HomeFeatured 2कांग्रेस झापाका युवाको माग ‘एकता, समावेशिता र नवप्रवर्तनमा जोड दिनुपर्छ'

कांग्रेस झापाका युवाको माग ‘एकता, समावेशिता र नवप्रवर्तनमा जोड दिनुपर्छ’

बिर्तामोड २३ जेठ । नेपाली कांग्रेसभित्र संगठनात्मक एकता, डिजिटल रूपान्तरण, युवापुस्ताको बढ्दो असन्तुष्टि र बदलिँदो राजनीतिक परिवेशबारे गम्भीर बहस सुरु भइरहेका बेला झापाका कांग्रेसनिकट युवा नेताहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले पार्टी सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै खुला पत्र सार्वजनिकपछि पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेस झापाको पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनीहरुले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउन, डिजिटल अध्यावधिक प्रक्रियालाई समावेशी बनाउन तथा युवापुस्ताको आकांक्षालाई सम्बोधन गर्न नेतृत्वले अग्रसरता लिनुपर्ने माग राखेका छन् ।
पत्रकार सम्मेलनमा खुला पत्र वाचन गर्दै नेपाल तरुण दलका निवर्तमान केन्द्रीय सदस्य राजेन्द्र उप्रेतीले नेपाली कांग्रेस लोकतान्त्रिक आन्दोलनको इतिहाससँग जोडिएको संस्था भएकाले यसको आन्तरिक कमजोरीले केवल पार्टीलाई मात्र नभई समग्र लोकतान्त्रिक प्रणालीलाई असर पार्ने बताए ।
उनले पार्टीभित्र देखिएको गुट–उपगुटको प्रवृत्ति, नेतृत्वबीचको अविश्वास र कार्यकर्तामा बढ्दो निराशाले संगठन कमजोर बन्दै गएको उल्लेख गर्दै नेतृत्वले सबै पक्षलाई समेट्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।
“कांग्रेसको शक्ति यसको विविधता र समावेशितामा छ । नेतृत्वले सबै धार र विचारलाई सम्मान गर्दै साझा लक्ष्यतर्फ उन्मुख गराउन सके मात्र संगठनलाई पुनः जीवन्त बनाउन सकिन्छ,” उप्रेतीले भने । उनीहरुले सार्वजनिक गरेको खुला पत्रमा कांग्रेसले अघि बढाएको डिजिटल अध्यावधिक अभियानलाई सकारात्मक र आवश्यक सुधारका रूपमा स्वागत गरिएको छ । तर, देशभरका सबै कार्यकर्ता समान रूपमा डिजिटल पहुँच र सीपमा आबद्ध हुन नसकेको यथार्थलाई बेवास्ता गर्न नहुने उल्लेख गरिएको छ ।
पत्रमा १५ औँ महाधिवेशनलाई लक्षित गरी समयमै सदस्यता नवीकरण गरेका कार्यकर्तालाई केवल प्राविधिक कारण देखाएर प्रक्रियाबाट वञ्चित गर्न नहुने तर्क प्रस्तुत गरिएको छ । डिजिटल प्रणालीलाई विस्तार गर्दै लैजानुपर्ने भए पनि त्यसले पुराना र निष्ठावान कार्यकर्ताको सहभागितामाथि असर पार्न नहुने धारणा व्यक्त गरिएको छ ।
पत्रमा प्रविधिलाई संगठन सुदृढीकरणको माध्यम बनाउनुपर्ने, विभाजनको कारण होइन भन्ने सन्देश दिइएको छ । पत्रमा पछिल्ला वर्षहरूमा नेपाली राजनीतिमा देखिएको युवापुस्ताको असन्तुष्टि र वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणबारे पनि चर्चा गरिएको छ । युवाहरूले अब केवल भाषण र नाराभन्दा परिणाम, पारदर्शिता र नवीन सोच खोजिरहेको उल्लेख गर्दै कांग्रेसले समयानुकूल रूपमा आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने सुझाव दिइएको छ ।
पूर्वी नेपालमा नयाँ राजनीतिक अभियानप्रति युवाको आकर्षण बढ्दै गएको तथा अन्य क्षेत्रमा वैकल्पिक शक्तिहरूको प्रभाव विस्तार भइरहेको सन्दर्भ उल्लेख गर्दै कांग्रेसले आत्मसमीक्षा गर्दै संगठनात्मक सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा पत्रमा व्यक्त गरिएको छ ।
खुला पत्रमा बीपी कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादलाई आधुनिक समयको नवप्रवर्तन, सुशासन र उत्तरदायित्वसँग जोड्नुपर्ने आवश्यकता औंल्याइएको छ । युवापुस्ताले परिवर्तन र अवसर खोजिरहेका बेला पुरानो पुस्ताले अनुभव र निरन्तरताको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै दुवै पुस्तालाई जोड्ने सेतुका रूपमा नेतृत्व प्रस्तुत हुनुपर्ने सुझाव दिइएको छ ।
पत्रमा गगन थापालाई कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणको नेतृत्व गर्न सक्ने सम्भावित नेताका रूपमा उल्लेख गर्दै पार्टीलाई वैचारिक, संगठनात्मक र व्यवहारिक रूपमा नयाँ उचाइमा पु¥याउन भूमिका खेल्न आग्रह गरिएको छ ।
पत्रको निष्कर्षमा कांग्रेस अहिले चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै नेतृत्वले समयको मागअनुसार निर्णय लिनुपर्ने भनिएको छ । “देश र लोकतन्त्रलाई बलियो, रूपान्तरित र युवामैत्री नेपाली कांग्रेस आवश्यक छ,” पत्रमा उल्लेख छ, “त्यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने अवसर अहिलेको नेतृत्वसँग छ।”
पत्रकार सम्मेलनको सहजीकरण नेपाल विद्यार्थी संघ (नेविसंघ) झापाका निवर्तमान अध्यक्ष सञ्जय निरौलाले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता प्रवेश बस्नेत, नेविसंघ कोशी प्रदेश उपसभापति द्रोण दाहाल, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् कोशी प्रदेशका विशाल थापा, कनकाई क्याम्पस सुरुङ्गाका स्ववियु सभापति वासु निरौला लगायत युवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सभापति थापालाई लेखिएको खुल्ला पत्रमा झापाका विद्यार्थी नेतासहितले हस्ताक्षर गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कांग्रेस झापाका युवाको माग ‘एकता, समावेशिता र नवप्रवर्तनमा जोड दिनुपर्छ'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img