नेपालको राजनीति आज एउटा चुनौतिपूर्ण मोडमा उभिएको छ। एकातिर नयाँ सरकार बनेको छ, जसले संसदमा बलियो समर्थन प्राप्त गरेको छ। अर्कोतिर, केही नयाँ अनुहार र युवा नेतृत्वले परिवर्तनको आशा जगाउने प्रयास गरिरहेका छन्। यसअघि पनि विभिन्न सरकारहरू आए, गए, धेरै राम्रा काम गरे, केही कमजोरी पनि रहे। तर आजको सबैभन्दा ठूलो प्रश्न सरकार, दल वा नेताको मात्र होइन, प्रश्न नागरिक चेतनाको हो।
हामीले प्रायः देख्ने एउटा प्रवृत्ति छ, ‘आफ्नो पक्षको नेता वा दलले जे गरे पनि सही देख्ने, र आफूलाई मन नपर्ने पक्षले जे गरे पनि गलत देख्ने। यो प्रवृत्ति लोकतन्त्रका लागि सबैभन्दा खतरनाक रोग हो। किनकि लोकतन्त्रको शक्ति नेतामा भन्दा बढी नागरिकको विवेकमा निर्भर हुन्छ। समर्थन र विरोधको बीचमा हराउँदै गएको विवेक कुनै व्यक्ति, दल वा विचारधाराप्रति आकर्षण हुनु स्वाभाविक पनि हो। हरेक नागरिकको आफ्नो राजनीतिक दृष्टिकोण हुन्छ। तर, समस्या त्यतिबेला सुरु हुन्छ जब त्यो दृष्टिकोण अन्धभक्तिमा बदलिन्छ। यदि आफूले समर्थन गरेको दल वा व्यक्तिले राम्रो काम गरिरहेको छैन भने पनि उसको बचाउ मात्र गर्ने, र आफूले मन नपराएको दल वा व्यक्तिले राम्रो काम गरिरहेको छ भने पनि त्यसलाई स्वीकार गर्न नसक्ने प्रवृत्ति बढ्दै गयो भने समाज सत्य तथ्यले भन्दा भावनाले चल्न थाल्छ । कतिपय मानिसहरू पुरानो सरकारको कुनै उपलब्धि स्वीकार्न तयार हुँदैनन्। उनीहरूलाई लाग्छ, ‘हाम्रा विपक्षीले राम्रो काम गर्नै सक्दैनन्।’ अर्कोतिर, केही मानिसहरू नयाँ नेतृत्वले काम सुरु गर्न नपाउँदै असफलताको घोषणा गरिदिन्छन्। उनीहरूलाई लाग्छ, ‘यीबाट केही हुनेवाला छैन।’
यी दुवै दृष्टिकोण मेरो बिचारमा गलत छन्। किनकि मूल्याङ्कन तथ्यका आधारमा हुनुपर्छ पूर्वाग्रहका आधारमा होइन। लोकतन्त्रमा आलोचना पनि आवश्यक छ, प्रशंसा पनि। कुनै पनि सरकार पूर्ण रूपमा राम्रो वा पूर्ण रूपमा खराब हुँदैन। हरेक शासनकालमा सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन्।यदि कुनै सरकारले सडक बनायो भने त्यसको प्रशंसा गर्नुपर्छ। यदि त्यही सरकारले भ्रष्टाचार रोक्न सकेन भने त्यसको आलोचना गर्नुपर्छ। यही नै लोकतान्त्रिक चेतना हो।
तर हाम्रो समाजमा धेरैजसो मानिसहरू दुई समूहमा विभाजित देखिन्छन्। पहिलो समूहले आफ्ना नेताको गल्ती देख्नै चाहँदैन। दोस्रो समूहले विपक्षीको राम्रो काम स्वीकार्नै चाहँदैन।यस्तो अवस्थामा सत्य बीचमै हराउछ।असल नागरिक भनेको न त अन्धसमर्थक हो, न त अन्धविरोधी। असल नागरिक त्यो हो जसले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने साहस राख्छ।
नयाँलाई अवसर, पुरानोलाई न्याय नयाँ नेतृत्व आएपछि उसलाई काम गर्ने अवसर दिनु लोकतान्त्रिक संस्कार हो। कुनै पनि व्यक्ति वा समूहले जादुको छडी बोकेर शासनमा प्रवेश गर्दैन। योजना बनाउन, नीति लागू गर्न र परिणाम दिन समय लाग्छ।त्यसैले काम सुरु गर्न नपाउँदै कसैलाई असफल घोषणा गर्नु न्यायसंगत हुँदैन।
त्यसैगरी, अघिल्लो सरकारले गरेका राम्रा कामलाई पूर्ण रूपमा अस्वीकार गर्नु पनि उचित होइन। विकासका धेरै योजनाहरू कुनै एक सरकारको मात्र उपलब्धि हुँदैनन्। ती वर्षौंको निरन्तर प्रयासको परिणाम हुन्छन्।
यदि पुरानो सरकारले केही राम्रो गरेको थियो भने त्यसलाई स्वीकार गर्न सक्नुपर्छ।राजनीतिक परिपक्वता भनेको यही हो—व्यक्तिभन्दा कामलाई महत्व दिनु।
आज भोली सामाजिक सञ्जालले सूचना फैलाउन सजिलो बनाएको छ। तर यसले एउटा समस्या पनि जन्माएको छ—तथ्यभन्दा भावनाको व्यापार।
कुनै नेताको पक्षमा एउटा पोस्ट आयो भने सयौं मानिस बिना जाँच समर्थनमा उत्रिन्छन्। अर्को थरी त्यतिकै बिरोधमा उत्रिएको देखिन्छ। धेरै मानिसहरूले कुनै समाचार सत्य हो कि होइन भनेर बुझ्ने प्रयास पनि गर्दैनन्। उनीहरू केवल आफूलाई मनपर्ने कथन खोज्छन् र त्यही पोस्ट गर्छन्। यसले समाजलाई दुई ध्रुवमा विभाजित गरिरहेको छ भन्नेकुरा नकार्न सकिन्न। एक पक्षलाई आफ्नो नेता भगवान् जस्तो लाग्छ। अर्को पक्षलाई त्यही नेता राक्षस जस्तो लागिरहेको छ। यस्तो सोचले न त राष्ट्रलाई सवल बनाउन सक्छ नत नागरिकलाई नै ।
लोकतन्त्रमा सरकार मात्र जिम्मेवार हुँदैन, नागरिक पनि उत्तिकै जिम्मेवार हुन्छन्।यदि हामीले नेताको जात, क्षेत्र, पार्टी वा व्यक्तिगत आकर्षणका आधारमा मात्र निर्णय गर्न थाल्यौं भने योग्यताको मूल्य घट्छ। यदि हामीले कामभन्दा नारालाई महत्व दियौं भने परिणाम पनि नाराजस्तै खोक्रो हुन्छ। नागरिकले केही आधारभूत प्रश्न सोध्न सिक्नुपर्छस् सरकारले के काम गर्योरु कुन वाचा पूरा गर्योरुकुन क्षेत्रमा सुधार आयोरु कहाँ कमजोरी रह्योरुतथ्य र प्रमाण के भन्छन्रु यी प्रश्नको उत्तर खोज्ने बानी नागरिकले बिकाश गर्न जरूरी देखिन्छ। व्यक्तिपूजा होइन, प्रणालीप्रति विश्वास राख्नु पर्छ।नेपालको राजनीतिमा अर्को ठूलो समस्या व्यक्तिपूजा हो। हामी धेरैजसो व्यक्ति केन्द्रित राजनीति गर्छौं। तर कुनै पनि देश व्यक्तिले होइन, संस्थाले चलाउँछ। बलियो न्यायपालिका, उत्तरदायी सरकार, सक्षम प्रशासन, स्वतन्त्र सञ्चार माध्यम र सचेत नागरिक नै समृद्ध राष्ट्रका आधार हुन्। त्यसैले व्यक्तिलाई देवता वा दानव बनाउने प्रवृत्तिबाट माथि उठ्नुपर्छ। व्यक्ति बदलिन्छन्, संस्था रहन्छन्।
लोकतन्त्रको सुन्दरता विविधतामा एकता हो। सबैले एउटै कुरा सोच्नुपर्छ भन्ने होइन।कसैले सरकारको समर्थन गर्न सक्छ, कसैले विरोध गर्न सक्छ। दुवै अधिकार लोकतन्त्रले दिएको छ। तर फरक विचार राख्ने मानिसलाई शत्रु ठान्नु लोकतान्त्रिक संस्कार होइन।
यदि कसैले सरकारको राम्रो कामको प्रशंसा गर्यो भने उसलाई ‘झोले’भनेर गाली गर्नु गलत हो। त्यसैगरी कसैले कमजोरीको आलोचना गर्यो भने उसलाई शत्रु देख्नु पनि गलत हो।स्वस्थ समाजमा बहस हुन्छ, द्वेष हुँदैन। तर्क हुन्छ, अपमान हुँदैन।हरेक नागरिकले अमृतलाई अमृत र बिषलाई बिष भन्न सक्ने क्षमताको विकाश गर्न आट गर्नु पर्छ। आफूलाई मनपर्ने व्यक्तिले गल्ती गरे पनि त्यसलाई उपलब्धि जस्तो देख्ने र आफूलाई मन नपर्ने व्यक्तिले राम्रो काम गरे पनि त्यसलाई असफलता मान्ने प्रवृत्तिले राष्ट्रलाई अगाडि बढाउँदैन।यदि अमृतलाई पनि फोहोर भनिन्छ भने त्यो विवेकको हार हो। यदि फोहोरलाई केवल आफ्नो पक्षले ल्यायो भनेर अमृत भनिन्छ भने त्यो पनि विवेकको हार हो।राष्ट्र निर्माणको आधार यही हो कि हामी वस्तुलाई वस्तुका रूपमा हेर्न सकौं। राम्रोलाई स्वीकार गर्न सकौं। गलतलाई सच्याउन सकौं।
अन्त्यमा,नेपाललाई आज अन्धसमर्थक र अन्धविरोधीभन्दा बढी विवेकी नागरिक चाहिएको छ। सरकार पुरानो होस् वा नयाँ, युवा होस् वा अनुभवी—मूल्याङ्कन कामका आधारमा हुनुपर्छ। प्रशंसा र आलोचना पनि तथ्यमा आधारित हुनुपर्छ।नयाँ नेतृत्वलाई काम गर्ने उचित समय र अवसर दिनुपर्छ। पुराना नेतृत्वका सकारात्मक योगदानलाई पनि निष्पक्ष रूपमा स्वीकार गर्नुपर्छ। लोकतन्त्रको शक्ति कुनै दल, नेता वा नारामा होइनस सत्यलाई स्वीकार गर्ने नागरिक चेतनामा हुन्छ।जब हामी आफूलाई मनपरेको व्यक्तिको गल्तीलाई पनि गल्ती भन्न सक्ने र आफूलाई मन नपरेको व्यक्तिको राम्रो कामलाई पनि राम्रो भन्न सक्ने हैसियतमा पुग्छौं, तब मात्र हामी वास्तविक लोकतान्त्रिक नागरिक बन्छौं।र त्यो दिन नेपालमा राजनीति मात्र होइन, नागरिक चेतना पनि परिपक्व हुनेछ। लोकतन्त्रको वास्तविक विजय त्यही दिन हुनेछ।
लोकतन्त्र तब बलियो बन्छ, जब नागरिकले दल होइन, सत्यको पक्ष लिन्छन्।
लेखक: नारी सञ्चार गृहकी पूर्व अध्यक्ष हुनुहुन्छ ।

































































































