झापा । एउटा विषयको परीक्षा दिएपछि कोरोना संक्रमणका कारण स्थगित बाँकी परीक्षा दिन पाउँदा इलाम बजारकी मन्जिला घिमिरे खुशी छन् । खुशीसंगै उनलाई चिन्ताले पनि गाँजेको छ । गोमेन्द्र बहुमुखी कलेजमा वि.वि.ए.को पाँचौं सेमेष्टर अन्तरगत २०७६ चैतको २ गते एउटा विषयको परीक्षा दिएकी थिइन उनले । चारवटा विषयको परीक्षा दिन बाँकी नै थियो । उक्त परीक्षा के हुने हो भनेर सोच्दा सोच्दै युनिभर्सिटीले परीक्षाको रुटिङ सार्वजनिक गरेपछि खुशी भएपनि मन भने शान्त हुन नसकेको मञ्जिला बताउँछिन् । त्यसको कारण हो–‘अनलाईन परीक्षामा कपी हुने हो कि भन्ने डर ।’
प्रत्येक ६÷६ महिनामा हुने परीक्षा अन्तरगत उनी पहिलो, दोस्रो र चौथो सेमेष्टरको टपर विद्यार्थी हुन् । संकटको घढीमा विकसित नयाँ प्रणालीले परीक्षाको विश्वसनीयता कायम गर्न सक्नेमा भने उनले शंका ब्यक्त गरिन् । ‘ट्यालेन्ट विद्यार्थीले निकै मेहनत गरेर पढिराखेको हुन्छ’ मन्जिलाले भनिन्–‘घरैमा बसेर अनलाईन परीक्षा सिष्टममा अरुकै सहयोगमा कपि गरेर लेखिदियो भने आफू पछाडि परिने हो की भन्ने डर छ ।’ असहज परिस्थितिमा विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन अनलाईन परीक्षा विकल्प मात्र भएको उनको बुझाई छ । ‘यो परीक्षा प्रणालीले क्रिएटिभिटी नै लस हुने संभावना छ, गाउँ घर वा आफन्त कोही ट्यालेन्ट छ भने परीक्षार्थीले उसको कपी गर्ने संभावना बढी हुन्छ यदि त्यसो भयो भने अप्रत्यक्ष परीक्षा प्रणालीले ट्यालेन्ट विद्यार्थी डिमोटिभेट हुन सक्छ ’–उनले भनिन् ।
समयमा परीक्षा नसकेपछि छैटांै सेमेष्टरको तयारीमा जुटेका विद्यार्थीहरु विश्वविद्यालयले परीक्षाको सूचना गरेसंगै रिभिजन क्लासमा जुटेका छन् । पहिलोपटक अनलाइन परीक्षामा विद्यार्थी सहभागी गराउनुपर्ने भएपछि कलेजले नै परीक्षामा आउनसक्ने संभावित प्रश्नबारे छलफल गराउँदै रिभिजन कक्षा सञ्चालन ग¥यो । यसले परीक्षा दिन सहज भएको उनले बताइन् । भनिन्–‘६ महिना अघि पढेका कुरा सबै याद हुँदैन रिभिजनले सहज भएको छ ।’ उनी असोज २५ गते रोकिएको बाँकी परीक्षाका लागि अनलाईन परीक्षामा सहभागी हुँदैछिन् ।
परीक्षा मिति तय भएर रुटिङ निस्किसक्दा कोरोना संक्रमण जोखिमका कारण परीक्षा स्थगित भएपछि शैक्षिक सत्र खेर जाने हो की भन्ने चिन्तामा थिए–गोमेन्द्रमै अध्ययनरत विद्यार्थी जीवन पौडेल । अनलाईन मार्फत परीक्षा लिने पूर्वाञ्चल युनिभर्सिटीको सूचनाले उनी अहिले उत्साहित बनेका छन् ।
प्रत्येक ६÷६ महिनामा हुने सेमेष्टर अन्तरगत चैत–९ गतेदेखि विर्तामोडस्थित गोमेन्द्र बहुमुखी कलेजबाट विसिएको सातौं सेमेष्टर अन्तरगत परीक्षाको रुटिङ सार्वजनिक भएको थियो । तर, कोरोना जोखिमका कारण पूर्वाञ्चल युनिभर्सिटीले चैत ६ गते परीक्षा स्थगित गर्ने सूचना जारी गरेपछि जीवनसंगै धेरै विद्यार्थी अन्योलमा परे ।
‘शुरुमा त १÷२ हप्ता होला भन्ने लागेको थियो, तर,अलिअलि गर्दै थपिंदै जाँदा अब के हुने होला भन्ने चिन्ता लाग्न थाल्यो’ जीवनले भने–‘जेठतिर आन्तरिक मूल्याङ्कनको कुरा गर्दा अलि आशा पलायो, तर, निर्णय नहुँदा चिन्ता लाग्न थाल्यो, परीक्षाको कुनै निर्णय भएको थिएन । भदौंदेखि नयाँ कक्षा शुरु भयो । सातौं सेमेस्टर अन्तरगत परीक्षाको रुटिङ आएपछि मात्र ढुक्क भयौं, शैक्षिक सत्र खेर नजाने रहेछ ।’
अनलाईन पढाइ र परीक्षामा पहिलोपटक सहभागी कसरी हुने भन्ने डर लागेको थियो रे जीवनलाई । तर, विद्यालयले गराएको नमूना परीक्षाले त्यो डर पनि हटेको उनले बताए । ‘डर लागि राखेको थियो, कसरी लिने होला, कलेजमै जानुपर्ने होला, यस्तो बेला कसरी जानु भन्ने लागिरहेको थियो’– जीवनले थपे–‘तर, कलेजले डेमो एक्जाम लियो, जसले धेरै सहज भएको छ, परीक्षा त घरैमा बसेर दिन सकिने रहेछ ।’
कोर्ष समाप्त भइसकेको हुनाले पढाइमा खासै असर नपरेको उनले बताए । पढाई सकिएको थियो, परीक्षाको तयारीमा नै थियौं, कोरोनाले पढ्ने अभ्यास कम गराएपनि एकपटक हेर्दा स्मरण भइहाल्छ–जीवनले भने । अनलाईन प्रणालीमार्फत घरैमा बसेर परीक्षा दिंदा सहज हुने भएपनि लेखिसकेपछि अपलोड गर्ने बेलामा चै, इन्टरनेटमा समस्या आएमा दुरदराजका सहपाठीलाई भने समस्या हुने जोखिम उनले औंल्याए ।
लामो समय पढाइ बन्द हुँदा र परीक्षा पनि नहुँदा विद्यार्थीको मानसिकतामा एकदमै असर पारेको बताउँदै जीवनले भने–‘भविष्यको चिन्ता लाग्छ, यत्तिकै वित्ने भो भनेर नैराश्यता छाउँथ्यो । युनिभर्सिटीले अनलाईन परीक्षाको निर्णय गरेसंगै कलेजले गराएको नमूना अनलाईन परीक्षमा सहभागी जीवनले विषम परिस्थितिमा अनलाईन परीक्षा विकल्प हुन सक्छ ।’ आसपासका शैक्षिक संस्थाहरुलाई उदाहरणसहित आफूले अनलाईन परीक्षा र कक्षा सञ्चालनका लागि सुझाव समेत दिएको उनले बताए ।
पूर्वाञ्चल विश्वविद्यालयले असोज १५ देखि शुरु गर्ने विभिन्न शंकायका परीक्षाका लागि ५ घण्टाको समय तय गरेको छ । उक्त समय आफ्नै सहपाठीहरुबाट लामो समय भएको भनिएपनि आफूलाई भने ठिकै लागेको बताउँदै भने–‘इन्टरनेटले काम गरेन भने लेखिसकेपछि बाँकी रहेको २ घण्टामा साइबरतिर गएरपनि पठाउन सकिन्छ ।’
विद्यार्थीलाई अनलाइन परीक्षा ढुक्क भएर सहभागी हुन पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका विद्या परिषद सदस्य रुपक खनालले आग्रह गरेका छन् । विश्वका विभिन्न देशमा वर्षौदेखि चलनचल्तीमा रहेको अनलाइन परीक्षा प्रणाली नेपालमा मात्र नयाँ भएको उनले बताए । विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिन विश्वविद्यालयले उत्तम विकल्प निकालेको खनालको भनाइ छ । ‘पहिलो पटक हुनाले केही समस्या हुन सक्छ, टपर विद्यार्थीको शैली थाहा हुन्छ, चोरेको या सारेको भन्ने कुरा’– उनले थपे–‘स्वअध्ययन गरेर प्रमाण–पत्रमात्रै लिंदा हुन्छ भन्ने विद्यार्थीलाई सहज होला, सबै ठाउँमा सधैं ढाँटेर पुग्दैन, ट्यालेन्सी नै चाहिन्छ यो चोरलाई चावी सुम्पेजस्तै हो, चावी नै सुम्पेपछि कसरी चोर्नु ? के गर्नु ?’
विश्वमा झण्डै दर्जनको हाराहारीमा अनलाइन परीक्षा प्रणाली प्रचलनमा रहेको बताउँदै पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वंधन प्राप्त गोमेन्द्र बहुमुखी क्याम्पस विर्तामोडका प्रमुख समेत रहेका खनाल भने–‘ अहिले सम्म नेपालमा भने पढाई र परीक्षा दुवै परम्परागत ढंगबाट हुँदै आएछ ।’ पढाईको पद्धतिमा पनि परिवर्तन गर्नुपर्ने बताउँदै खनालले भने–‘यो कोरोनाले अवसर दिएको छ, हाम्रो शिक्षण प्रणालीमा पनि परिवर्तन जरुरी छ । नेपालमा अहिलेसम्मको शिक्षण प्रणालीलाई वमिटिङ प्रणालीको संज्ञा दिंदै उनले भने–‘अब वमिटिङ प्रणालीबाट बाहिर निस्कनुपर्छ ।’
पूर्वाञ्चल विश्वविद्यालयका भी.सी. प्रा.डा. यादवराज कोइरालाको अवधारणामा नयाँ परीक्षा प्रणाली अपनाएर पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उपाय खोजिएको बताइएको छ ।
देशभर पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृति प्राप्त ८२ वटा क्याम्पसका १३ हजार विद्यार्थीले चिकित्साशास्त्र, मानविकी, विज्ञान तथा प्रविधि, व्यवस्थापन, शिक्षा संकायका विद्यार्थीले असोज १५ गतेदेखि विभिन्न सेमेष्टर अन्तरगतका परीक्षा अनलाइनमार्फत दिनेछन् ।
पहिलोपटक प्रयोग हुन लागेको अनलाईन परीक्षा प्रणाली अनुसार परीक्षाको समय तीन घण्टा तय गरिएको छ । परीक्षा प्रारम्भ हुनुभन्दा आधाघण्टा अघि केन्द्राध्यक्षले र १५ मिनेट अगाडि विद्यार्थीले इमेलमार्फत प्राप्त गर्ने बताइएको छ । १५ मिनेटसम्म प्रश्नपत्र हेरिसकेपछि विद्यार्थीले अफलाइनमा बसेर एफोर साइजको कपीमा नै उत्तर लेख्न सक्नेछन् । तीनघण्टा समय पूरा भएपछि आफूले लेखेको उत्तरपुस्तिकाको फोटो खिचेर पि.डि.एफ फाइलमा केन्द्राध्यक्षलाई पठाउनुपर्नेछ ।
परीक्षाको पूर्वतयारी र सञ्चालनका लागि कलेजका प्रिन्सिपल केन्द्राध्यक्ष तोकिने प्रावधान तय गरिएको छ भने शंकायअनुसार केन्द्राध्यक्षले दुईजना सहकेन्द्राध्यक्ष तोक्न सक्ने बताइएको छ ।
अनलाईन परीक्षा लिदै पूर्वाञ्चल विश्वविद्यालय, टपर विद्यार्थी खुशीसंगै चिन्तामा

” बेलायंम कूबेलायंम काक काक पिक पिक ” अर्थात बेला ( समय) आएपछि काग काग नै हुन्छ कोइली कोइली नै हुन्छ भन्ने शास्त्रले भनेको छ । जिन्दगीको सहि परिक्षण हुने बेलामा copy गर्ने र स्व-ज्ञान् आर्जन गर्ने बिच आफै फरक हुनेछ ।अत: चिन्ता लिनु पर्ने देखिदैन ,समय रोकिने नभकोले प्रथमतः तेस्को सदुपयोग गरि अगाडि बड्दै जानेहो ।जीवनमा टप गर्नु पर्ने अनेक खुड्किला आउदैछ्न भन्ने बुझ्न जरुरी छ । समयको रफ्तार संग कुद्न पाई परिक्षण दिन पाएकोमा परिक्षार्थी सबैलाई बधाई तथा सफलताको लागि शुभकामना छ ।