रोङ ६ जेठ । बिहान ९ बजेदेखि नै पालिकाले सेवा प्रवाह गर्नका लागि कार्यालयमा कर्मचारीहरु हाजिर भएपनि सेवाग्राही १० बजेअघि सेवाग्राही उपस्थित नभएपछि इलामको रोङ गाउँपालिकामा आजदेखि विदासम्बन्धी पुरानै नियम लागू हुने भएको छ ।
पालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले आजदेखि सातामा शनिवार मात्र विदा हुने पुरानै नियम लागू गरिएको जानकारी दिनुभयो ।
यसअघि रास्वपा नेतृत्वको नयाँ सरकार गठन भएपछि देशभरका सरकारी कार्यालयहरुमा सोमबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि अपरान्ह ५ बजे तथा शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रवाह गर्नुपर्ने नयाँ नियम लागू गर्न देशभर पत्राचार गरेको थियो । नयाँ नियम अनुसार हप्तामा दुईदिन शनिवार र आइतवार सार्वजनिक विदा हुने नियम लागु गरेको थियो ।
संघीय सरकारको नयाँ नियम लागू भएयता विहान १० बजेभन्दा अघि सेवाग्राही नआएको स्पष्ट पार्दै गाउँपालिका अध्यक्ष स्याङ्बोले विदासम्बन्धी नयाँ नियम असान्दर्भिक भएको बताउनु भयो । भौगोलिक बनावटका कारण सर्वसाधारणहरु १० बजेभन्दा अगाडि कार्यालयमा आइपुग्न नभ्याउने भएपछि बिदाको पुरानै नियम लागू गरेको उहाँको भनाई छ ।
साथै असार मसान्तसम्ममा धेरै कामहरु गर्नुपर्ने भएका कारण यति धेरै विदा दिन नसकिएको स्पष्ट पार्दै कार्यपालिकाको जेठ ४ गतेको बैठकले विदासम्बन्धी पुरानै नियम लागू गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बिदा सम्बन्धी नयाँ नियम प्रभावकारी नभएपछि रोङमा पुरानै नियम
































































































