ता

बिर्तामोड ४ जेठ । झापा, बजारमा आयोडिनयुक्त नुनको प्रयोगबारे फैलाइएका भ्रम र गुणस्तरहीन नुनको बिक्री वितरणप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले आयोडिनयुक्त नुनको नियमित प्रयोग गर्न र अखाद्य नुनको कारोबार रोक्न कडाइका साथ अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च झापा जिल्ला कार्यसमितिको आयोजनामा बिर्तामोडमा सम्पन्न ‘बजारमा उपलब्ध नुनको गुणस्तर तथा यसको उपभोगबाट हुनसक्ने जोखिम’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले आयोडिनयुक्त नुनबारे सामाजिक सञ्जाल र बजारमा फैलाइएका भ्रामक प्रचारले उपभोक्तामा अन्योल सिर्जना गरेको बताएका हुन् ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । राष्ट्रिय उपभोक्ता मञ्च झापा जिल्ला कार्यसमितिका अध्यक्ष मदनगोपाल सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने कुनै पनि गतिविधि सह्य नहुने बताइन् ।
स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष सुब्बाले बजारमा विभिन्न नाममा बिक्री भइरहेका नुनको गुणस्तरबारे उपभोक्ता सचेत हुन आवश्यक रहेको बताए । उनले सामाजिक सञ्जालमार्फत आयोडिनयुक्त नुन हानिकारक हो भन्ने गलत प्रचार भइरहेको उल्लेख गर्दै वैज्ञानिक आधारबिना फैलाइने भ्रमबाट जोगिन आग्रह गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले मानव शरीरका लागि आयोडिन अत्यावश्यक सूक्ष्म पोषकतत्व भएको बताए । उनले शरीरमा आयोडिनको कमी हुँदा गलगाँड, थकान, मानसिक विकासमा अवरोध, स्मरणशक्ति कमजोर हुनेलगायत समस्या देखिन सक्ने जानकारी दिए । विशेषगरी गर्भवती महिला, सुत्केरी र बालबालिकाका लागि आयोडिनयुक्त नुन अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्तीले आयोडिन भएको र नभएको नुनबीचको भिन्नताबारे जानकारी दिँदै बजारमा बिक्री भइरहेको आयोडिनयुक्त नुन स्वास्थ्य मापदण्डअनुसार सुरक्षित रहेको बताए । उनले नुन खरिद गर्दा प्याकेटमा उत्पादन मिति, आयोडिनको मात्रा र गुणस्तर चिह्न हेर्न उपभोक्तालाई सुझाव दिए ।
वरिष्ठ बालरोग विशेषज्ञ टंक बाराकोटीले आयोडिनको कमीले बालबालिकाको बौद्धिक विकासमा प्रत्यक्ष असर पर्ने बताए । “बालबालिकाको दिमाग सुस्त हुने, सिकाइ क्षमता कमजोर हुने, गलगाँड देखिने तथा गर्भवती महिलामा समेत जटिलता आउन सक्छ,” उनले भने।
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बजारमा औद्योगिक तथा व्यावसायिक प्रयोजनका लागि ल्याइएका केही नुन उपभोग्य सामग्रीका रूपमा महँगो मूल्यमा बिक्री भइरहेको गुनासो आएको बताए । त्यस्ता अखाद्य नुनको बिक्री रोक्न सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने उनको भनाइ थियो ।
उनले पछिल्लो समय “आयो नुन खानु हुँदैन” भन्ने भ्रम योजनाबद्ध रूपमा फैलाइएको दाबी गर्दै वैज्ञानिक तथ्यका आधारमा मात्र स्वास्थ्यसम्बन्धी जानकारी लिन आग्रह गरे। “दैनिक करिब ५ ग्राम आयोडिनयुक्त नुन प्रयोग गर्नु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ,” उनले भने ।
आयोडिन किन आवश्यक
स्वास्थ्य विज्ञहरूका अनुसार आयोडिन थाइराइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनका लागि आवश्यक तत्व हो। यसले शरीरको वृद्धि, मस्तिष्क विकास र ऊर्जा सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ।
आयोडिनको कमी भएमा देखिन सक्ने प्रमुख समस्या गलगाँड ९घाँटी सुन्निने०, बालबालिकामा मानसिक विकास सुस्त हुनु, स्मरणशक्ति कमजोर हुनु, गर्भवती महिलामा गर्भको विकासमा असर, थकान र कमजोरी, सिकाइ क्षमतामा कमी देखिने गरेको बताइएको छ ।
नेपालमा विगतमा हिमाली तथा पहाडी क्षेत्रमा आयोडिनको कमीका कारण गलगाँडको समस्या व्यापक देखिने गरेको थियो। त्यसपछि सरकारले आयोडिनयुक्त नुन अनिवार्य प्रयोगको नीति लागू गरेपछि यस्तो समस्या उल्लेख्य रूपमा घटेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सहायक सिइओ व्रजेशकुमार झाले संस्थाले स्थापनाकालदेखि नै आयोडिनयुक्त नुन सहज रूपमा उपलब्ध गराउँदै आएको बताए । नेपालमा आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्या अहिले नियन्त्रणमै रहेको उल्लेख गर्दै उनले आयोडिनयुक्त नुनबारे फैलाइने भ्रममा नपर्न आग्रह गरे।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले अखाद्य नुन बिक्रीवितरण भएको पाइए तत्काल कारबाही गरिने बताए । उनले उपभोक्ताले शंका लागेमा सम्बन्धित निकायमा जानकारी दिन आग्रह गरे। कार्यक्रममा ओमकृष्ण विमली, इन्दीवर खड्का, पत्रकार गणेशमान मुखिया, भगवति ढुङ्गेल तथा ढुण्डीराज गिरी लगायतले उपभोक्ता सचेतना र नियमित बजार अनुगमन आवश्यक रहेको धारणा राखेका थिए।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड लाहान शाखाका प्रमुख जितेन्द्र शाहले आयोडिनयुक्त र आयोडिनरहित नुन छुट्याउने तरिकाबारे प्रयोगात्मक अभ्यास गराएका थिए । राष्ट्रिय उपभोक्ता मञ्च झापा जिल्ला कार्यसमितिका सचिव सुरेन्द्र भण्डारी ले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआयोडिनयुक्त नुनको गुणस्तरबारे छलफल, सरोकारवालाद्वारा चिन्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img