HomeFeatured 2तीज बिकृती होइन संस्कृती हो

तीज बिकृती होइन संस्कृती हो

कल्पना भट्टराई
तीज हिन्दू महिलाहरूको एक महान् पर्व हो । यो पर्व सनातन परम्परादेखि चल्दै आएको हो । यो पर्व सनातन हिन्दू महिलाहरूले खासगरी नेपाल भारत र नेपाली मुलका नागरिक रहेका विस्वका देशहरुमा पनि मनाउने गरेको पाइन्छ ।
हरेक बर्ष भाद्र शुक्लपक्ष तृतीया तिथिमा आउने यो पर्व सनातन हिन्दूहरू बसोबास रहेको विश्वभरी नै हर्षौल्लासका साथ मनाइन्छ । खासगरी तृतीया तिथिको नामबाट नै हरितालिका तीज भनिएको भन्ने श्रुति परम्परा पनि छ । यसलाई हरितालिका तीज पनि भन्ने गरिन्छ ।
तीजको परम्परा र मान्यताका बारेमा वैदिक सनातन हिन्दूशास्त्र र पुराणहरूमा विभिन्न किसिमका कथा, वर्णन र चर्चा गरिएका छन् । शास्त्रमा बताइए अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भइ उनले महादेव पति पाएको दिनलाई उत्सव मानेर तीज पर्वको शुरूवात भएको भन्ने विश्वास गरिन्छ ।
यही कथालाई आधार र विश्वास गर्दै महिला दिदी बहिनी हरू साउनको शुरूवातसँगै हरियो रङ्गका चुरा, मेहन्दी र पहिरन लगाउँछन् । हरियो रङ्ग वर्षायामको हरियालीको प्रतीक रुपमा लिइन्छ । हरियो रङ्गले उर्वरता, समृद्धि र नयाँ शुरूवातको प्रतिनिधित्व पनि गर्दछ । अहिले यो पर्व पौराणिक मान्यता र परम्परालाई मात्र आधार नमानी नारी शक्ति, समानता र अधिकार अनि प्रकृतिसँग पनि जोडिएको देखिन्छ ।
परम्परामा तीज एउटा महिला दिदी बहिनीहरुको विशेष पर्वका रूपमा मानिँदै आएको छ । समय, काल, परिस्थिति परिवर्तन हुँदै जाँदा मान्यता, परम्परा, संस्कृति, प्रचलन पनि केही परिवर्तन हुँदै गएका देखिन्छन् ।
तीजको परम्परा र इतिहासलाई केलाउँदा यसका मौलिकतामा पनि परिवर्तन हुँदै गएको देखिन्छ र यसमा केही विकृतिहरू भित्रिएका छन् । तीजको खास मौलिकता भनेको तीजको तीन दिनमा अविवाहित महिलाले राम्रो वा उपयुक्त वर पाउनको लागि भगवानसँग प्राथना गर्नु, विवाहित महिलाले आफ्ना पति र सन्ततिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नु, भगवानको भजनकीर्तन गर्नु, चोखो र शुद्ध भोजन ग्रहण गर्नु, माइतीघर जानु, मीठो मसिनो खानु, हरिया र राता कपडा लगाउनु, सामथ्र्य अनुसार गरगहनाबाट सिँगारिनु, घरमाइतीका सुखदुःख साटासाट गर्नु, भगवान वा नारी वेदनाका गीत गाई नाचगान गर्नु आदि नै मुख्य हुन् । माइती चेलीको सहृदयको भावलाइ अझ बलियो बनाउनु आत्मियता गाँस्नु नै हो ।
तीजको परम्परामा द्वितीयाका दिन माइतीघरमा सबै दिदीबहिनीहरू जम्मा भइ विभिन्न परिकार बनाइ खाने यस दिनलाई दरखाने दिन पनि भनिन्छ । मध्यरात अघि खाने र भोलिपल्ट पानी समेत नखाइ व्रत बस्ने गरिन्छ । हाम्रो परम्परा र प्रचलनमा दर भन्नाले दूध, चामल र घ्यू मिसाई पकाइएको खीरलाई विशेष महत्व दिएको पाइन्छ । दरसँगै तामाको तरकारी, करेला, काँक्रा आदिको अचार खाने गरिन्छ ।
यसैगरी भारतमा मालपुवा, घेवर, खीर, आलु टिक्की खाने प्रचलन रहेको पाइन्छ । तीजको दिन निराहार र निर्जल व्रत बसी स्थानिय विभिन्न मठमन्दिर गइ भगवान शिवको आराधना र पूजा गर्ने प्रचलन रहेको छ ।
तृतीयाका दिन नुहाइ–धुवाई गरी मन र शरीरलाई शुद्ध र सफा बनाइ भगवान् शिवको पूजा आराधनापछि भगवानका गुणगान गाइएका, आफूले जीवनमा भोगेका वेदना र पीडा लाई संङ्गिनी तथा गीत नाटकहरूद्धारा पोख्ने गरिन्छ ।
अन्य सामाजिक विषय वस्तुका गीतहरू गाएर महिला दिदी बहिनीहरू समूह बनाइ नाचगान गर्ने हाम्रो प्रचलन र परम्परा हो । तीजमा गाइने गीत पनि पौराणिक भजनकीर्तन हुँदै लोकगीत परम्पराबाट नै विस्तार हुँदै आएका हुन् । नारीहरू भगवानको उपासना गरी व्रत बस्ने, भगवानका गीतहरू गाउने, भजनकिर्तन गर्ने परम्पराबाट यी तीज गीतहरू विकसित भएका देखिन्छन् ।
तीज गीतमा विस्तारै लोक र समाजका विविध पक्षहरू झल्किन थाल्दछन् । समाजको सामाजिक, आर्थिक, राजनैतिक परिवर्तन हुँदै जाँदा गीतको विषयवस्तुमा पनि परिवर्तन हुँदै गएको पाइन्छ  ।
समयको गतिसँगै मानवीय सङ्कट र संवेदनाहरू स्वभाविक रूपमा फरकफरक हुँदै गएका हुन । सामाजिक संरचनामा समाजको बनावट, भूगोल, जातजाति, वर्ग, पेशा, लिङ्ग आदिको प्रभाव स्वभाविक रूपमा देखिँदै जान्छन् । यसले व्यक्तिगत र सामाजिक जीवनमा प्रभाव पार्दछ । ती भावनाहरू तीजका गीतहरुमा प्रतिबिम्बित हुँदै गएका छन् ।
तीजका चार दिनमध्ये तेस्रो दिन माइतीघर र घर छिमेकमा भेटघाट गर्ने, रमाइलो गर्ने, विभिन्न परिकार बनाउने र खाने गरिन्छ भने चौथो दिन पञ्चमी तिथिका दिन पुराणमा बताइए अनुसार तालतलैया, खोलानदीमा गएर गाईको गोबर, माटो र खरानी लगाएर स्नान गरी ३६५ ओटा दत्तिवनले दाँत माझ्ने, सप्तर्षिको पूजा गर्ने प्रचलन रहेको छ । यस्तो किसिमको गंगास्नान र दत्तिवन प्रयोग गर्नाले रजस्वला भएका बेला थाहा नभइ छाईछुई भएको भए पाप नष्ट हुने विश्वास गरिन्छ ।
हाम्रा ऋषि भनेका मानव पूर्खा हुन् । ऋषि पञ्चमीमा सात ऋषिको पूजा गरिन्छ । विष्णु पुराणमा बताइए अनुसार वशिष्ठ, कस्यप, अत्रि, जमदग्नी, गौतम, विश्वामित्र, भारद्वाज सप्तऋषि हुन् र ऋषि पञ्चमीको दिन यी सात ऋषिसहित देवी अरून्धतीको पनि विधान अनुसार पूजा गर्ने मान्यता रहदै आएको पाइन्छ  ।
ऋषिपञ्चमी व्रत भनेको महिला दिदी बहिनीहरू रजस्वला हुँदा कहिँ कतै नबारिएको रहेछ भने त्यसको प्रायश्चित्तका लागि गरिने व्रत हो भन्ने पनि गरिन्छ। पञ्चमीको दिन सप्तऋषिको पूजा गरिसकेपछि यथा संभव आफैं उम्रिएको अन्न, फलफूल, कन्दमूल, सामा, कागुनो खानुपर्छ भन्ने मान्यता छ ।
यसरी भाद्र शुक्ल तृतीयादेखि पञ्चमीसम्म विभिन्न कार्यहरू गरी मनोरञ्जनका साथ तीज पर्व मनाइन्छ । तीजको पौराणिक वा सामाजिक मान्यता वा परम्परालाई अहिलेको आधुनिक आँखाले हेर्दा केही कुराहरू अपत्यारिला हुनु स्वभाविक हो , वर्तमान समयमा भौतिकवादी विचारहरु हावी हुदाँ अध्यात्मिक आदि दैविक शक्तिको कुरा कम हुनु स्वभाविक हो ।
समयको माग र गतिसँगै कतिपय संस्कार र मान्यताहरू छोडिँदै गएका छन् भने कतिपय नयाँ मान्यताहरू स्थापित भएका पनि छन् । अहिलेको तीज पर्वमा पनि परम्परागत भन्दा केही नयाँ मान्यताहरू थपिदैं गएका छन् भने केही विकृतिहरू भित्रिएका देखिन्छन।
पहिले चार दिनको महिलाको तीज अहिले एक÷दुई महिना लामो बनेको छ । असार लाग्दा नलाग्दै तीज गीत भनिएका गीतहरू सामाजिक संजाल र मिडियामा बज्न थाल्छन् ।
एक ÷ दुई महिना देखिको लामो तीजले गर्दा खर्च असाध्यै बढेको पाइन्छ । नेपाली लोक र मौलिक परम्पराका गीतहरू भन्दा असान्दर्भिक, दोहोरी र झ्याउरे गीतहरू गाएको पाइन्छ । तीज गीत भनिएका गीतमा विषयवस्तु, शब्द चयन, भाका, स्वर, प्रस्तुति, सङ्गीत र सन्देश नै तीज गीतसँग मिल्दैन।
तीज गीतको मौलिकता र विशेषता नै हराउँदै गएको भान हुन थालेको देखिन्छ । तीज गीतमा प्रायः दाजु भाइका गीतहरू हाबी हुँदै गएका छन् । तीज दिदी बहिनिको पर्व हो । अहिलेका तीज गीत दाजु भाइका धेरै छन् । त्यो पनि दोहोरी भाकामा । जुन गीतमा नारीको संवेदनशिलताको भाव पाइदैन ।
हेर्दाहेर्दै तीजका मर्म बोकेका मौलिक गीतहरू लोप हुँदै गएका छन । जस्तोसुकै भाका र विषयका दोहोरी गीतलाई तीज गीत भनिएको छ । तीज गीतमा त महिलादिदी बहिनिका सुख दुःखका कथा ,ब्यथा, वेदना, पीडा, आक्रोश, माग हुनुपर्छ । व्यवसायिक गीतले तीजको मौलिकताको संरक्षण हुन सक्दैन ।
कतिपय ठाउँमा नारीका गीत र नाचहरू पनि मौलिकताभन्दा अश्लील, भद्दा र छाडा देख्दा आंफै सर्मिन्दा बन्नु बाहेक केही छैन भोलिको पुस्ताले हामी बाट के सिक्ने त्यो महत्वपुर्ण रहयो । हिजो जे गरियो आज त्यही गर्नु पर्छ भन्ने होइन तर विकृती त भित्र्याउनु भएन भन्न खोजेको हो। समयसापेक्ष परिवर्तन गरिनुपर्छ तर संस्कृती परम्परालाई ध्वस्त बनाएर होइन । यसलाइ सुधार्न जरुरी छ ।
कतिपय संस्कार र संस्कृति स्वभाविक आफैँ परिवर्तन हुँदै पनि जान्छन् । अहिलेको आधुनिक नारीवादी आँखाले हेर्दा पनि तीजमा नारीको गीत गाउने अधिकारलाई पनि बन्चित गरिदै गएको देखिन्छ । तीज पर्वलाई नारीहरूले संघर्ष गरी सफलता प्राप्त गरेको विशेष दिनको रूपमा र अधिकार प्राप्तिको लागि विचार, वेदना र विद्रोहका स्वरहरू अभिव्यक्त गर्ने पर्वकै रूपमा पनि स्थापित गरी मौलिकताको समेत संरक्षण हुने गरी मनाउने पर्व आज हाँस्यपद बन्दै गएको छ।
अहिलेको दर खाने परम्परा र पहिरन अत्यन्तै विकृत बनेको देख्दा मन खिन्न हुन्छ । जनै पूर्णिमा नसकिंर्दैदेखि तीजको रौनक शुरु हुन्छ । सार्वजनिकस्थल पार्टी प्यालेस र होटेलमा महिलाहरूको विभिन्न समूहको नाममा अत्यधिक खर्च गर्ने प्रचलन बढेको छ । महिला – महिला विचमा नै फरक मत देखिनुले मौलिक संस्कृती कसरी संरक्षण होला चिन्ताको विषय बनेको छ । पुरै शरीर ढाक्ने बस्त्र लगाउने संस्कृतिलाई चुनौति दिंदै अंग प्रदर्शन हुन थालेका छन् । यो नै आजको तीज संस्कार बन्लाकी भन्ने चिन्ताको विषय बनेको छ । वर्तमानमा हाम्रा धर्म संस्कृति अतिक्रमणको प्रभावमा परिरहेको महशुस भएको छ ।
हाम्रो जस्तो मुलुकमा पश्चिमी सभ्यताको देखावटी र भड्किलो खर्च गर्दा समाज उन्नतितिर होइन, अवन्नतितिर जाँदैछ र हाम्रा पहिचान र मान्यताहरू समाप्त हुँदै छ्न ।
एकदिनको दर खाने चलन अहिले लामो समयसम्म चल्नु दुःखद हो । यसले व्यक्तिको अनाहकमा खर्च बढ्छ भने समयको समेत बर्बाद गर्छ । कुनै पनि समाज वा राष्ट्रका लागि धर्म, पर्व, संस्कृति, परम्परा, पहिरन, भाषा भनेका मौलिक सम्पत्ति र पहिचान हुन् ।
तिनलाई बिगार्न र भत्काउन खोजियो भने सामाजिक अराजकता निम्तिन्छ र सिङ्गो देशको अस्तित्व, पहिचान र समाप्त हुनसक्छ । कुनै पर्व वा संस्कारका राम्रा पक्षलाई ग्रहण गरी नराम्रा पक्षलाई त्याग्नुपर्छ र आफ्नो मौलिकतालाई संरक्षण गर्नु हाम्रो दायित्व हो ।
अहिले चलिआएको यही तीजको विकृतिलाई नै तीज भनेर मान्दै जाने हो भने भोलि हाम्रो तीज पर्व नै बाँच्न सक्दैन । सामाजिक संस्कृति, विश्वास, आस्था र मूल्यमान्यता भनेका समाजलाई बाँध्ने वा अनुशासनमा राख्ने कुराहरू पनि हुन् सबै सरोकारवालाले बुझ्न जरुरी छ जसो पायो तेसो गर्नु देखा सेखी गर्नु हुदैन ।
जब कुनै पनि पर्व वा संस्कार संस्कृतिको मूल्यमान्यता र आस्थामा विचलन आउँदछ अनि समाज अराजकतातिर जान सक्छ । चाडपर्व भनेका सामाजिक एकता, सद्भाव र अनुशासनका प्रतीक हुन् ।
भाइटीका सोही दिन मनाइन्छ, बुबाको मुख कुशे औंशीमा मनाइन्छ, जनै, जनै पुर्णिमामा लगाइन्छ, सिरुवा लोल्सार छैट आदि पर्व सोही तिथिमितिमा मनाइन्छ अनि तिज किन महिनौ सम्म त ? यो विकृती हो, हामीले चन्दा उठाएर मागेर दरखाने होइन बरु गरिव गुरुवा एक छाक मीठो नखाने नसक्ने दिदी बहिनीलाई सहयोग गर्ने खुवाउने हो त्यो पनि दर खाने दिन । हाम्रा माइतीले बोलाएर खाने रमाउने पर्व माइती चेलिको सहृदयताको भाव जोड्ने पर्व हो ।
धार्मिक, सांस्कृतिक, सामाजिक अनुशासन नमान्दा वा कसैको प्रभावमा पर्दा राष्ट्रमाथि नै विभिन्न किसिमका हस्तक्षेप र आक्रमण हुन सक्छन् । यसले सामाजिक र सांस्कृतिक विचलन हुँदै अराजकता निम्त्याउँछ अनि हाम्रो अस्थित्व नै समाप्त पार्न सक्छ बेला छँदै सजग हुन जरुरी छ ।
यसैले हामी कुनै पर्व मान्ने नाममा परम्पराभन्दा भिन्न नयाँ पर्व मान्नु हुँदैन । यसले हाम्रा पर्व लोप हुन सक्छन् । तीजको पर्वमा देखिएको विकृतिका बारेमा आलोचना र खण्डन गर्दा कतिपयले पितृसत्तावादी सोचबाट प्रभावित भएको भनेर आरोप लाग्न पनि सक्छ तर त्यो होइन ।
यसलाई सामाजिक, धार्मिक र सांस्कृतिक आँखाले हेर्नुपर्छ सामाजिक विकृतिको रुप निम्त्याउँनु हुँदैन । हाम्रा मौलिक पर्वलाइ गलत तरिका अपनाउदै जाने हो भने संस्कारको अस्तित्व मेटिन्छ त्यसकारण गलतै हो भन्न सक्नुपर्छ ।
सामाजिक मर्यादा विपरीत गरिएका हरेक क्रियाकलापको आलोचना, खण्डन र विरोध गर्नुपर्छ । यसैले हाम्रो धर्म र संस्कार अनुसार चलिआएका हरेक पर्वलाई त्यही पर्वका रूपमा मान्नुपर्छ ।
अबदेखि तीजलाई तीजकै रूपमा संरक्षण गरी मनाउँ। अन्त्यमा सम्पूर्ण महिला दिदी बहिनीहरूमा हरितालिका तीजको शुभकामना ।
जय चेतना साहित्य समाज , जय हरितालिका तिज ।ॐ ॐ ॐ

spot_img
spot_img
spot_img

1 COMMENT

  1. अति सान्दर्भिक यथार्थ सबैले पढ्नै पर्ने लेख ।
    लेखक कल्पना भट्टराई ज्यु र लेख प्रकाशित गर्नु हुने पत्रीका सम्पादक प्रतिहार्दिक आभार सहित धन्यवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2तीज बिकृती होइन संस्कृती हो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img