बिर्तामोड ,भाषा र संस्कृतिको संरक्षण र संवद्र्धनमा जुटेको नेवा पासा मुना पुच: बिर्तामोडले ठाकठुके तथा लाखे नाच प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । पुच:ले बिर्तामोड ४ मा अवस्थित आफनै भवन ‘नेवाः छेँ’ मा श्रावण ४ गतेबाट दैनिक रूपमा अपरान्ह ४ बजे देखी साझ ६ बजे सम्म ठाकठुके तथा लाखे नाच प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।
नेवार समुदायको बसोबास तथा बाहुल्यता रहेका मुलुकका विभिन्न जिल्लाहरूमा हरेक बर्ष नाग पञ्चमीका दिन देखि विधिवत रूपमा उदघाटन शुरू गरि कृष्ण जन्माष्टमीका दिन सम्म सास्कृतिक झाँकीका रूपमा लाखे नाच नचाउने प्रचलन छ ।
यस बर्षको नाग पञ्चमी पर्व नजिकिए सँगै मुना पुच: बिर्तामोडले पुर्व तयारी स्वरुप लाखे नाच प्रशिक्षण शुरू गरेको बिर्तामोड नेवा: पासा मुना पुच: अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
श्रावण ४ बाट शुरू भएको प्रशिक्षण कार्यक्रम भाद्र २ गते सम्म नियमित चल्ने उनले बताए । अध्यक्ष श्रेष्ठले लाखे नाच प्रशिक्षणसंगै यस बर्ष अरूण उपत्यकामा नचाईने ठाकठुके नाच पनि प्रशिक्षण दिईदै आएको जानकारी दिए । लाखे नाच संगै ठाकठुके नाच यस पटक प्रदर्शन गरिने उनले बताए ।
उनका अनुसार आउदो भाद्र ४ गते विधिवत रूपमा भिमसेन मन्दिरबाट लाखे नाचको उदघाटन गरिने छ । पुच:ले विना शुल्क कक्षा ५ देखि स्नातक तह सम्मका विधार्थी भाई बहिनीहरूलाई ठाकठुके र लाखे नाच प्रशिक्षण दिइरहेको हो । यस प्रशिक्षणमा इच्छुक संघ संगठन , व्यक्ति जो कोही सहभागी बन्न सक्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
बिर्तामोड लाखे नाच समिति संयोजक प्रविण शाक्यले प्रशिक्षण मार्फत हरेक बर्ष संस्थाले नयाँ नयाँ कलाकारहरु उत्पादन गरेर राम्रो प्रस्तुति दिने प्रयास गरिरहेको बताए । उनका अनुसार गत साल बिर्तामोडमा दुई जना महिलाहरुले लाखे नाच नाचेका थिए भने यस बर्ष तीन जना महिलाहरुले लाखे नाच नाच्ने छन् ।
लाखे नाच प्रशिक्षक सुमित श्रेष्ठले बिधार्थी भाई, बहिनीहरूले उत्साहका साथ प्रशिक्षण लिइरहेको बताए । अग्रजहरुबाट आफुले सिकेको संस्कार , नयाँ भाइ बहिनीलाई सिकाएर संस्कृति जगेर्ना गर्न पाउदा खुशी लागेको उनी बताउँछन् ।
मुना पुच:ले आवश्यक परेको बेला बिर्तामोड बाहिर गएर पनि लाखे प्रशिक्षण दिने गरेको छ ।
पुचले हरेक वर्ष लाखे प्रदर्शनी साथै जातीय भेषभूषा संरक्षण,खाना महोत्सव ,सामुहिक रुपमा क्वाटी कार्यक्रम लगायत विभिन्न पौराणिक संस्कारहरूको खोजी, जगेर्ना र प्रबर्धन गर्दै आएको छ ।
बिर्तामोडमा ठाकठुके तथा लाखे नाच प्रशिक्षण शुरु

































































































