दमक १६ जेठ । झापाको दमक नगरपालिका १० स्थित सेतुमारी पुलमुनि बोराभित्र प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार अन्दाजी ३०÷३१ वर्ष उमेरकी देखिने ती महिलाको शव शनिबार फेला परेको हो । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।
हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, उनको हातमा रहेको विशिष्ट ट्याटु पहिचानको महत्वपूर्ण आधार बन्न सक्ने अनुमान गरिएको छ । सोही ट्याटुका आधारमा मृतकको परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार शव फेला परेको अवस्था शंकास्पद रहेकाले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको छ । मृतक महिलाको पहिचान तथा घटनासम्बन्धी कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय दमकमा सम्पर्क गर्न प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ ।
प्रहरीले ट्याटुको तस्बिर सार्वजनिक गर्दै मृतकको परिचय खुलाउन सहयोग गरिदिन आग्रह गरेको छ ।
बोरामा भेटिएको शबको ट्याटुबाट पहिचान खोज्दै प्रहरी

































































































