बिर्तामोड २८ जेठ । बढ्दो बेरोजगारी र रोजगारदाताले दक्ष कामदार अभाव खेपिरहका बेला बिर्तामोडमा रोजगार मेला सञ्चालन गरिने भएको छ ।
यही जेठ ३० र ३१ गते सञ्चालन गरिने रोजगार मेलाले बेरोजगारले रोजगारी पाउने तथा रोजगारदाताले दक्ष जनशक्ति पहिचान गरी रोजगारी दिन सक्ने वातावरण निर्माण गर्न सकिने बिर्तामोड आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहयोगमा सञ्चालन हुन लागेको रोजगार मेलामा दुईहजार बढीको उपस्थिति रहने बताइएको छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र संग्रौलाले पहिलो पटक गर्न लागिएको रोजगार मेला बेरोजगारलाई रोजगारदाता संग जोड्ने उद्देश्यले गरिएको बताए । मेलाले कुन कामका लागि के सिप सिक्नुपर्दो रहेछ भन्ने ठूलो ज्ञान दिने धारणा राखे । काम गर्दै उच्च शिक्षा हासिल गर्न बाटो देखाउने माध्यम भएको बताए ।
बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीले सीप सिकेर सीप बेच्ने ठाउँबारे जानकार हुनु जरुरी रहेको बताउँदै नेतृत्वले बाटो देखाउने र पत्रकारको लेखाएले मानिसको धारणा बन्ने बताए । काम गर्ने इच्छाशक्ति नदेखाउने तर, अनावश्यक कुरामा नकारात्मक कुरा सामाजिक सञ्जालमा पोष्ट गरेर बस्ने गलत प्रबृत्ती अन्त्यका लागि रोजगार मेला उपयुक्त हुने बताए ।
उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रोजगारीका लागि आफूसंग धेरै युवाले जिज्ञासा राख्ने गरेको बताउँदै युवालाई रोजगारी दिलाउने उद्देश्यले ल्याइएको अत्यन्तै राम्रो कार्य भएको प्रतिक्रिया दिंए ।
सो अवसरमा सीप सिकेकालाई रोजगारसंग जोडिदिने माध्यमको खाँचो रहेको बताउँदै सहजकर्ता सेवक बजगार्इँले सीप बेचेर आम्दानीसंग जोड्ने मुख्य उद्देश्य रहेको बताए ।
मेलामा विभिन्न उद्योग, व्यवसाय र कम्पनीहरूका २५ वटा स्टल र ५ वटा नगरपालिकाकासहित ३० वटा स्थल रहने बताइएको छ । मेलामा २ हजारभन्दा बढी युवाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। मेला अतिथि सदनमा सञ्चालन हुनेछ ।
नगरपालिकाका अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षित, अशिक्षित, दक्ष तथा अदक्ष सबै नागरिकका लागि यो मेला लाभदायक हुनेछ। हालसम्म ४२५ जनाले रोजगारीका लागि सम्पर्क गरेको बजगाँइले बताए । बिर्तामोड नगरपालिका नगर शिक्षा शाखाका प्रमुख तीलचन भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा स्वागत रोजगार शाखाका होमनाथ भट्टराई र सञ्चालन रमेश तिवारीले गरेका थिए ।
रोजगार मेलाको तयारी: बेरोजगारलाई रोजगारदातासंग जोड्ने माध्यम

































































































