अर्जुनधारा २ माघ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापाका ५ वटै क्षेत्रमा निर्वाचन कार्यालय शुरु भएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ को मेचीनगर नगरपालिकामा, क्षेत्र नं. २ को अर्जुनधारा नगरपालिका, क्षेत्र नं. ३ को भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा त्यसैगरी क्षेत्र नं. ४ को कनकाई नगरपालिका र क्षेत्र नं. ५ को दमक नगरपालिकामा निर्वाचन कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कायालय झापाले जनाएको छ ।
सोही अनुसार झापाको क्षेत्र नंं. २ को अर्जुनधारा नगरपालिकामा निर्वाचन कार्यालयको स्थापना गर्दै निर्वाचन अधिकृतले राजनीतिक दलहरुसंग समेत छलफल गर्नुभएको छ । दलहरुसंगको छलफलमा निर्वाचन अधिकृत महेशप्रसाद खत्रीले मुलुकको निकासका लागि निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न आवश्यकता रहेको औंल्याउदै सहज रुपमा निर्वाचन सम्पन्न गर्ने वातावरण बताउन सबैलाई आह््रवान गर्नुभयो ।
कार्यालय उद्घाटनसँगै अब यस क्षेत्रको निर्वाचन कार्यतालिका अनुसारका गतिविधिहरू (उम्मेदवारी दर्ता, मतदाता नामावली रुजु, र मतदान व्यवस्थापन) अगाडि बढ्ने अध्यक्ष खत्रीले जानकारी दिनुभयो।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पाटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र, मंगोल नेशनल अर्गनाइजेसन, नेकपा माले, श्रम संस्कृति पार्टी लगायत विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सहभागी दलका प्रतिनिधिहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन कार्यालयलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। निर्वाचन आचारसंहिताको पालना र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणमा दलहरू एकजुट हुनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।
कार्यालय स्थापनासँगै झापामा चुनावी सरगर्मी बढेको छ भने मतदाताहरूमा पनि उत्साह देखिएको छ। अबको केही दिनमा निर्वाचन अधिकृतका कार्यालयहरूले उम्मेदवारहरूको मनोनयन दर्ता लगायतका महत्वपूर्ण प्रक्रियाहरू सुरु गर्नेछन्।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को कार्यालय अर्जुनधारामा, दलहरुको प्रतिवद्धता



















