बिर्तामोड ३ झापा । अर्थोडक्स तथा सिटिसी चिया निकासीमा भारतले लगाएको अवरोध हटाउन उद्योगीहरूले डेढ महिनादेखि गरेको प्रयास निष्फल भएपछि झापाका चिया उद्योगहरू पनि बन्द हुने भएका छन्।
नेपाल चिया उत्पादक संघ झापाका अनुसार भारततर्फ चिया निर्यात रोकिएपछि उत्पन्न संकटका कारण झापाका सबै चिया उद्योग बिहीबारदेखि बन्द गर्ने निर्णयमा उद्योगीहरु पुगेका हुन् । यसअघि इलामसहित पहाडी जिल्लाका ५३ बढी चिया उद्योग बन्द भइसकेका छन्।
भारतको चिया विकास बोर्डले भारतमा पुगिसकेपछि ‘स्टान्टर्ड प्रड्युसर एसोपी भन्दै नेपाली चियाको गुणस्तरमापनको प्रक्रिया अघि बढाएको छ । भारतको चिया बोर्डले भनेको ‘स्टान्टर्ड प्रड्युसर एसोपीको रिपोर्ट आउन कम्तीमा २ हप्ता लाग्ने बताइएको छ । चियाको गुणस्तर नेपाल भारत सीमानाकामा मापन गर्दा कुनै आपत्ती नहुने बताउँदै नेपाल चिया उत्पादक संघका केन्द्रीय सदस्य दिपेस ढकालले भारत पुगिसकेपछि गुणस्तरमापनको कुरा व्यवहारिक नहुने बताए ।
नेपालमा उत्पादित अर्थोडक्स र सिटिसी चियाको करिब ९५ प्रतिशत हिस्सा भारत हुँदै तेस्रो मुलुक तथा भारतीय बजारमा निकासी हुने गरेको छ। तर पछिल्लो करिब ४५ दिनदेखि भारतले विभिन्न प्राविधिक तथा प्रशासनिक कारण देखाउँदै नेपाली चियाको निकासीमा अवरोध सिर्जना गरेपछि नेपाली चिया क्षेत्र अप्ठ्यारोमा परेको छ ।
उद्योगीहरूले समस्या समाधानका लागि नेपाल सरकारलाई पटक–पटक अनुरोध गरेपनि सुनुवाई नभएको बताइएको छ । चिया व्यवसायीहरूका अनुसार यति लामो समयसम्म निर्यात अवरुद्ध हुँदा उद्योगमा उत्पादन गरिएको चिया गोदाममै थन्किएको छ
उद्योगीहरूले चिया निर्यातमा भारतले लगाएको अवरोधका विषयमा नेपाल सरकारले हालसम्म औपचारिक र प्रभावकारी कूटनीतिक पहल नगरेको गुनासो गरेका छन्।
नेपालको चिया उद्योगले वार्षिक रूपमा करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको अर्थोडक्स तथा सिटिसी चिया निकासी गर्दै आएको छ। नेपाली अर्थतन्त्रको एक हिंस्सा रहेको चिया क्षेत्रले राज्यले वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउने गरेको बताइएको छ। चिया खेती, प्रशोधन, ढुवानी तथा बजार व्यवस्थापनसँग प्रत्यक्ष रूपमा करिब ६० हजारभन्दा बढीलाई रोजगारी दिंदै आएको केन्द्रीय सदस्य ढकालले बताए ।
उद्योग बन्द हुने निर्णयसँगै हजारौं श्रमिकको रोजीरोटी संकटमा पर्ने, किसानले हरियो पत्ती बिक्री गर्न नपाउने तथा समग्र चिया क्षेत्र नै धराशायी हुने जोखिम बढेको उद्योगीहरूको चेतावनी छ। अहिले चियाको मुख्य टिपाइ तथा उत्पादनको समय रहेकाले तत्काल समस्या समाधान नभए किसान, श्रमिक र उद्योगी सबैभन्दा बढी प्रभावित हुने देखिएको छ।
नेपाल चिया उत्पादक संघ झापाले चिया निकासीमा देखिएको अवरोध हटाउन नेपाल सरकारलाई तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेको छ।
चिया क्षेत्रका सरोकारवालाहरूले समयमै समाधान खोज्न नसके नेपालको प्रमुख निर्यातजन्य कृषि उद्योगमध्ये एक मानिने चिया उद्योगले दीर्घकालीन क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन्।
भारतले गुणस्तर परीक्षणको बहानामा नेपाली चिया निर्यातमा रोक लगाएको विषय संसद्मा पनि उठेको छ । चिया क्षेत्रमा देखिएको समस्या समाधानका लागि इलाम क्षेत्र नं. १ बाट निर्वाचित सांसद निस्कल राई प्रतिनिधिसभामा पटक–पटक विषय उठाए पनि सरकारको तर्फबाट अपेक्षित सुनुवाइ नभएको उद्योगीहरूको गुनासो छ। बुधबार पनि सांसद राईले संसदमा आफ्ना कुरा राख्नका लागि सभामुखबाट प्राप्त गरेको २ मिनेट समयमा बोल्दै आफूले सदनमा चियाको समस्याबारे कुरा उठाएको सातौं पटक भएको बताउँदै ंचिया उद्योग बन्दले, चिया क्षेत्रमा आश्रित, श्रमिकको रोजीरोटी गुमेको, हरियो पत्ती खेर जाने, उद्योगी तथा उत्पादकले बैंिकङ समस्या लगायतका समस्या हुनेतर्फ ध्यानाकर्षण गराए । सामाजिक सञ्जालमा प्रधानमन्त्री चिया गफमा बस्न भ्याएको तस्विरले देखाएको उल्लेख गर्दै सांसद राईले भने, ‘अर्थतन्त्रको मेर्डनका रुपमा रहेको चिया क्षेत्रको दिर्घकालीन समस्या समाधानका लागि भारतसंग सरकारले जि टु जि संवाद अघि बढाओस् ।’
झापाका चिया उद्योग बिहीबारदेखि बन्द हुने, संसदमा राईले सातौं पटक समस्या उठाए सुनुवाई भएन































































































