दक्षिण एशियाका मुलुकहरू -श्रीलंका, बङ्गलादेश, नेपाल र पाकिस्तान आज आ–आफ्नो संकटको भुमरीमा छन् । कतै आर्थिक पतन, कतै राजनैतिक अस्थिरता, कतै सामाजिक आक्रोश । सतहमा हेर्दा यी समस्या आ–आफ्नै आन्तरिक कमजोरीको परिणाम जस्ता देखिए पनि, गहिरिएर जाँदा एउटा साझा धागो झल्किन्छ(भारतको ‘छायाँ’।
श्रीलंका : आर्थिक पतन र रणनीतिक खेल
श्रीलंका विगत केही वर्षमा विदेशी ऋण र राजनीतिक भ्रष्टाचारले धराशायी भयो । तर त्यसको आडमा चीनसँगको निकटता र भारतको सुरक्षा चिन्ता जोडिएपछि संकटलाई केवल आन्तरिक असफलता नभई भू–राजनीतिक खेलकै परिणाम ठानिन्छ । भारतले आफ्ना सामरिक हित सुरक्षित गर्न दबाब सिर्जना गरेको आरोप श्रीलङ्काली समाजमा प्रस्टै सुनिन्छ ।
बङ्गलादेश : आन्दोलन र नजिकको दुरी
ढाकामा आज राजनीतिक आन्दोलन चर्किँदै छ । धेरैका दृष्टिमा, प्रधानमन्त्री शेख हसिनाको भारतसँग निकट सम्बन्ध नै असन्तुष्टिको प्रमुख कारण हो । जनताले प्रश्न गर्छन् -‘कति हदसम्म हाम्रो सार्वभौमिकता भारतको अनुमतिमा टेकेर अघि बढ्ने ?’ आन्दोलनलाई केवल आन्तरिक राजनीति मात्र होइन, क्षेत्रीय रणनीतिक दबाबको प्रतिक्रियाका रूपमा पनि बुझ्न सकिन्छ ।
नेपाल: अनन्त संक्रमण
नेपालमा त भारतको भूमिका लगभग ‘खुला किताब’ नै छ । संविधानदेखि सरकार गठनसम्म, व्यापारदेखि दैनिक जीवनसम्म भारतको प्रभावबारे कुनै विवादै छैन । तर समस्या के हो भने, हामीले आफ्नै असक्षमता र भ्रष्टाचारलाई भारतको छायाँले ढाकिदिन्छौँ । हरेक असफलताको दोष दिल्लीलाई दिन सजिलो हुन्छ, तर आफ्नै घरभित्र सफाइ नगरी बाहिरलाई मात्र दोष दिनु आत्म–प्रवञ्चना हो ।
पाकिस्तान: अबको पालो
पाकिस्तान पहिले नै ऋण, महँगाई, आतंकवाद र सत्ता–द्वन्द्वले थिलोथिलो छ । तर अन्तर्राष्ट्रिय शक्ति–खेलमा भारतसँगको तनावलाई पाकिस्तानले आफ्ना समस्या ढाकछोप गर्ने सुविधाजनक ‘हसियार’ बनाइरहेको छ । कतिपयले भन्छन्, ‘अब पालो पाकिस्तानको हो’ अर्थात दक्षिण एशियाली अस्थिरताको अर्को अध्याय त्यहाँ खुल्ने सम्भावना प्रबल छ ।
भारतको भूमिका र हाम्रो कमजोरी
भारतलाई दक्षिण एशियामा ‘बिग ब्रदर’ को भूमिकामा राखिन्छ । कतै उसले स्थिरता दिन्छ, कतै नियन्त्रण गर्छ । आलोचकहरू भन्छनन्– भारत केवल आफ्नो हित र सुरक्षा रणनीति हेर्छ, छिमेकीको भलाइ होइन । तर त्यति मात्र साँचो होइन । हरेक देशमा भ्रष्टाचार, कमजोर नेतृत्व, अनिर्णय, र असक्षम व्यवस्थापनले संकट जन्माएको छ। भारतको छायाँ यसमा थपिएको मात्र हो ।
निष्कर्ष : दोष बाहिर होइन, भित्र पनि छ
श्रीलंका, बङ्गलादेश, नेपाल वा पाकिस्तान –सबैले आफैँलाई प्रश्न गर्नुपर्ने छ –के हाम्रो असफलताको कारण केवल बाहिरको शक्ति हो ?
–कि हामीले आन्तरिक सुधार नगरेर बाहिरीलाई दोष दिने सजिलो बाटो रोजेका हौँ ?
यदि हामीले आफ्ना भित्री कमजोरीलाई स्वीकार नगरेसम्म, भारत–चीन–अमेरिका जसलाई दोष दिए पनि, समस्या जस्ताको त्यस्तै रहनेछ । दक्षिण एशियाका जनताले बुझ्नुपर्ने कुरा यही हो -स्वतन्त्रता केवल नारा होइन, आत्मनिर्भरता र सुशासनमा निहित हुन्छ ।
दक्षिण एशियाको अस्थिरता : कसको हात, कुन जिम्मेवारी ?
