भद्रपुर ३१ जेठ । झापाको भद्रपुर नगरपालिका २ स्थित पुरातत्व महत्वको ‘किचकबधस्थलमा पुरातत्व विभागको टोलीले नवौं चरणको उत्खनन् कार्य सम्पन्न गरेको छ ।
पुरातत्व विभागको आर्थिक सहयोगमा यही जेठ ८ गतेदेखि सुरू भएको नवौं चरणको उत्खनन् जेठ २९ गतेबाट सम्पन्न गरिएको हो ।
पुरातत्व विभागका वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यको नेतृत्वमा जेठ ६ आइपुगेको टोलीमा अधिकृत नवराज अधिकारी र फोटोग्राफर रामचन्द्र श्रेष्ठ सहितको तीन सदस्यीय टोलीले स्थानीय कामदारको सहयोगमा किचकबध स्थलमा गतवर्षको बाँकी उत्खनन् सुरू गर्दै समापन गरेका हुन् ।
उत्खनन् स्थलमा भद्रपुर नगरपालिकाले पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार संघीय सरकारबाट प्राप्त १० लाख रूपैयाँले यसवर्ष गत वर्ष बाँकी रहेको लक्ष्मीनारायण मन्दिर परिसरको क्षेत्रमा उत्खनन् गर्ने काम सम्पन्न गरेको हो ।
नगर प्रमुख गणेश पोखरेलले स्थानीय सरकारको एक्लो प्रयासले मात्र यस स्थलको वृहत्तर विकास संभव नभएकाले प्रदेश सरकार र संघीय सरकारसित समन्वय गरी किचकबधको दीर्घकालीन विकासको प्रयास भइरहेको जानकारी दिए । प्रमुख पोखरेलले पहिला उत्खनन् सकेर राष्ट्रिय सम्पदामा सूचिकरण गर्दै अन्तराष्ट्रिय सम्पदाको सूचीमा राख्ने गरी गुरूयोजनाका साथ काम अगाडि बढाउने प्रयास भइरहेको प्रष्ट पारेका थिए ।
भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेलले उत्खनन्को बारेमा जानकारी दिँदै किचकबध भद्रपुर नगरपालिकाको सम्पत्ति मात्र नभएर समग्र देशको मानव सभ्यताको उद्गम स्थल तथा सभ्यताको पहिचान भएकाले यसको परिचय देश विदेश फैलन सके पर्यटन व्यवसायले देशकै अर्थतन्त्रमा योगदान पुग्ने विश्वास राखे ।
सीमित सघीय बजेट प्राप्त भए पनि प्रदेश सरकारले हालसम्म यस ऐतिहासिक पुरातात्विक स्थलको संरक्षण र पर्यटकीय प्रवद्र्धनमा लगानी गरेकोे छैन । जसले गर्दा सीमित बजेटका कारण वर्षैपिच्छे उत्खनन् गरिरहनु पर्ने र बाँकी काम अधुरो रहने गरेको उत्खनन्मा संलग्न विज्ञ उद्धवप्रसाद आचार्यको गुनासो छ ।
उनका अनुसार कीचकबधको संरक्षण र विकासका लागि तत्काल एक गुरुयोजनाको आवश्यकता देखिएको छ ।
प्रदेश र संघीय सरकारले यस ठाउँलाई राष्ट्रिय गौरवको परियोजनाको रूपमा अगाडि बढाउन आवश्यक छ । यस ऐतिहासिक स्थललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके भद्रपुरको मात्र नभई समग्र कोशी प्रदेशकै आर्थिक तथा सांस्कृतिक उत्थानमा ठूलो टेवा पुग्ने निश्चित छ ।
प्रारम्भमा २०३५ सालमा मेची क्याम्पसका प्रमुख घनश्याम खनालको नेतृत्वमा पहिलो पटक उत्खनन् गरिएको थियो । उत्खनन्का क्रममा हालसम्म ९ वटा ऐतिहासिक दरबारका संरचना फेला परिसकेका छन् । उत्खनन् शुरु भएको ४७ वर्षसम्म पनि सरोकारवालाहरू गम्भीर हुन सकेको पाइँदैन । जसले गर्दा किचकबधको यो गौरवमय पुरातात्विक इतिहास केवल वर्षैपिच्छेको उत्खनन्मै सीमित रहँदै आएकोछ ।
यो स्थानमा २०५८ सालदेखि भने नेपाल सरकारको पुरातत्व विभागले आचार्यको नेतृत्वमा उत्खनन् गरिरहेको छ । माओवादी द्वन्द्वको चरम उत्कर्ष काल वि सं २०६१ देखि २०६६ सम्म उत्खनन् रोकिए पनि त्यसयता भने हरेक वर्ष उत्खनन् भइरहेको छ ।
महाभारतकालीन विराट राजाको सालो कीचकको दरबार रहेको विश्वास गरिएको उक्त स्थानमा यसपटक नवौं चरणको उत्खननसम्ममा किचकबधमा फेला परेका इँटा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भेटिएका इँटासँग मिल्ने खाले पाइएको आचार्यको भनाइ छ ।
किंवदन्ती अनुसार, पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले बिराटनगरदेखि लखेट्दै ल्याउँदा कीचकलाई यहीं ठाउँमा बध गरेका थिए । त्यही कारण यस स्थानलाई किचकबधस्थल भनिन थालेको स्थानीय बताउँछन् ।
हालसम्म यस स्थलमा उत्खनन्बाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोष्ट, पर्खाल, तबेला, त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाँडावर्तन, पुराना इँटाका टुक्रा र कम्पाउण्ड सहितको भौतिक संरचना भेटिएको छ । जुन पुरातात्विक वस्तुहरुको कार्बन परीक्षणबाट यो स्थल २२–२३ सय वर्ष पुरानो मानिएको छ । जुन समयमा भारतमा शुङ्ग कुषाणकाल थियो ।
भद्रपुरको नगरपालिकाभित्रै यति महत्वको राष्ट्रिय सम्पदा र अझ विश्व सम्पदासम्म हुन सक्ने प्राचीन ऐतिहासिक स्थल फेला परे पनि सरोकारवाला जिम्मेवार सरकारले समेत प्राथमिकतामा नराखेकै कारण सुस्त गतिमा उत्खनन् हुनु ‘माल पाएर पनि चाल नपाएको’ अवस्था रहेको स्थानीयको आरोप छ ।
किच्चकवधमा नवौं चरणको उत्खनन् सम्पन्न

































































































