विर्तामोड । भदौं १२ गतेदेखि विर्तामोड नगरपालिकामा कोरोना विरुद्धको भ्याक्सिन भेरोसीलको दोस्रो चरणको खोप अभियान चलिरहेको छ ।
१० वटा वडा रहेको नगरपालिका सबै वडामा खोप अभियान जारी छ । यो अभियान कतै १२ र १३ गते छ त, बढी नै जनसंख्या भएको वडामा भदौं १४ गतेसम्म खोप अभियान जारी रहने नगरपालिकाले जनाएको छ ।

खोप लगाउन आउने नागरिकलाई व्यवस्थापन गर्न जनप्रतिनिधिले आ–आफ्नै तरिका अपनाएका छन् ।
दोस्रो चरणको खोप अभियान शुरु भएको दिनभर पानी परेर खोप लगाउन जाने नागरिकले निकै सकस व्यहोर्नु पर्यो । बाटोमा सकस व्यहोरेका नागरिकले कतिपय खोप केन्द्रमा पनि शास्ति नै व्यहोर्नु परेको गुनासो गरेका थिए भने कुनै वडाले खोप लगाउन जाने नागरिकलाई चिया र फलफूलको समेत व्यवस्था गरेका थिए ।

खोप लगाउन आउने नागरिकलाई विर्तामोड नगरपालिका वडा नं.–८ ले चिया र फलफूलको समेत व्यवस्था गरेको थियो ।
खोप लगाइसकेपछि जनतालाई फलफूल र चिया दिन खोप केन्द्रमा वडाध्यक्ष अजय कार्की आफंै खटेका थिए । गरामनीस्थित स्वास्थ्य चौकी खोप केन्द्र तोकिएको वडा नं.–८ ले खोप केन्द्रमा गरेको व्यवस्थाबाट आफूहरु खुशी भएको स्थानीयले बताए ।

खोप लगाउन पुगेका धेरैले चिया र फलफूल खान पाएर मात्र राम्रो भनेको होइन, अरु खोपकेन्द्रमा देखिएको जस्तो भिड यहाँ छैन, बस्ने कुर्सी व्यवस्थित छ, खोप लगाउने ठाउँमा पनि भिडभाड छैन खुल्ला रुपमा स्वास्थ्यकर्मीले खोप लगाइदिन पाएका छन्, त्यस कारण पनि हामीलाई राम्रो लाग्यो । वडा नं. ८ मा भदौं १२ र १३ गते खोप अभियान सञ्चालन गरिएको छ ।
वडा कार्यालय भएकै भवनमा खोप केन्द्र भएको वडा नं.–४ मा भने निकै सकस व्यहोर्नु परेको खोप लगाउन सहभागिहरुको प्रतिक्रिया थियो ।

ठूलो भवन भएका कारण ओतमा उभिन पाएपनि अत्याधिक भिडका कारण त्यहीबाट पो कोरोना सर्ने हो कि भन्ने चिन्ता बढेको उनीहरुको प्रतिक्रिया थियो । त्यसमाथि पालो थिचोमिचो र बीचबीचमा मान्छे घुसाउँदा अझ मन अमिलो भएको खोप लगाउन लाइनमा बसेकाले बताए । उनीहरुको साझा भनाई थियो–‘बृद्धबृद्धा र असक्त भएको त हामी पनि बुझ्छौं नी, तर जो कोही बीचबीचमा विभिन्न बहानामा घुस्नु र घुसाउँनु त राम्रो होइन नी, समयको सबैलाई उत्तिकै महत्व हुन्छ ।’

































































































