बिर्तामोड २७ कात्तिक । नेपाल अप्थाल्मिक सोसाइटीको २७ औं सम्मेलनको तयारी भब्य रुपमा गरिएको छ । सम्मेलनका लागि देश तथा विदेशबाट आँखाका चिकित्सक र आँखा रोग विशेषज्ञहरु सम्मेलनस्थल झापाको बिर्तामोडस्थित मेची आँखा अस्पतालमा भेला भएका छन् ।
नोभेम्बर १३ देखि १५ सम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित १२ देशका ४०० नेत्र रोग विशेषज्ञहरुको सहभागिता रहने आयोजक संस्था नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष तथा मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले जानकारी दिनुभयो ।
सम्मेलनमा आँखाको ढकनीदेखि आँखाबाट व्रेनसंग जोड्ने अप्टिक नर्व लगायतका विषयमा छलफल गरी निष्कर्ष निकालिने छ । आँखाको ढकनी, आँखाको नानी, पानी, लेन्स, पछाडिको पर्दासहित आँखा रोग र उपचार विधिसंग सम्बन्धित रहेर १२० वटा ओरल पेपर प्रेजेन्ट गरिने छ भने ३४ वटा पोष्टर पेपर प्रस्तुत गरिनेछ । प्रस्तुत पेपरमाथि सामुहिक छलफल गरी निष्कर्षमा पुग्ने तथा चिकित्सकहरुले आ–आफ्नो अनुभव आदान प्रदान गर्ने तयारी रहेको डा. जोशीले बताउनु भयो ।
सम्मेलनका लागि आतिथ्य प्रदान गरेको मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले नेपालका विभिन्न ठाउँ र विदेशबाट समेत झापामा नेत्ररोग विशेषज्ञको भेलाले उपचार सेवामा डाक्टरहरुलाई अझ उत्साहित र नयाँ नयाँ उपचार विधिबारे जानकारी हुने बताउँदै उपचारका उपचार पद्धतिमा थप सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । मेची आँखा अस्पतालमा नेपाल अप्थाल्मिक सोसाइटीको सम्मेलन आयोजना गरेको यो तेस्रो पटक हो । पहिलो पटक सन् २००९ सम्मेलनको आयोजना गरेको मेची आँखा अस्पतालले सन् २०१५ मा दोस्रो पटक सम्मेलन आयोजना गरेको थियो ।
सम्मेलनमा आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, डा. सुमन थापा, ताराप्रसाद दास र सम्मेलन आयोजक नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष डा. पुरुषोत्तम जोशी विशेष वक्ताका रुपमा रहेका छन् । नेपाल अप्थाल्मिक सोसाइटी सन् १९८५ मा सुरु भएको आँखा चिकित्सकहरुको छाता संस्था हो ।
सम्मेलन परिषरमा आँखा उपचारसंग सम्बन्धित नेपाल तथा अन्य मुलुकमा उत्पादन भएका विभिन्न उपकरणहरुको स्टल समेत राखिएको छ ।
नेपालसहित १२ देशका नेत्ररोग विशेषज्ञ बिर्तामोडमा



















