‘चेलीले माईतमा खाएको मात्र दर हो, बाँकी सबै भोज । ३ महिना अघि देखिको भोजलाई दर भनेर त्यसको परम्परा माथी प्रहार नगरौ ।’ सामाजिक सञ्जालमा आएका यस्तै–यस्तै पोष्ट हेरे पछि केहि त लेख्नै पर्छ भनेर हुटहुटी लाग्यो र लेख्न बसे । तीज हिन्दु धर्मावलम्बी नेपालीहरूको महान पर्व हो । यो भाद्रशुक्ल पक्ष तृतीयाका दिन पर्दछ । भाद्रशुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमबार परेमा तीजको महत्व अझ बढछ । यी तीन चिजबाट जन्मिएको हुनाले त्रिज भन्ने संस्कृत शब्दबाट अपभ्रंस हुँदै तीज शब्द प्रयोग भएको देखिन्छ ।
महादेबलाई नै पतिको रूपमा प्राप्त गर्ने देवी पार्वतीको चाहाना र तपस्या बिरूद्द पार्वतीका पिता हिमालय पर्वतले भगवान विष्णुलाई बिवाह गरिदिने कुराको बिद्रोह गर्दै देवी पार्वतीका शाथी संगीहरूले जंगलमा लुकाएर राखेको हुनाले यसलाई हरितालिका भनिएको हो । साथीहरूद्वारा हरण गरिएको भनेर हरितालिका नाम रहन गएको भनाई छ । त्यसो त देवी देवताकै पालादेखि महिलाको संघर्षको कथा सुन्न लायक छ । देवी पार्वतीले एकसय सात पटकसम्म जन्म लिंदा पनि आफ्नो ईच्छा पुरा गर्न नपाएको र एकसय आठौ पटक जन्मिएपछि मात्र महादेव पति प्राप्त गरेको किंबदन्ती छ । यो किंवदन्तीले भगवानका पालामा त महिलाहरूले इच्छा पूरा गर्न कति संघर्ष गर्नुपर्ने रहेछ भन्ने कुरा स्पष्ट पार्छ भने हामीले पनि लैङ्गिक बिभेद अन्त्यका लागि प्रयत्न गरिरहनु आजको आवाश्यकता हो ।
आज पनि लैङ्गिक हिंसा ब्याप्त रूपमा छ । हिजो र आजमा हिंसाको स्वरूप मात्र परिवर्तन भएको छ । त्यहि काम पुरूषले गरे ठिक महिलाले गरे बेठिक देख्ने पितृसत्तात्मक सोचबाट हाम्रो समाजले उन्मुक्ति पाएको छैन । त्यस्तै सोचका अवशेषहरू सामाजिक सञ्जालमा आउनुलाई सामान्य नै मान्नु पर्ला ।
अहिले तीजको माहोल छ, सामाजिक सञ्जालमा महिलाले बोटलबाटै रक्सी पिएको पोष्ट गर्दै तीज सकियो, बिकृती भयो, तीजले त यस्तो पो रूप लिएछ, तिन महिना अघि देखिको त भोज पो हो त, आदी/आदी क्याप्सन लेखिएको फेसबुक वालमा मनग्यै देख्न पाइन्छ । त्यही स्टाटसको समर्थन गर्दै हो मा हो मिलाउदै राईट,एस, सय प्रतिशत सहिसगै लौन हाम्रो संस्कृति सकियो, के देख्नु परोनी, कति बुर्कुसी मारेको हौ, हे भगवान, हे प्रभु,भन्दै कमेन्ट गर्नेको पनि लर्कै लाग्छ । त्यो लर्को सगै साँच्चै गहिरिएर बिश्लेषण गर्ने सकारात्मक सोच भएका ब्यक्तिहरुले सामाजिक सञ्जालमा राखिएका त्यस्ता पोष्टहरूले हाम्रो सामाजिक परिवेशलाई झन बिगार्छ होला भन्दै चिन्ता पनि ब्यक्त गरेको देखिन्छ ।
वास्तवमै हामी सबै गम्भीर हुने बिषय पनि हो । हाम्रो संस्कृती हाम्रो पहिचानको बिषय हो । हामी समाज रूपान्तरणसंगै समृद्ध नेपालको परिकल्पना गरी त्यसको स्थायित्वका लागि अग्रपंतिमा रहेका बुज्रुकहरू नै सत्य तथ्य के हो ? कस्ले, किन, के का लागि, के सन्दर्भमा खिचिएको तस्वीर हो त्यसको खोज नै नगरी तीजलाई सन्दर्भ बनाएर सामाजिक सञ्जालमा पोस्ट्याउनुले कूल जनसंख्या मध्ये लगभग ५२ प्रतिशतको हाराहारीमा रहेका महिलाहरुको स्वाभिमानमा प्रश्न उठेको छ । तीन/चार जना महिलाका वाईनका वोतल सहितको फोटो सामाजिक संजालमा पोस्ट्याएर तीजको आलोचना गरिरहँदा, त्यो भन्दा बाहिर रहेका महिलाको अपमान गरिएको छ । यो आफैमा दुःखद पक्ष हो । चाडपर्व/संस्कृती संरक्षणको दायित्व सबैको हो । स्वतन्त्रताका नाममा महिलाले मनाएको चाडलाई सामाजिक सञ्जालमा महिलालाई होच्याउन गरिएको पोष्ट सामाजिक सञ्जालको माध्यमबाट महिलामाथि गरिएको डिजिटल हिंसा पनि हो । महिला स्वतन्त्र हुन खोजे, बोल्न खोजे, हाँसे हिजो समाजले निन्दा गथ्र्यो, तिनै समाजका केही उत्तराधिकारीका रुपमा आज सामाजिक सञ्जालमा पोखिरहेका छन् ।
चाडपर्वको नाममा रक्सी खाने नेपालीहरूको संस्कृती होइन, सबै जानकार छौ । तर, त्यहि रक्सी पिएर होस गुमाएर घर आईपुग्नु भएको पति परमेश्वरको खुट्टा धोएर पत्नीले पानी खाएमा सबैलाई आनन्द लाग्छ । रात र दिन नभनी घरधन्दा र ब्यबहार ब्यवस्थापन गर्दै राजनैतिक, सामाजिक र आर्थिक क्षेत्रमा अघि बढ्न प्रयत्न गर्दै संघर्ष गरिरहेका महिलाहरूलाई यस्ता पोष्टहरूले निरुत्साहित गरिरहेको छ । सबै चाडपर्वहरूको शुभकामना आदान प्रदान गर्न मिल्छ तर तिजकै सन्दर्भ मात्र बिकृतीका रूपपा मानिनु राम्रो पक्ष हैन । हरितालिका तीज आउनु भन्दा १०/१५ दिन अघि तीज मिलन कार्यक्रममा, शुभकामना आदान प्रदान गर्दै खिर र ढकने खाजाको रूपमा प्रयोग गर्दैमा बिकृती आयो भनेर यति धेरै रोइलो गर्नु आवाश्यकता भन्दा बढी नै भयो मेरो बिचारमा, तीजको पूर्वसन्ध्यामा गरिएका तीज मिलन, तीज उत्सव र शुभकामना आदान–प्रदान गर्ने कार्यक्रमहरूले महिलाहरू नेतृत्व बिकास, क्षमता अभिबृद्धी भएको कुरा सबैले महशुस गर्नु आजको आवाश्यकता पनि हो ।
राम्रो र नराम्रोबीच द्वन्द्व चलिरहेको हुन्छ । अहिलेको सामाजिक परिवेशमा एकातिर उपभोक्तावादी संस्कृती बढ्दो छ भने अर्कोतिर संगसंगै श्रमलाई सम्मान गर्ने बस्तु र सेवाको उत्पादनमा संलग्न हुने काम सगै जीवनलाई रमाईलो बनाउन आफ्नो संस्कार संस्कृती अनुसार चाडपर्व मनाउने संस्कृती पनि छ । महिलाहरूले आम रूपमा घरायसी काम संगसंगै उत्पादनको काममा संलग्न भएर तिज जस्तो नेपाली हिन्दु धर्मावलम्बीहरूको चाडमा खिर ढकने र आलुको सब्जी खाएर, नाच–गान र शुभकामना आदान–प्रदान गरेर पुरूष सरह स्वतन्त्र समाजको स्वतन्त्र मान्छे बन्न गरेको प्रयासलाई सबैले सकारात्मक रूपमा लिनु पर्दछ । यस बिचमा उपभोक्तावादी संस्कृतीका केही बिकृत रूपहरू देखिएमा स्वस्थ आलोचना गरी सुधार गर्न सुझाव दिनुहुन सम्पूर्ण जिम्मेवार ब्यक्तित्व प्रति हार्दिकता पूर्वक अनुरोध छ ।
अन्त्यमा नेपालीहरूको यो महान पर्व हरितालिका तीजको अवसरमा देश बिदेशमा रहनुहुने सम्पूर्णमा महानुभावहरूमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।