बिर्तामोड बैशाख । बिर्तामोड नगरपालिका वडा नं. १० मा आयोजित एक भेलाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र–३ बाट अलग्गिने निर्णय गरेको छ ।
बिर्तामोड नगरपालिकाका अन्य सबै वडाहरु क्षेत्र नं. २ मा पर्छन् । क्षेत्र नं. २ र ३ को सीमानाको वडाका रुपमा रहेको यो वडाको विकासमा दुवै क्षेत्रका प्रतिनिधिसभा सदस्यहरुको नजरमा ओझेलमा परेको स्थानीयको बुझाई छ ।
वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको वडामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, वडाभित्रका प्रबुद्ध व्यक्ति, सामाजिक व्यक्तित्वहरु, स्थानीयबासी सहभागी भेलाले १० वडा अब प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तरगत रहने सर्वसम्मत निर्णय गरेको हो ।
हाल प्रतिनिधिसभा क्षेत्र नं. ३ मा रहेको बिर्तामोड नगरपालिका वडा नं. १० लाई राजनीतिक दलहरुले निर्वाचनमा भोटर बैंक मात्र बनाएको वडाको विकासका लागि कुनै पहल नगरेको ठहर गर्दै क्षेत्र परिवर्तनको निर्णयमा पुग्नु परेको सहभागीको भनाई थियो ।
राजनीतिक दलका नेताहरुले राजनीतिक स्वार्थ अनुसार क्षेत्र विभाजन गर्दा एउटा स्थानीय तहको एउटा वडा अर्को निर्वाचन क्षेत्रमा पारिएको छ । पालिका एउटै निर्वाचन क्षेत्र फरक हुँदा बिर्तामोड १० मात्रै नभएर अन्य वडाहरुमा पनि समस्या देखिएको स्थानीयले गुनासो गर्ने गरेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं. ३ मा भद्रपुर र बिर्तामोड नगरपालिका तथा हल्दिबारी, कचनकवल र बाह्रदशी गाउँपालिकाका वडाहरु रहेका छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन (२०७४) अनुसार क्षेत्र नं. ३ मा भद्रपुर नगरपालिकाका वडा नं. १ देखि ८ सम्म वडाहरु, बिर्तामोड नगरपालिकाको १०नं. वडा छन् भने । हल्दिबारी, कचनकवल र बाह्रदशी गाउँपालिकाका सबै वडाहरु रहेका छन् । जसमध्ये बिर्तामोड १० का स्थानीयले क्षेत्र परिवर्तनको निर्णय गरेका हुन् । यद्यपी यसको अधिकारिक जानकारी निर्वाचन आयोगमा पठाउने प्रक्रियाको प्रारम्भका रुपमा चिनिएको छ ।
विगतको प्रावधान अनुसार प्रत्येक १०/१० वर्षमा निर्वाचन क्षेत्र परिवर्तन गर्नेे प्रावधान भएसंगै वडा नं. १० ले २०८४ लाई लक्षित गरी निर्वाचन क्षेत्र परिवर्तनको प्रक्रिया अघि बढाएको बताइएको छ ।
बिर्तामोड १० नं. वडाको जनसंख्या आठ हजार रहेको बिर्तामोड नगरपालिकाको वेवसाइटमा उल्लेख गरिएको छ । झापा क्षेत्र नं. ३ मा २०८२ फागुनको विवरण अनुसार एकलाख ४० हजार आठ सय ५७ जना मतदाता रहेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट अलग्निे बिर्तामोड १० को निर्णय
































































































