धुलावारी २ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला बीच आज भेटवार्ता भएको छ । नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधन भएको चौथो दिन धुलावारीस्थित भण्डारी निवासमा शोकाकुल परिवारलाई समवेदना व्यक्त गर्न पुगेका शर्मा र सिटौलावीच भेटवार्ता भएको हो ।
भण्डारी निवासमा शर्मा र सिटौलाबीच अलग्गै कोठामा ‘वान टु वान’ वार्ता भएको नेपाली कांग्रेसका सचिव कृष्ण हुँमागाईले जानकारी दिए । वार्तामा के कुरा भयो भन्ने विषयमा आफू जानकार नभएको बताउँदै हुमागाँईले भने, ‘दुई नेता वीच अलग्गै कुराकानी भएकाले त्यो हामीलाई थाहा भएन, तर उपसभापति शर्माले पार्टी भित्र एकता कायम गर्न तपाईहरुले पनि दाईहरुलाई भन्नुप¥यो, भन्नुभयो ।’
भेटका क्रममा पार्टीका पूर्व केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला उपसभापति केशवराज पाण्डे, सचिव हुँमागाई, बिर्तामोड नगरसभापति भोजराज सिटौला, तरुण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेती, नेविसंघ झापाका सभापति सञ्जय निरौला लगायत रहेका थिए ।
शर्मा–सिटौला भेटवार्ता

































































































