साइक्लिङ ट्रर्याकको रूपमा निर्माण गरिएको उक्त सिसाको पुल कन्यामबाट माने डाँडा, फिक्कल फेन्सोङ गुम्बा हुदै अन्तिम गन्तव्य स्वामी पार्क आइतबारे पुर्णे डाँडा सम्म बताईएको छ ।
जोस्ना श्रेष्ठ
फिक्कल चैत ।
शताब्दीयौ अघिका संरचनाहरु पछिल्ला पुस्ताका लागि ऐतिहासिक हुन्छन् । सूर्योदय नगरपालिका ८ ईलामको ‘माने डाडा’ एक ऐतिहासिक एवं पुरातात्विक स्थल हो । जहाँ शताब्दीयौ अगाडि बनेका ऐतिहासिक“ ’मानेहरू ’छन् । मानेहरु बौद्ध धर्मावलम्बीहरूको धार्मिक आस्था र विश्वासको प्रतीक मानिन्छ । यस माने डाडा ’वरपर मानिसहरूको बस्ती छ। मानिसहरूको उक्त सुन्दर बस्तीलाई बोलचालको भाषामा “माने गाउँ’ भनिन्छ । माने गाउँलाई ‘माने डाँडा’ पनि भन्ने गरिन्छ । यस गाउँमा लेप्चा,राई, गुरुङ, मुखिया,क्षेत्री लगायतका जातजातिको बसोबास रहेको छ । पौराणिक र ऐतिहासिक कुराहरू बारेमा थाहा पाउन हामी इतिहासको सहयोग लिन्छौ । इतिहासले वर्तमानमा ऐतिहासिक कुराहरू बारे छर्लंग पारिदिन्छ । तर, कतिपय ऐतिहासिक कुराहरूको यथेष्ट प्रमाण इतिहासको गर्भमा बिलाईसकेका छन् । ‘माने गाउँ’ को कथा पनि त्यस्तै छ । माने गाउँमा भएका यी ऐतिहासिक “मानेहरू’ कहिले, कसको पालामा र किन बनाइएका हुन् भन्ने प्रमाण काँही पनि फेला पर्न नसकेको जानकारहरू बताउँछन् ।
माने छेवैमा घर भएका प्रेम बहादुर गुरुङ ‘यी मानेहरू आफ्नो बाबु, बाजेको पालादेखि नै रही आएको बताउँदै , उक्त माने भित्र आफना सन्तान नभएकाहरूले अपुताली सम्पत्ति गाडेर राखेको विश्वास गर्दछन् । सुर्योदय नगरपालिका वडा नं–८ का अध्यक्ष जंगबहादुर गुरुङ, ‘यी मानेहरू दुईसय बर्ष अगाडिका हुन, बाहिरबाट व्यापार गर्ने सिलसिलामा शेर्पाहरु यहाँ आएर बास बस्ने गर्दथे, मृत्यु पश्चात् उनीहरूको शव गाडिएको स्थान नै ‘माने’ हो भन्ने धारणा राख्दछन्। स्थानीय कतिपयले मानिसको मृत्यु पश्चात् मृत शरीरबाट निकालिएको अस्तुसगै बौद्ध धर्मावलम्बीहरूले बहुमूल्य चीज बस्तुहरु त्यस भित्र गाडेर राखिएको भन्दछन् भने त्यहाँ बसोबास गर्ने लेप्चा जातिहरु यी ‘मानेहरू’ आफ्नो पूर्खाले निर्माण गरेको दावी गर्दछन्। स्थानीय अग्रज तथा सामाजिक अभियन्ता मानकुमार लेप्चा “मानेका बारे आफ्नो धारणा राख्दै ‘शुरुवातमा ईलाम जंगल थियो। त्यसबेला त्यहाँ बसोबास गर्ने अरू कुनै जातजाति थिएन । लेप्चा जातिहरु मात्र बसोबास गर्दथे । ‘सोही कुरालाई आधार मानेर पुस्ता गन्ती गर्दा राजा पृथ्वीनारायण शाहको पाला तिर त्यहाँ भएका मानेहरू लेप्चाहरुको पूर्खाले निर्माण गरेका हुन् भन्छन्,। उनका अनुसार “माने ’लाई लेप्चा भाषामा ‘छेतेन’ भनिन्छ , माने धार्मिक र सांस्कृतिक दुवै हिसाबले महत्वपूर्ण मानिन्छ, लेप्चा जातिको लागि ‘माने’ लाई गुम्बा भन्दा पनि ठुलो मानिन्छ ।’ ‘तर दुःखद् कुरा यो ऐतिहासिक स्थल माओवादी द्वन्दकालमा अज्ञात समूहबाट चोरी भएको छ । मानेहरू फुटाएर त्यहाँ गाडेर राखिएको बहुमूल्य बस्तुहरू चोरी गरिएको छ ।

त्यस पश्चात् पनि यो ऐतिहासिक स्थलको संरक्षण र संवद्र्धन गरिनुपर्छ भनेर स्थानीयहरूको तदारूकता र पहलमा कोशी प्रदेश सरकारको सहयोगमा यस स्थलको संरक्षण र प्रवद्र्धनको काम पनि भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यस क्षेत्रमा सुर्योदय नगरपालिका र कोशी प्रदेश सरकारले २०७९ सालमै एकसय पचास मिटर लामो सिसाको पुल निर्माण कार्य सुरु गरेको थियो । पुल निर्माण कार्य अन्तिम चरणमा पुर्र्याएको छ । केही योजना फेरबदल भएकाले निर्माण समय केही पर लम्बिएको बताइन्छ । आफ्नो क्षेत्रको विकास होस्, रोजगारी सिर्जना होस्, स्थानीय उत्पादनले मूल्य तथा बजार पाओस् , भन्ने उद्देश्यले यस क्षेत्रका स्थानीयले उक्त सिसाको पुल निर्माणका निमित्त निःशुल्क जग्गा समेत उपलब्ध गराएका छन् । उक्त परियोजना सञ्चालन गर्न सिसाको पुल निर्माणको लागि स्थानीय प्रेम बहादुर गुरुङ ,बिर्ख बहादुर याखा, चित्रबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, नरबहादुर गुरुङ, सुवास राई, मानकुमार लाप्चाले करिब ३ रोपनी जग्गा प्रदान गरेका हुन् । साइक्लिङ ट्रर्याकको रूपमा निर्माण गरिएको उक्त सिसाको पुल कन्यामबाट माने डाँडा, फिक्कल फेन्सोङ गुम्बा हुदै अन्तिम गन्तव्य स्वामी पार्क आइतबारे पुर्णे डाँडा सम्म बताईएको छ । साइक्लिङ ट्रयाक सिसाको पुल सुचारू भएपछि यस ठाउँमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन सकिन्छ भनेर स्थानीय उत्साहित पनि देखिन्छन्। यति बेला त्यहाँ क्षेत्रमा व्यक्तिगत लगानीमा होटलहरू बनाउने कार्य पनि भइरहेको छ ।
माने डाँडा अर्थात् माने गाउँ कन्याम र फिक्कलको सिमाना छेउमा, झापा ईलाम मेची राजमार्गमा रहेको शान्ति चोक मास्तिर डाँडामा छ । हाल यस गाउँलाई परिवर्तन नाम शान्ति चोक भनिन् थालिएको छ । स्थानीय कतिपयले ऐतिहासिक नाम माने गाउँ, अर्थात् माने डाँडा लोप हुन नहुने धारणा राख्दछन् ।
हुन त यस्तै किसिमका ऐतिहासिक मानेहरू सुर्योदय नगरपालिका भित्र अरू पनि भेटिन्छन् । फिक्कल र बरबोटेमा पनि मानेहरू छन्। ती स्थानहरूलाई पनि स्थानीयहरूले बोलचालको भाषामा माने भन्दछन् । मुलुककै एउटा सुन्दर जिल्लाको सूचीमा पर्ने ईलाम प्राकृतिक रूपमा मात्र होइन धार्मिक, सांस्कृतिक र ऐतिहासिक हिसाबले पनि उत्तिकै सुन्दर छ । आन्तरिक र बाह्य पर्यटकको मुख्य रोजाईको गन्तव्य सुर्योदय नगरपालिकाको कन्याम चिया बगान, श्री अन्तु, हाँस पोखरी, कुटी डाँडा पाथिभरा मन्दिरमा पर्यटकीय मौसममा दैनिक पर्यटकहरूको ठूलो भिड भाड लाग्ने गर्दछ । यसदेखि बाहेक सुर्योदय नगर भित्र अन्य धेरै ऐतिहासिक र पुरातात्विक स्थलहरू छन् । जुन ओझेलमै छन् । त्यहाँ भएका ऐतिहासिक स्थलहरूको खोजी ,पहिचान ,संरक्षण र प्रवर्धनमा स्थानीय बासिन्दा ,जनप्रतिनिधि र स्थानीय सरकारको ध्यान पुग्न सके पर्यटकीय स्थलको संख्यामा बृद्धि हुने निश्चित देखिन्छ ।
प्राकृतिक , धार्मिक र सांस्कृतिक सुन्दरताले भरिपूर्ण ईलामले पर्यटकहरूको लोभ्याउँएर एक पटक मात्र होइन पटक–पटक भ्रमण गरिरहु जस्तो बनाउँछ । त्यहाँको स्थानीय उत्पादन ,चिया, तरकारी, अकबरे खुर्सानी,दुध ,दुध जन्य परिकार छुर्पी, घ्यू, ललीपप आउने पर्यटकहरूले रूचाउँछन् । कोसेलीका रुपमा लिएर घर फर्किन्छन्।

































































































