झापा असार । आइतबार सार्वजनिक गरिएको १५ वटै पालिका मध्ये आर्थिक वर्ष २०८० / ०८१ मा दमक नगरपालिकाले झापामा सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ।
जिल्लाका १५ वटै पालिकाले आब ०८० / ०८१ को बजेट एकैदिन सार्वजनिक गरेका हुन् । जसमध्ये सबैभन्दा बढी बजेट दमक नगरपालिकाको रहेको छ।
नगर प्रमुख राम थापाका अनुसार दमकको बजेट १ अर्ब, ८४ करोड, १२ लाख छ। दमक झापाको दोस्रो पुरानो नगर हो।
मेचीनगर नगरपालिकाको बजेट जिल्लाको दोस्रो ठूलो बजेट हो। त्यहाँको बजेट १ अर्ब, ५१ करोड, ८८ लाख छ।
जनसंख्याका दृष्टिले मेचीनगर मुलुककै ठूलो नगरपालिका हो। गृहनगरको बजेट सार्वजनिक कार्यक्रममा काङ्ग्रेस महामन्त्री तथा झापा १ का सांसद विश्वप्रकाश शर्माको उपस्थिति थियो।
तेस्रो ठूलो बजेट बिर्तामोड नगरपालिकाको छ। यहाँको बजेट १ अर्ब, ४० करोड, ९५ लाख छ। सानो भएपनि बिर्तामोड साविक मेची अञ्चलको व्यापारिक केन्द्र मानिन्छ।
शिवसताक्षी नगरपालिकाले १ अर्ब, ५१ करोड, ४० लाखको बजेट ल्याएको छ। जिल्लाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुरको बजेट ८५ करोड, ६६ लाख छ। यो जिल्ला सदरमुकाम रहेको नगरपालिका समेत हो।
त्यसैगरी गौरादह नगरपालिकाको बजेट ७९ करोड, ९२ लाख छ। अर्जुनधारा नगरपालिकाको बजेट ७६ करोड, ११ लाख छ।
कनकाइ नगरपालिकाको बजेट ६७ करोड, ८७ लाख छ। आठवटा नगरपालिका मध्ये सबैभन्दा सानो बजेट कनकाइ नगरपालिकाको हो।
झापामा गाउँपालिका तर्फ सबैभन्दा ठूलो बजेट कमलको छ। सो गाउँपालिकाले जिल्लाका सातवटा गाउँपालिकालाई उछिन्दै ७२ करोड, २१ लाखको बजेट सार्वजनिक गरेको हो। कमलको बजेट कनकाइ नगरपालिकाको भन्दा करिब ५ करोडले बढी हो।
झापामा गाउँपालिका तर्फ दोस्रो ठूलो बजेट कचनकवलले सार्वजनिक गरेको छ । यहाको बजेट ६३ करोड, ११ हजारको बजेट ल्याएको छ। यो मुलुककै होचो गाउँपालिका समेत हो।
बुद्धशान्ति गाउँपालिकाले ६० करोड, ७७ लाखको बजेट सार्वजनिक गरेको छ। त्यसैगरी गौरीगञ्ज गाउँपालिकाले ५२ करोड, ४९ लाखको बजेट ल्याएको छ।
झापा गाउँपालिकाको बजेट ४९ करोड, ९० लाख छ। बाह्रदशी गाउँपालिकाको बजेट ४९ करोड, ८८ लाख छ। झापा र बाह्रदशीको बजेटमा मात्रै २ लाखको फरक छ।
झापाका सात मध्ये सबैभन्दा सानो बजेट ल्याउने गाउँपालिका हल्दीबारी हो। यहाँको बजेट ४७ करोड, ७४ लाख छ। यो गाउँपालिका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका समेत हो।

































































































