धुलावारी १७ बैशाख । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले चाहँदैमा ट्रेड युनियन अधिकार खोस्न नसकिने बताउनुभएको छ । ट्रेड युनियन अधिकार अन्तर्राष्ट्रिय कानुन र सम्झौताहरूसँग जोडिएको विषय भएको उल्लेख गर्दै उहाँले यसलाई हटाउने कुरा सम्भव नरहेको स्पष्ट पार्नुभएको हो ।
उपसभापति शर्माले नेपाल अन्तर्राष्ट्रिय श्रम संगठन लगायतका अन्तर्राष्ट्रिय कानुनहरूको पक्ष राष्ट्र भएकाले सरकारले ती सम्झौताहरूभन्दा बाहिर गएर निर्णय गर्न नसक्ने बताउनुभयो ।
‘ट्रेड युनियन राइट्स भनेको अन्तर्राष्ट्रिय कानुनको पक्ष राष्ट्र भएर गरिएको सम्झौता हो । मलाई लाग्दैन सरकारले ट्रेड युनियन हटाउन सम्भव छ । सरकार अन्तर्राष्ट्रिय सम्झौता विपरीत जान्छ भन्ने मलाई लाग्दैन, उहाँले भन्नुभयो ।
कर्मचारीको हकहितका लागि ट्रेड युनियनको भूमिका अपरिहार्य रहेको चर्चा गर्दै उहाँले यो कर्मचारीको पक्षमा रहेको एक स्थापित अधिकार भएको समेत प्रष्ट पार्नुभयो ।
पछिल्लो समय विद्यार्थी संगठनहरूको औचित्यमाथि उठेका प्रश्नहरूबारे टिप्पणी गर्दै शर्माले विश्वविद्यालयहरूमा निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । युनिभर्सिटीको वातावरण राम्रो बनाउन विद्यार्थी संगठनहरुलाई जिम्मेवार बनाउन सकिने स्पष्ट पार्दै युनिभर्सिटीको वातावरण राम्रो बनाउने कुरामा कांग्रेसको साथ रहने बताउनु भयो । सरोकारवाला विद्यार्थी संगठनहरूलाई निषेध गर्ने नभई उनीहरूसँगकै समन्वयमा निर्वाचन प्रक्रिया अघि बढाउनु बुद्धिमानी हुनेछ, त्यसमा कांग्रेसको साथ रहनेछ । विद्यार्थीहरु राजनीतिमा आउन चाहन्छन् की चाहदैनन् त्यो त प्रोत्साहित गर्ने काम सरकार भएको शर्माको भनाई थियो । विद्यार्थीलाई जागरुक गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै शर्माले भन्नुभयो, ‘युनिभर्सिटीको वातावरण राम्रो बनाउ, जागरुक होउ पढाईको वातावरण राम्रो बनाउ भन्ने हो । विश्वविद्यालयमा निर्वाचन कसरी गर्ने भन्ने कुरा विद्यार्थी संगठनहरूसँगकै समन्वयमा तय गरिनुपर्छ ।
सरकारले ल्याएको लिखित प्रस्तावमा विद्यार्थी संगठनहरू सरकारले खारेज गर्ने भन्ने अलि बढी हल्ला छ, उहाँले भन्नुभयो,- तर सरकारले ल्याएको लिखित कुरामा त्यस्तो केही आएको छैन ।’ संगठन रहने वा नरहने भन्ने कुरा सरकारको नभई सम्बन्धित दलहरुको भएको बताउनु भयो ।
विद्यार्थी संगठनहरूलाई लोकतान्त्रिक अभ्यासको नर्सरीका रूपमा व्याख्या गर्दै शर्माले उनीहरूलाई निरुत्साहित गर्नुको सट्टा थप प्रोत्साहित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
ट्रेड युनियन खारेज अन्तराष्ट्रिय सन्धी सम्झौता विपरितः विश्वप्रकाश शर्मा

































































































