पूर्वी पहाडको भोजपुरमा जन्मिएका उनी झापाको बिर्तामोडमा विगत लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका छन् । प्रारम्भमा बैदेशिक रोजगारीमा कामदारलाई पठाउनका लागि सहयोगीको भूमिका निर्वाह गर्दै आएका उनी केही समयमै हार्डवेयर व्यवसायमा प्रवेश गरे । प्रतिष्पर्धात्मक बजारमा जमेर बसेका व्यवसायीहरुका सामु नयाँ व्यवसायी भएर भित्रिदा उनीसामु धेरै चुनौतीहरु पनि थिए । यद्यपि कुनै पनि काममा आँट र इमान्दारिता भयो भने सफलताले साथ दिन्छ भन्ने एक उदाहरण हुन्– विर्तामोडका हार्डवेयर ब्यवसायी भक्तबहादुर कार्की । आमा सानीमाया र बुबा मदनबहादुर कार्कीका कोखबाट भोजपुरको साविक दलगाउँ–९ थलाखाममा जन्मिएका उनलाई अहिले पनि थातथलोलाई उत्तिकै माया गर्छन् । तर, परिस्थितिले प्रत्यक्ष स्पर्श गर्न नसकेपनि भावनामा सधैं थातथलो स्पर्श गरिरहने बताउँछन् । व्यापार व्यवसायका अतिरिक्त कार्की बन्धु समाजसहित विभिन्न सामाजिक संघ–संस्थामा पनि आवद्ध छन् उनी । दशक अघिदेखि काकरभिट्टा रोडको वि एण्ड सि अस्पताल दक्षिणसाईडमा पाथीभरा सप्लायर्स सञ्चालन गर्दै आएका छन् । उक्त सप्लायर्समार्फत घर तथा भौतिक संरचना निर्माण सामग्री र रङ्गरोगनको ब्यापार ब्यवसाय गर्दै आएका छन् उनी । काममा लगन, कडा परिश्रम र इमान्दारीताकै कारण ब्यापारमा सफलता प्राप्त गरिरहेका व्यवसाय तथा सामाजिक सेवामा सम्बद्ध व्यवसायी भक्तबहादुर कार्कीसंग गरिएको कुराकानीको सार संक्षेप –सं. :–
जन्मस्थानलाई कसरी स्मरण गर्नुहुन्छ ?
–हुर्के, बढे, पढे र खेलेको ठाउँ सपनामा पनि आउँदो र’छ । जुन ठाउँले हुर्कायो, बढायो, खेलायो त्यो ठाउँ पुग्न नसकेपनि सम्झनाले भने सधैं डोहोर्याइरहन्छ ।
जन्म र कर्मथलोमध्ये कुन पहिलो ?
– जन्मेको र हुर्केको ठाउँ दुवै महत्वपूर्ण छन् । जन्मेर हुर्केको ठाउँमा भावना जोडिएको छ भने कर्मथलो पनि त्यत्तिकै महत्वपूर्ण छ । जसले समाज चिनायो, कर्म गर्न सिकायो र समग्रमा बाँच्ने कला सिकायो त्यसैले दुवै अत्यन्तै महत्वपूर्ण छन् । यद्यपि पहिलो दोस्रो छुट्याउनै पर्दा थातथलो नै भन्नुपर्छ । जुन ठाउँले जन्मायो, हुर्कायो, बढायो र यो स्थानसम्म ल्याइपु¥यायो । यसो भन्दैगर्दा विगत १६ वर्षदेखि थातथलो पुग्न सकेको छैन । साना नानीहरु बालबच्चा ठूला हुँदा व्यवसाय शुरु गरियो । यो पनि शुरुमा भर्खर जन्मिएको शिशु जस्तै नै हुँदोर’छ । जसरी नानीहरु लड्छन् कि भन्ने डर हुन्छ व्यवसाय पनि त्यस्तै हुँदोरहेछ । अब चै २/४ दिन हिड्दा पनि हिड्न सक्ने (नविग्रिने) भएको छ । १६ वर्ष पछि अब चाँडै जन्मेमा पुग्नेछु ।
व्यवसायका साथै सामाजिक क्षेत्रमा पनि संलग्न हुनुहुन्छ समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
– समय व्यस्थापन महत्वपूर्ण पाटो हो । आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दैछु । त्यसो गर्दा गर्दैपनि कहिले काँही एकैपटक गर्नुपर्ने हुन्छ । त्यो बेला तत्काल पहिले गर्नुपर्ने जुन लाग्छ, एकछिन सेवाग्राही पर्खाएर पनि इमरजेन्सी काम गर्नुपर्ने हुन्छ । त्यो व्यापार/व्यवसायभन्दा माथि मानवीयता हो भन्ने ठान्छु र सोही अनुसार गर्छु ।
कता कता आवद्धता र जिम्मेवारी छ ?
– व्यवसायबाहेक हामी कार्की बन्धुहरुको सामुहिक संस्था छ त्यसको नगर समितिको कोषाध्यक्षको जिम्मेवारी बहन गरिरहेको छु । त्यसैगरी भोजपुरबाट झापा आएर बसोबास गर्नेहरु आवद्ध झापा–भोजपुर सम्पर्क समाज जिल्ला सदस्यको भूमिकामा छु ।
मान्छे मान्छे सबै एक भन्ने समयमा किन चाहियो बन्धु समाज ?
– भाई, बन्धु भनेको यस्तो रहेछ जो मर्दा र पर्दा बन्धु नै चाहिन्छ । कुल पितृ बुझाउनेदेखि कहि कतै अप्ठ्यारोमा परेका बन्धुहरु भए उहाँहरुलाई आवश्यक सहयोग गर्ने, उद्दार गर्ने लगायतका कामहरु गर्नका लागि पनि बन्धुहरु एक हुनुपर्ने रहेछ । संगसंगै झापा भोजपुर सम्पर्क समाजले भोजपुरबाट झापामा आएर बसोबास गर्ने, आफन्तहरु लगायतलाई भेट्टाउने तथा सम्पर्क समन्वय गर्दै आएको छ ।
पछिल्लो समय बन्धुहरुका समाज पनि स्वस्थ छैनन् भन्छन् नी ?
– होला कहिं कतै । कुनै कुनै बन्धु बन्धुबीच हात हालाहालको अवस्था पनि देखियो । तर, हाम्रोमा त्यस्तो छैन । बन्धु समाजमा बस्नेले व्यक्तिगत स्वार्थ, पदिय लोलुपता भन्दा माथि उठ्नुपर्छ भन्ने हो । बन्धु भनेको दुःख सुख साटासाट गर्ने पवित्र थलो हो । जहाँ कुल देवताको बास हुन्छ । कुल देवताको आशिर्वाद लिने ठाउँ हो ।
ब्यापारको कस्तो चल्दैछ ?
–राम्रो छ । अहिलेसम्म भगवानको कृपा, पितृको आशिर्वाद र शुभचिन्तकको माया प्राप्त भएको छ । अहिलेको अवस्थालाई नराम्रो भन्न मिल्दैन । सन्तुष्ट छु ।
पछिल्लो समय बदलिएको परिस्थितिलाई कसरी लिनु भएको छ ?
–म कुनै राजनीतिक व्यक्ति होइन् । व्यापारीको पार्टी भनेकै व्यापार हो । जेनजी भाई बहिनीहरुले जुन काम गरे त्यो राम्रो छ । युवाहरुले सफ्टवेयर परिवर्तन गरेका हुन । जुन परिवर्तन आवश्यक थियो । त्यसैले सकारात्मक रुपमा लिएको छु । अहिलेको प्रविधिको भाषामा भन्ने हो भने जसरी

हामीले चलाएको मोवायल वा ल्यापटपमा बर्षेनी सफ्टवेयर परिवर्तन गर भन्छ प्रविधिले अहिलेका युवा भनेका प्रविधि हुन् उनीहरुले सफ्टवेयर चेन्ज गरेका छन् । भ्रष्टाचार, बेतिथी कति धेरै बढेको थ्यो । दशकौंदेखि एउटै व्यक्ति सत्ताका वरीपरी घुमिरहेका थिए । युवाहरुले कामै नलाग्ने भएको पुरानो सफ्टवेयरलाई फालिदिए । तथापि बिनास गर्नु हुन्थेन । सरकारी, निजी र ब्यावसायिक प्रतिष्ठानहरु जलाइनु हुदैनथ्यो, यो गलत भयो, अकल्पनीय र दुःखद घटना भयो । अब देश युवाहरुले हाँक्नुपर्छ ।
संभव छ ? अहिलेको सिनारियोले त्यो देखाउँछ ?
– शुरु भएको छ । केही आशा पलाएको छ । केही राम्रा मान्छेहरु सरकारमा समावेश भएका छन् । फोहोर सफा गर्न नालीमा छिरेर सफा गर्ने प्रयास गर्नुपर्छ , सम्भव हुन्छ ।
परिस्थिति बद्लिएपछि व्यापार व्यवसायमा कस्तो प्रभाव परेको छ ?
– राम्रो फल्ने नै विरुवा रोपियो भने राम्रै फल दिन्छ भन्ने हो । हिजो बैंकले ऋण दिन मान्दैनथे, आज दिनदिनै व्याज घटाएका छन् । लोन लिन आउ भनेर बोलाइरहेका छन् । हिजो माग्न जाँदा दिंदैनथे, आज व्यापारीकामा बैंक आफैं पुग्न थालेका छन् । यो सकारात्मक पक्ष हो । व्यवसाय अब झन बढ्छ भन्नेमा विश्वस्त छु । यसले राम्रै संकेत गरेको छ ।
आन्दोलनरत पक्षको आन्दोलनको मर्म पूरा होला त ? विवादरहित भएको देखिन्न ?
–हुन्छ भन्ने विश्वास गर्ने हो । सरकार त्यही अनुसार बनेको छ । केही गर्छौ भनेर गएका छन् । दूधले नुहाएको कोही हुँदैन । तर हिजोको भन्दा आशा गर्न सकिने छन् ।
अन्त्यमा ?
प्राथमिकता व्यवसायलाई नै दिने हो । व्यवसाय गर्दा पनि नेपालमै उत्पादन भएका सामग्रीलाई प्रोत्साहन गर्ने हो । कहिले काँही केही गुणस्तरमा समस्या आयो भने सुधारका लागि सुझाव दिनुपर्छ । अब सकेसम्म स्वदेशी उत्पादनमा लगानी र प्रवद्र्धन आवश्यक छ । संगसंगै व्यवसायीले व्यवसाय गरेवापत इमान्दार भएर कर पनि तिर्नुपर्छ । इमान्दारितापूर्वक कर तिर्नेलाई राज्यले सेवा सुविधा पनि दिन सक्नुपर्छ ।



















