परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण जनशक्ति तथा व्यवस्थापकीय जिम्मेवारी केन्द्राध्यक्षलाई ।यो वर्षको एसईईमा ११ हजार ३७९ विद्यालयका परिक्षार्थी सहभागी छन् । जापानको १ केन्द्रसहित १ हजार ९६६ परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन भइरहेका छन् ।
रेजिना गौतम
बिर्तामोड । चैत १९ गते बिर्तामोड नगरपालिका अन्तरगत एक विद्यालयका प्रधानअध्यापक हतारिदै वडा कार्यालयमा प्रवेश गरे । एसईई परीक्षाका लागि एक केन्द्रको केन्द्राध्यक्षको जिम्मेवारी समेत सम्हालेका उनीसंग परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षणका लागि आवश्यक जनशक्ति व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षणस्थल पायक पर्ने शौचालयसहितका भौतिक संरचना व्यवस्थापनको जिम्मेवारी पनि उनीसंगै थियो ।
विहान ५ बजेदेखि परीक्षा केन्द्र ब्यवस्थापनमा खटिएका थिए उनी । एसईई परीक्षाका लागि केन्द्राध्यक्ष रहेका उनी वडा कार्यालयमा प्रवेश गर्दा लगभग साढे १२ बजिसकेको थियो । त्यसदिनको परीक्षा सकिएपनि चटारो थियो–उत्तरपुस्तिका परीक्षणको । ‘नसके जागिर छाडेर जा भन्छ’–सरकारको कडा निर्देशन रहेको जनाउँदै उनले भने–‘सिसिटिभि क्यामेरा जडान भइरहेको छ ।’ उत्तरपुस्तिका परीक्षणका लागि शौचालय लगायतका पूर्वाधार तयार गर्ने कामको शिलशिलामा आवश्यक समन्वय गरिदिन वडाध्यक्षलाई आग्रह गर्ने उद्देश्यले उनी वडा कार्यालय पुगेका रहेछन् । अनौपचारिक कुराकानीकै क्रममा ती शिक्षकले भने–‘यसअघि यस्तो अभ्यास कहिल्यै भएको थिएन, पूर्वतयारी पनि थिएन, एक्कासी निर्देशन आउँदा ब्यवस्थापनमा कठिनाइ भएको हो ।’ एसईई परीक्षाको नयाँ अभ्यास र अनुभव बारे उल्लेख गर्दा नाम उल्लेख नगरिदिन आग्रह गरे अनुसार व्यक्तिगत गोपनीयताको हकलाई कायम गरिएको हो ।
एसएलसी हुँदै एसईई परीक्षा शुरु भएको बर्षौ वितिसकेको छ । ‘यसअघि परीक्षा केन्द्रले परीक्षा सकेर साविक जिल्ला शिक्षा कार्यालय तथा हाल परिवर्तित जिल्लास्थित शिक्षा समन्वय इकाईमा उत्तरपुस्तिका सुरक्षित बुझाएपछि केन्द्राध्यक्षको जिम्मेवारी सकिन्थ्यो’–उनले अघिल्ला परीक्षाहरुको अनुभव सुनाए । जिशिका वा समन्वय इकाईले विषय शिक्षक वा विषय विज्ञको टोली खटाएर उत्तरपुस्तिका परीक्षण गथ्र्यो र परीक्षा नियन्त्रण कार्यालयमा प्राप्ताङ्क पठाउँथ्यो । सामान्यतया विद्यार्थीहरुले आफ्नो उत्तरपुस्तिका कसले परीक्षण गर्दैछ भन्ने थाहा नहुनेगरी गोपनियता राखिन्थ्यो । यसपटक प्रधानमन्त्री शाहले परीक्षा नियन्त्रण कार्यालयका अधिकारीसँगको छलफलपछि परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्देशन दिए । त्यतिमात्रै होइन परीक्षा नियन्त्रण कार्यालयले निर्देशिका जारी गर्दै परीक्षण केन्द्र रहेको विद्यालयमा सीसीटीभी जडान गरी सुरक्षित कक्षमा परीक्षण/संपरीक्षण गराउने निर्देशन दियो ।
परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गर्दै परीक्षक र संपरीक्षकले परीक्षण कक्षमा मोबाइललगायतका विद्युतीय उपकरण ल्याउन नहुने निर्देशन जारी ग¥यो ।
उक्त निर्देशनले भौतिक रुपले सम्पन्न नभएका सामुदायिक विद्यालयहरुको परीक्षण कक्षमा मात्रै भएपनि सीसीटीभी जडान गर्नैपर्ने अवस्था सिर्जना गरेको झापाका विभिन्न परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्षहरु बताउँछन् ।
यस वर्ष परीक्षाकेन्द्रहरुमा परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसकेर ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’मा चढाई खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएपछि ब्यवस्थापनमा असजिलो भएको केन्द्राध्यक्षहरु बताउँछन् ।
गत चैत १९ गतेबाट देशभर एसईई परीक्षा चलिरहेको परीक्षा आगामी २९ गते सकिनेछ । परीक्षा मात्रै होइन परीक्षासंगै कपी काट्ने अर्थात उत्तरपुस्तिका परीक्षणको काम पनि संगसंगै भइरहेको छ । परीक्षासंगसंगै उत्तरपुस्तिका परीक्षण यो नयाँ अभ्यास हो । शाहको ठाडो निर्देशनमा परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्नुपर्ने भएपछि परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच भइरहेको छ । परीक्षा संगसंगै उत्तरपुस्तिका परीक्षण यो नेपालको शैक्षिक इतिहासमै पहिलो अभ्यास हो । यसअघि परीक्षा सकिएको ७९ दिनदेखि ३ महिनाभित्रमा मात्रै नतिजा प्रकाशन हुँदै आएको थियो ।
नयाँ अभ्यासलाई प्रभावकारी र विश्वसनीय बनाउन प्रत्येक परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षणस्थलमा सीसी क्यामेरा जडान गरिएको बताइएको छ । सरकारले एसईई परीक्षा सम्पन्न भएको १ महिनाभित्रमा रिजल्ट प्रकाशन गर्ने प्रतिवद्धता जनाइसकेको छ ।
सोही अनुसार झापाका प्रत्येक परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण कार्य चलिरहेको छ । यो वर्ष एसईई परीक्षाका लागि झापामा ५७ वटा परीक्षा केन्द्रबाट नियमित, ग्रेडबृद्धिसहित १७,६६३ जनाले एसईई परीक्षा दिइरहेका छन् । १७६६३ जनामध्ये १६३ वटा सामुदायिक र २४५ वटा संस्थागत विद्यालयसहित कुल ४०८ विद्यालयका विद्यार्थी परीक्षामा सामेल भएको जिल्लास्थित शिक्षा इकाई प्रमुख कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार ग्रेडबृद्धितर्फ २२६२ विद्यार्थी परीक्षामा सहभागी छन् भने बाँकी नियमिततर्फका हुन् ।
जसमा नियमिततर्फ ८९३२ छात्रा परीक्षामा सामेल छन् भने ८७३१ जना छात्र रहेका छन् । २०८२ को एसईई परीक्षामा छात्र भन्दा छात्रा २०१ जना बढी रहेको तथ्याङ्कले देखाएको छ ।
चैत २९ गते परीक्षा समापन हुँदैछ । यसबर्ष ५ लाख १२ हजार ४२१ जना एसईईमा विद्यार्थी सहभागी भएका छन् । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य सातजना परिक्षार्थी परीक्षामा सामेल भएका हुन् । यो वर्षको एसईईमा ११ हजार ३७९ विद्यालयका परिक्षार्थी सहभागी छन् । जापानको १ केन्द्रसहित १ हजार ९६६ परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन भइरहेका छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईईमा सहभागी छन् । सुरक्षित रुपले परीक्षा सम्पन्न गराउन प्रत्येक केन्द्रमा १५ जना सुरक्षाकर्मी, केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक/एक, २० जना परीक्षार्थी बराबर एक निरीक्षक खटाइएको छ । एकसय परिक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको छ ।
बिद्यार्थी जीवनको महत्वपूर्ण खुड्किलो मानिएको एसईई परीक्षाको उत्तरपुस्तिका जाँचका लागि जुन विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ– त्यही विद्यालयका केन्द्राध्यक्षलाई जनशक्ति परिचालन र व्यवस्थापनको जिम्मेवारी पनि दिइएको छ ।
परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने नयाँ अभ्यास कार्यान्वयनका लागि परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई बढी जिम्मेवार बनाउँदै त्यसका लागि अधिकार प्रत्यायोजन गरिएको पाइएको छ । विद्यार्थीले दिएको परीक्षाको कपी काट्ने क्रममा विश्वसनीयता र जवाफदेहिताका लागि सीसीटिभीको प्रत्यक्ष निगरानी रहने निर्देशनसंगै परीक्षा केन्द्र रहेका सबै विद्यालयमा त्यसको प्रबन्ध मिलाइएको झापामा परीक्षाका लागि खटिएका विभिन्न विद्यालयका केन्द्राध्यक्षहरुले बताएका छन् ।
केन्द्राध्यक्षहरुले कपी परीक्षणका लागि सकेसम्म सामुदायिक विद्यालयका शिक्षक तथा सामुदायिक विद्यालयका शिक्षक अभाव भएका ठाउँमा सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिलाई लिएर काम गर्दै गरेको एक केन्द्राध्यक्षले बताए ।
स्थानीय स्तरमा कुन शिक्षक कुन विषयमा दक्ष छन् भन्ने कुरा केन्द्राध्यक्षलाई बढी जानकारी हुने भएकाले उपयुक्त जनशक्ति परिचालन गर्न सहज हुने, केन्द्र र जिल्ला तहको प्रशासनिक बोझ, घट्नेमात्रै नभई महत्वपूर्ण पाटो रिजल्ट छिटो ल्याउनका लागि सहज हुन्छ ।
स्रोतका अनुसार यो वर्षको एसईई परीक्षामा जुन विद्यालयमा परीक्षा केन्द्र छ, त्यही विद्यालयका शिक्षकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी पनि दिइएको छ । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुँदा जनशक्ति व्यवस्थापनमा ठूलो समस्या नदेखिएको जानकारहरु बताउँछन् । ‘प्रायः अधिकांस विद्यालयमा सार्वजनिक बिदाका दिन पनि उत्तरपुस्तिका जाँच्ने काम भइरहेका छन् ।’ नाम उल्लेख नगर्ने शर्तमा शिक्षक महासंघको नेतृत्व गरिरहेका अर्का एक शिक्षकले भने, ‘सो कार्यमा सामुदायिक विद्यालयका शिक्षक नै बढी प्रयोग भइरहेका छन्, यो खुशीको कुरामात्रै होइन सामुदायिक विद्यालयको गुणस्तरको प्रश्न उठिरहँदा राज्यको विश्वास र दक्ष जनशक्ति त्यही छ भन्ने सन्देश पनि हो ।’ सामुदायिक र संस्थागत दुवै विद्यालयका परीक्षार्थीको उत्तरपुस्तिका सामुदायिक विद्यालयका शिक्षकले परीक्षण गर्नुले केही खास सन्देश दिएको देखिन्छ । जस्तै सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गरेका भएपनि परीक्षा र परीक्षणमा एकरुपता, विश्वास र दक्षता, अनुभव आदान–प्रदानले कक्षाकोठाको शिक्षण विधि सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
जुन विद्यालयमा परीक्षा केन्द्र छ, सो परीक्षा केन्द्रको केन्द्राध्यक्षले नै उत्तरपुस्तिका अर्थात कपी काट्नका लागि जनशक्ति परिचालन गर्न पाउनेछन् भने व्यवस्थापकीय जिम्मेवारी पनि केन्द्राध्यक्षलाई नै दिएको जिल्लास्थित शिक्षा इकाई समन्वय समितिका प्रमुख कुमार बस्नेतले बताए । बस्नेतले भने, ‘परीक्षा निर्देशिकाले बढी जिम्मेवारी केन्द्राध्यक्ष नै दिएको छ, उहाँले थपे, ‘जनशक्ति परिचालन र व्यवस्थापन पनि केन्द्राध्यक्षले नै गर्नुपर्छ ।’ उत्तरपुस्तिका परीक्षणका लागि सामुदायिक विद्यालयमा कार्यरत विषयसंग दक्षता भएका शिक्षक भए उनीहरुबाटै र नभए निजी विद्यालयबाट पनि सहयोग लिन सकिने छ । एकदिनमा एउटा विषयको मात्रै परीक्षा हुने र उत्तरपुस्तिकाको एउटा मात्रै पोको हुने भएकाले पनि जनशक्ति व्यवस्थापनमा समस्या नहुने बस्नेतको भनाई छ ।
परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकको भूमिका वस्तुनिष्ठ भयो कि भएन भन्ने प्रश्न अहम् छ । गोपनीयता रनिश्पक्षको कसीमा दरिन सक्यो भने अभ्यासले निरन्तरता पाउला । अन्यथा पहिलो अभ्यास अन्तिम नहोला भन्न सकिन्न । परिणामले खासगरी विद्यार्थी, अभिभावकप्रति जवाफदेही हुन सक्नुपर्छ ।

































































































