
मानव जीवनको आखिरी आयाम चतुर्थ आश्रम (सन्यास आश्रम) हो । जीवन संचालनमा सहजताको लागि श्री नारायणले मानव समाजका व्याक्तिहरुको आयु अनुसार चार भागमा विभाजन गरे र संज्ञा पनि यस प्रकार दिए – १ ब्रह्मचर्य २ गृहस्थ ३ वानप्रस्थ र ४ सन्यास । कलियुगको सरदर सय वर्ष आयुमा सबै आश्रमको लागि २५/२५ वर्ष अंकित गरियो । त्यसमा तेस्रो वानप्रस्थ भने कलियुगमा निषेधित गरिएको छ । जस अनुसार लगभग पच्चीस वर्ष ब्रह्मचर्य आश्रम । यो उमेरको २५/२६ वर्षसम्म ब्रह्मचर्यमा रहने, विद्या आर्जन गर्ने, संस्कार सिक्ने, सिकाउने, अनुशासनपूर्वक गुरुकूलमा निवास गरी गुरुको सेवा गर्ने । त्यसपछि लगभग २६/२७ वर्ष उमेरदेखि पुगनपुग पचपन्न छपन्न वर्ष उमेरसम्म गृहस्थी भई गृहस्थ आश्रमको उन्नती र विकास गर्ने । यस भित्र विवाह गर्ने, सन्तान उत्पत्ति गर्ने, खेतीपाती गर्ने, पशुपालन, नोकरी, उद्योग धन्दा , बन्द–ब्यापार, ठेक्कापट्टा आदि क्रियाकलाप गर्ने बताइएको छ ः–
त्यसपछि ‘जब पुग्यो साठ्ठी अनि टेक्यो लठ्ठी’ आहान अनुसार व्यवहार छोड्नु पर्छ । गृहस्थ आश्रमको मोहलाई चट्ट छोडेर सन्यास आश्रमको लागि तयारी गर्नुपर्ने हुन्छ । शास्त्रमा भनिएको छ :–
‘न सुखं देवराजस्य न सुखं चक्र पाणिन : …
यादृशं वीतरागस्य मुनेरेकान्तवासिन :…
अर्थ (वीतराग (छोडि सकेको छ राग जस्ले यस्तो) र एकान्तवासी मुनि (सन्यासी) लाई जुन सुख आनन्द प्राप्त हुन्छ त्यो सुख आनन्द देवराज इन्द्र तथा चक्रपाणि श्री विष्णुलाई पनि मिल्न सक्तैन ।
यस शास्त्रीय कथनबाट के कुरा अवगत हुन्छ भने नित्य सुख र आनन्द प्राप्त गर्नुछ भने सबै सांसारिक पदार्थबाट विरक्त भएर सन्यास आश्रम ग्रहण गर्नु आवश्यक छ । यसरी नै सन्यास आश्रम ग्रहणको विशेष महत्व र उपादेयता पनि शास्त्रमा बताइएको छ ।
‘त्रिशंत् परां त्रिंशत्परां त्रिंशच्च परतः परान् ।
सद्य : संन्यसनादेब नरकात्तरयोत्पितृन् ’ …
अर्थ – समाजको कुनै व्यक्तिले सन्यास लिएपछि तुरुन्तै उसका आफ्ना पञ्चत्वमा गएर नरकपरेका (वितिसकेंका) र पञ्चत्वमा गएर नरक पर्ने (अगाडिका) क्रमश : तीस त्यसपछि अगाडिका र पछाडिका तीस र त्यसबाट पनि अगाडिका र पछाडिका तीस पिंढीका अर्थात् अगाडि र पछाडिका ९०/९० पिंढीका पितृहरु तर्छन् अर्थात् उद्दार हुन्छन् । एकातिर शास्त्रले यसो भनिरहँदा अर्कातिर कस्ता व्याक्तिले सन्यास लिन पाउँछ र कस्ता व्याक्तिले पाउँदैन ? किटानी साथ तोकिएको छ । जस्तै :–
‘कामी– क्रोधी, मत्सरी, दम्भयुक्तो, लोभी मोही मायया चैवयुक्त : .
सङ्गी भोगी रागवान्नित्य रोगी सन्यासेवै नाधिकारी कदाचित्’ …
अर्थ :– जो व्यक्ति कामुक, क्रोधी, इष्र्यालु, दम्भी, मोहमायाले युक्त, पतितको संगत् गर्ने, सांसारिक बस्तुको भोगमा लम्पट, सबैसँग स्नेह (राग गर्ने) असाध्यरोगी छ–त्यस्तो व्यक्ति सन्यास आश्रमको दीक्षा लिने अधिकारी हुन सक्तैन ।
उपर्युक्त शास्त्रीय विचारबाट के बुझिन्छ भने जो व्याक्ति शुद्ध बुद्ध, शान्त, सुशिल, सबै भूत प्राणिमा समान दृष्टिले हेर्ने, कामक्रोध आदि षङ्अरि रहित छ – त्यस्ता व्यक्तिले मात्र सन्यास आश्रम ग्रहण गर्न सक्छ । जसतसले सन्यास लिन सक्दैन ।
यसरी चार आश्रम मध्येका धेरै महत्व बोकेका दुई आश्रम हुन् गृहस्थ आश्रम र सन्यास आश्रम समाजको जीवनस्तर उठाएर कायापलट गराउने क्षमता राखेको हुन्छ गृहस्थ आश्रमले भने इहलोकमा अन्तिमसम्म सुख आनन्द दिलाउने र परलोकमा कहिल्यै जन्मनु मर्नु नपर्ने गरी मोक्ष दिलाउने क्षमता राखेको हुन्छ । सन्यास आश्रम त्यसैले नित्य सुख आनन्द र अन्त्यमा मोक्ष चाहने हर कोहिले सन्यास आश्रममा संलग्न रहन त्यतिकै महत्व र अनिवार्यता हुन आउँछ ।
‘सम्यङ् न्यस्यन्ति दुःखानि कर्माणि येन स: सन्यास, स प्रसस्तो विद्यले यस्य स : सन्यासी’ अर्थ– ब्रह्म र उसको आज्ञामा रहेर दुष्ट कर्मलाई त्याग्नु सन्यास हो र त्यो उत्तम स्वभाव भएको सन्यासी भनिन्छ अर्थात् राम्रो कर्म गर्ने र दुष्ट कर्मको विनास गर्ने व्याक्तिलाई सन्यासी भनिन्छ ।
सन्यास आश्रम र सन्यासीको आध्यात्मिक परिभाषा यस्तो भएता पनि जन समाज भने यसप्रति उदासिन देखिन्छ । पहिलो ब्रह्मचर्य आश्रम ग्रहण गरेका व्याक्तिलाई किन ब्रह्मचारी भयौँ ? किन विद्या आर्जन गर्यौ ? वा किन गुरु सेवा गर्र्यौ ? यस्ता प्रश्न गर्दैन जन समाज । दोश्रो गृहस्थ आश्रममा पनि यही नियम लागु हुन्छ कसैले उसप्रति प्रश्न तेस्र्याउँदैन कि किन विवाह गर्यौ ? किन सन्तान जन्मायौ ? किन खेतीपाती गर्यौ ? आदि इत्यादी
तर, चौँथो आश्रम (सन्यास) ग्रहण गरेको व्यक्ति देख्यो कि जनसमाजका व्यक्तिको मथिङ्गल घुम्न थाल्दछ । नाना किसीमका तर्क विर्तक उसका मनमा उठ्न थाल्छन् । ‘यसको विवाह भएन कि, अथवा विवाह भए पनि श्रीमती सँग मिल्न सकेन कि, छोरा छैन् कि, वा छोरा भएर छोरा बुहारीसँग मिल्न सकिएन कि आदि आदि । अनि आम्ने–साम्ने भएपछि यिनै प्रश्नको ओइरो ओइरिन थाल्दछन् सन्यासी माथि । सन्यास भन्ने वित्तिकै किन यसरी टाउको दुखेको होला जन समाजको ? ए बाबा ! अरु आश्रम जस्तै यो चौथो आश्रम पनि त उतिकै महत्वपूर्ण र अनिवार्य छ नि । चक्षु– श्रोत्र– पाणि– पाद– पाय’– उपस्थ जस्ता वाह््य स्थूलभूत तथा आन्तरिक अग्नि र कतिपय प्राणशक्ति जस्ता सूक्षभूत इन्द्रिय र तत्वहरुले इसारा गरिसके “अब हामीहरुलाई नचलाऊ हामीहरुले सन्यास लिइसक्यौ” ।
यसरी आफूसंग संलग्न इन्द्रिय र विभिन्न तत्वहरुले आ–आफ्नो गतिविधि बिसाई सकेको अर्थात् सन्यास लिइ सकेको दृष्टिगत भइसक्दा पनि मख्खी जस्तो चञ्चल मनलाई मन लागि छाडा छोडेर चौथो आश्रम अर्थात् सन्यास आश्रम ग्रहण गर्न सकिदैन, कठिन हुन्छ भन्दै नालायक, हिम्मतहारा कुबिचार लिएर आफ्ना पिंढी दरपिंढीका पित्रीहरुलाई नरकमा डुवाई राख्न र आफू पनि शास्त्रले बताए बमोजिम चार आश्रमको धार्मिक अनुशानमा नरही दुः खरुपी नरकमा हाम फाल्न तयार हुनु ठूलै बिडम्बना हैन र ?
कोटीहोम झापा

































































































