विर्तामोड ४ भदौं । बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर चरित्र हत्या गर्ने युट्युबरसहित ६ जना विरुद्ध उजुरी परेको छ ।
पीडितले भिडियो खिचेर युट्युबमा प्रशारण गरिदिने युट्युबरसहित ६ जना विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका प्रहरीले जनाएको छ ।
प्रहरीका स्रोतका अनुसार होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की, युट्युवर खगेन्द्र घिमिरे, भाष्कर श्रेष्ठ, सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेल विरुद्ध उजुरी परेको छ ।
कानुन बमोजिम काबाहीको माग गर्दै पीडितले प्रहरी समक्ष निवेदन दर्ता गराएका हुन् । गत मंगलबार राती मेची आँखा अस्पताल अगाडि रहेको एक होटलको कोठाभित्र बसेर खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर बिर्तामोड काण्ड भन्दै युट्युवमार्फत भिडियो सार्वजनिक गरिएको थियो । भिडियोमा एक महिलाले आफूहरु खाजा खान होटलमा आएको बताइरहँदा पहेंलो भेष्ट लगाएका एक पुरुषले ती महिलालाई विभिन्न कुरा सोधेर र्याख्र्याख्ती पारेको दृष्य देख्नका साथै त्यहाँ बोलिएका शब्दहरु सुन्न सकिन्थ्यो । महिला र त्यहाँ उपस्थित प्रहरीले भिडियो बन्द गर्न भनिरहँदा पहेंलो भेष्ट लगाएका ती व्यक्तिले ती महिला र प्रहरी दुवैलाई क्यामेरा किन बन्द गर्ने भन्दै हप्काएको सुन्न र देख्न सकिन्थ्यो ।
उक्त पोष्टको विषय लिएर चौतर्फी विरोध हुन थालेपछि भिडियो हटाइएको छ । उक्त भिडियोमा युट्युवरले व्यक्तिगत जीवनलाई नै तहसनहस बनाउन खोजेको भन्दै सामाजिक सञ्जालमा धेरैले भिडियो खिच्नेलाई कारवाहीको माग गरेका थिए । अभद्र व्यवहार सम्बन्धी उजुरी परेकोेले मुलुकी ऐन २०७४ को दफा ११८ बमोजिम कारवाही हुने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताउनु भयो ।
के छ मुलुकी ऐन २०७४ को दफा ११८ मा ?
अभद्र व्यवहार गर्न नहुने: (१) कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनेछ ।
विर्तामोड काण्ड नाम दिइएको उक्त भिडियोमा देखिएकी एक महिला शारीरिक रुपमा पनि असक्त रहेको बुझिएको छ ।
भिडियो खिच्नेदेखि पोष्ट गर्नेसम्म विरुद्ध उजुरी अभद्र व्यवहार अन्तरगत कारवाही हुने

































































































