Homeसमाचारसमाचारपाँच रुपैयाँ जम्मा गर्न डराएकी मेनुका कुखुरा व्यवसायमा

पाँच रुपैयाँ जम्मा गर्न डराएकी मेनुका कुखुरा व्यवसायमा

रेजिना गौतम

विर्तामोड । विर्तामोड–२ का मेनुका खनाल मासिक पाँच रुपैयाँ बचत गर्नुपर्छ भनेपछि समूहमा आवद्ध भइनन् । समूहमा बसेपछि नियम मान्नुपर्ने अनि मान्न नसके अलग हुनुपर्ने अवस्था आउला कि ! भन्ने डरले सुरु–सुरुमा आवद्ध हुन नमानेकी उनी अहिले त्यहि समूहमा आवद्ध भएर आर्थिक कारोवार गर्दै आएकी छन् । मेनुकाले भनिन् जम्मा गर्ने पैसा कहाँबाट ल्याउनु भन्ने डर लाग्यो, मिसले तरकारी किन्न जाँदा एक÷एक रुपैयाँ बचाए पुग्छ, त्यसले पछि ठूलो काम गर्छ भनेर पढाउँदा–पढाउँदा गरेपछि उहाँकै करले आवद्ध भएँ ।’
मासिक पाँच रुपैयाँ बचत गर्नका डरले निकै लामो ‘काउन्सिलिङ’पछि मात्र समूहमा आवद्ध भएकी मेनुका अहिले दुईसय रुपैयाँ बचत गर्दै आएकी छन् । समूहबाट प्राप्त रकमलाई उत्पादन मुलक कार्यमा लगाएपछि दैनिकीमा सहज हुनुका साथै आवश्यक परेका बेला रकम पनि चलाउन पाएपछि उत्साह बढेको मेनुकाले बताइन् । अति विपन्न समुदायलाई लक्षित गरी सुरु गरिएको गरीबसंग विश्वेश्वर कार्यक्रम अन्तरगतको समूहमा आवद्ध मेनुकाको दैनिकी धान्ने र सन्ततीलाई शिक्षा दिने आधार भएको छ । छोराछोरी पढाउँदै छु, घर पनि बनियो, सबै त्यहीबाट त के पुग्थ्यो अन्य काम गरेर थपथाप गरियो । तर, बाटो त्यसैले देखायो, आज पनि समूहमा छु उनले थपिन्–अहिले दुईसय बचत गर्न समस्या छैन । समुहबाट पाएको रकमबाट अहिले उनी कुखुरा व्यवसायी बनेकी छन् ।
१२ वर्ष अघि गरिबसंग विश्वेश्वर कार्यक्रमको संगठित समूहबाट बीऊ पूँजीका रुपमा चारहजार रुपैयाँ पाउँदा पद्मा तिम्सिनाको खुशीको सीमा रहेन । त्यस अघि कहिले पनि चारहजार रुपैयाँ नसमाएकी उनलाई उक्त रकम जीवनको ‘टर्निङ पोइन्ट’ नै भएको अनुभव गरिन् । उनले भनिन्–‘पहिलो पटक त्यति ठूलो रकम हातमा पर्दा सबै दुःख हटे झैं लाग्यो ।’
गाई पाल्ने, दुध बेच्ने सोच राखेर हातमा परेको चारहजारले किनेको गाईको बाछीले चारवर्षसम्म पनि उत्पादन दिन नसकेपछि पद्माको खुशीमा निराशा छायो । गाईको बाछो बेचिन र बाख्राको पाठो किनिन् । उनले भनिन्,–‘नहुने मान्छेले गर्दा हुँदैन नै जस्तो लाग्यो, चारहजारमा किनेको बाछी चार वर्ष पालेर चारै हजारमा बेचें र २५ सयमा बाख्राको पाठो किने, बाँकी छोराछोरीलाई भात खुवाएँ, खाने नै केही थिएन, आखिर यसै बिग्रे उसै बिग्रे भन्ने लाग्यो, आजसम्म कसैलाई भनेकी थिइन तर मिसकै अगाडि भने ।’
बाख्राले भने पद्मालाई केही राहत दियो । किनेको केही समयमै ब्याएको बाख्राबाट आम्दानी हुँदै गर्दा संगठित समूहले नै बाख्रा दिने भएपछि आफूसंग भएका बाख्रा बेचिन र व्यवसायिक रुपमा कुखुरा पाल्न थालिन् । अहिले उनी बाख्रा र कुखुरा दुवैबाट भएको आम्दानीले दुई छोराछोरीलाई बोडिङ पढाउँदै छन् भने बस्ने घरको छानो फेरिएको छ । बाँसको खाँवा र खरको छानो थियो अहिले कैंची बटम गरेर टिनको छानो छ, छोराछोरी बोर्डिङ बढ्दै छन् । अरु के थियो र ? सबै त्यसैबाट हो ।’
गाईको बाछो थारिएपछि चारहजार कसरी तिर्ने भन्ने चिन्तामा परेकी पद्माको आम्दानी बढ्दै गएसंगै कार्यक्रम मार्फत नै पाएको ५० हजार बीऊ पूँजी पनि कुखुरामै लगानी गरिन् । त्यो बेला पनि ५० हजार कसरी तिर्ने भन्ने चिन्तामा परेकी उनको अहिले ऋण खाने क्षमतामा पनि बृद्धि भएको छ । उनी भन्छिन्,–‘५० हजार ऋण लिन डराउथे तर अब पाँचलाख सम्म ऋण दियो भने खान र तिर्न सक्छु, व्यवसाय बढाउँछु । पद्मा १२ वर्ष अघि गरिबसंग विश्वेश्वर कार्यक्रमकोे समूहमा आवद्ध भएकी हुन् ।
अर्काको अधियाँ खेति र मजदुरी गरेर १२ जनाको परिवार धान्दै आएका साविक जलथल–९ का ओकिल सोरेनलाई यतिबेला दैनिकी चलाउन सहज भएको छ । पाँच वर्ष अघि गरिबसंग विश्वेश्वर कार्यक्रममा आवद्ध भएसंगै उनको दैनिकीमा सहजता आएको हो । कार्यक्रममा आवद्ध भएसंगै बाख्रा पैंचो पाएका उनले बाख्रापछि सुँगुर पैंचोका रुपमा पाए, त्यही बढाएर जिवीकोपार्जन तथा सन्ततीको पढाइमा खर्च गरे । त्यसमा बीऊ पूँजी पनि सहयोगी बन्यो ।
२०५७ सालदेखि गरिवसंग विश्वेश्वर कार्यक्रममा आवद्ध विष्णुमाया तामाङले आफ्नो दैनिकीको आधार नै त्यही भएको बताइन । श्रीमान र दृष्टिविहिन छोरा–बुहारीसहित ४ जनाको परिवार बाख्राकै आम्दानी र समूह बचतबाट नै चलिरहेको उनको भनाइ छ । सोरेन र तामाङ दुवैले बीउ पूँजी बृद्धिको माग गरेका छन् ।
गरिवसंग विश्वेश्वर कार्यक्रमलाई आधार बनाएर जीवनस्तर बदल्ने यी प्रतिनिधि पात्र मात्र हुन् ।
साविक चारपानेमा १२ वटा समूहमा १३५ घरका १३९ जना आवद्ध छन् । कार्यक्रममार्फत प्राप्त रकम परिचालन गर्ने क्रममा जोडकोष, आन्तरिक कोष र बीऊँ पूँजीसहित तीनवटा कोष परिचालन गर्दै आएको संगठित समूहको गत आर्थिक वर्षमा १८ लाख बढीको कारोबार भएको गरिबसंग विश्वेश्र कार्यक्रमकी सहजकर्ता अस्मिता अर्यालले जानकारी दिइन् । सुरुमा खासै महत्व नदिएको संगठित समूह चारपानेको नेतृत्वका लागि गतवर्ष अधिवेशन नै भएको बताउँदै अर्यालले भनिन्,‘रकम बढ्दै गएपछि नेतृत्व लिन पनि घम्साघम्सी हुने गरेको छ ।’
अति विपन्न समुदायको आय–आर्जनमा सुधार ल्याउने उद्देष्यले अढाई दशक यता सञ्चालित गरिबसंग विश्वेश्वर कार्यक्रम झापाका साविकका १२ वटा गाविसमा सञ्चालित छ । ती गाविसमा कार्यक्रम कार्यक्रमका लागि आर्थिक वर्ष २०७५/०७६ का लागि २४ लाख बजेट आएको कार्यक्रम संयोजक प्रकाश उप्रेतीले बताए ।
झापाका जलथल, बालुबारी, चकचकी, दुवागढी, ज्यामिरगढी, शान्तिनगर, सतासी, पाँचगाछी, गौरादह, जुरोपानी, गरामनी र चारपानेमा २०५७ सालदेखि सामाजिक परिचालकमार्फत कार्यक्रम सञ्चालन हुँदै आएको छ । अति विपन्न समुदायमा परिचालित उक्त कार्यक्रममार्फत ५ प्रतिशत ब्याजमा दिइने बिऊ पूँजी बुझाएपछि ब्याज फिर्ता गर्ने गरेको संयोजक उप्रेतीले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारपाँच रुपैयाँ जम्मा गर्न डराएकी मेनुका कुखुरा व्यवसायमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img