
झापा १५ असार। ‘धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ सत्रौं राष्ट्रिय धान दिवस देशभर मनाइएको छ ।
सत्रौ राष्ट्रिय धान दिवस सोमबार मनाइएको छ । असारको १५ गतेलाई राष्ट्रिय धान दिवस विभिन्न ठाउँमा बेठी तथा सामुहिक धान रोपाई गरेर मनाइएको हो ।
यो वर्ष असारको १४ गतेसम्ममा झापामा ५ प्रतिशत धान रोपाइ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
१७ प्रतिशतमा मात्र सिंचाई पुगेको झापाको ८५ हजार ५०० हेक्टर जमिन मध्ये ८० प्रतिशत जमिन आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । बाँकी ३ प्रतिशत जमिनमा भूमिगत सिंचाईबाट हुने गरेको बताइएको छ ।
त्यस्तै प्रदेश–१ मा धानखेति योग्य ३ लाख ४० हजार हेक्टर जमिन मध्ये असारको १४ गतेसम्ममा ७३ हजार हेक्टरमा धान रोपाई भएको प्रवक्ता उप्रेतीले बताउनु भयो । उहाँका अनुसार यो गतवर्षको तुलनामा लगभग ५ प्रतिशतले बढी हो । गत वर्ष यो अवधीमा १७ प्रतिशतमात्र धान रोपाइँ भएको थियो भने यो वर्ष २१ प्रतिशत भन्दा माथी रहेको उहाँको भनाई छ ।
अहिलेसम्ममा तराईमा १९, पहाडमा २९ र बाँकी उच्च पहाडमा रोपाई भएको बताइएको छ । यता झापामा भने अहिलेसम्ममा ५ प्रतिशत जमिनमा मात्र धान रोपाइ रहेको कृषि ज्ञान केन्द्र झापाका प्रमसख निलकमल सिंहले जानकारी दिनुभयो ।
कुल गार्हस्थ उत्पादनको ४.६ प्रतिशत योगदान रहेको धानको कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा भने १५.३५ प्रतिशत रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ । त्यस्तै अन्न उत्पादनमा भने ५२ प्रतिशत हिस्सा धानले ओगटेको प्रक्षेपणले देखाएको छ । नेपालमा आर्थिक वर्ष २०७६/०७७ मा १४ लाख ५८ करोड हेक्टरमा धान खेति गरिएको थियो । यसबाट ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

चामलको आवश्यकता
नेपालमा बार्षिक लगभग ४० लाख मेट्रिक टन चामल आवश्यकता पर्ने सर्भेक्षणले देखाएको छ । त्यो मध्ये ३३ लाख १२ हजार मे.ट. उत्पादन र आपूर्ति हुन्छ । ६ लाख ८८ हजार मे.ट. अहिले अपुगको अवस्थामा छ । २०७५/०७६ मा ३२ अर्ब ५९ करोड रुपैयाँको चामल, खैरो चामल र कनिका आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कबाट देखिन्छ ।
धानको मूल्य तोकियो
सरकारले यसै वर्ष धानको समर्थन मूल्य तोकेको छ । तोकिएको मूल्य अनुसार मोटा धान प्रतिक्विन्टल २,७३५ र मध्यम धानको २८३५ मूल्य तोकिएको छ ।
नेपालमा धानका जात
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले नेपालमा ८५ वटा धानका जातको विकास तथा सिफारिस गरेको छ । हिउँदे सिजनका लागि हर्दिनाथ बोरो धान–१, तथा केही चलनचल्तीमा रहेका स्थानीय जातहरु आंगा, अनदी, एक्ले, करियाकामर, गुडुरा, झिनवा कृष्णभोग, मनसरा, पहेंले, बोराङ धान, हंसराज सौउठारी, जुम्ली मार्सी, जोरायल बासमती, तिल्की स्थान विशेष अनुसार लगाइदै आएको छ । नार्कले चैते धानका लागि चैते–५, चैते–२, हर्दिनाथ–१, हर्दिनाथ–३,वर्षे धानका लागि खुमल–४, खुमल–६, खुमल–१०, सावित्री, राधा–४, राधा–१४, तरहरा–१, रामधान, बास्नादार धानका लागि लल्का बासमती, सुगन्धित धान–१, सुनौलो सुगन्धा, सुधारिएको जेठो बुढो, सुक्खा सहने जातमा सुक्खा धान –१, सुक्खा धान–२, सुक्खा धान–३, सुक्खा धान –४, सुक्खा धान–५, बाढीग्रस्त क्षेत्रका लागि साँवा मन्सुली सब–१, स्वर्ण सब–१, सेहराङ सब–१, सुब्खा र बाढी दुवैका लागि उपयोगी बहुगुणी धान–१, बहुगुणी धान–२ र सुक्खा धान–६ सिफारिस गरिएका छन् ।
नेपालका ७५ वटै जिल्लाको भौगोलिक अवस्थालाई हेर्ने हो भने जेठ महिना देखि नै धान रोपाइ शुरवात हुने गरेको छ । उच्च पहाड, पहाड र तराई तीनभागमा विभाजित धान खेती उच्च पहाडमा जेठदेखि नै रोपाईं शुरु हुन्छ भने पहाडमा असार र तराईमा असारदेखि शुरु भएको रोपाइँ भदौं महिनासम्म पनि गर्ने चलन गछ ।
यो वर्ष असारको १४ गतेसम्ममा देशभरमा २६ प्रतिशत रोपाइँ हुँदा १ नम्बर प्रदेशमा भने २१ प्रतिशत बढी रोपाइँ भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताउनु भयो ।



















