Homeसमाचारसमाचारजनै पूर्णिमासंग जोडिएका कुराहरु

जनै पूर्णिमासंग जोडिएका कुराहरु

इन्द्रप्रसाद कटुवाल
नेपालमा आजकाल धर्म र संस्कृतिको बारेमा चर्चा गरिंदा कतिपयले नाक खुम्च्याउने गरेको अवस्था धर्मानुरागी र संस्कृतिप्रेमी सज्जन महानुभावहरु माझ औंल्याइरहनु नपर्ने अवस्था आइसकेको छ । यो युगमा आईपुगेर पनि अझै धर्म र संस्कृतिको कुरा गरिरहनु भनेको जङ्गली अवस्थातिर फर्किनु हो भन्नेहरुले क्रिश्चियनहरुले क्रिसमस ‘डे’ मुस्लिमहरु ले ‘इद र वकरीद’ बौद्धहरुले बुद्धजयन्ती र देशभित्रका कतिपय जनजातिहरुले ल्होसार जस्ता चाड पर्व मनाउने गरेको दृश्यहरु उनीहरुका आँखामा ओझेल परेको भने पक्कै छैन । यसै प्रसङ्गमा हिन्दु परम्परा र संस्कृति भित्र मानिदै आएका चाड पर्व र संस्कृतिहरु मध्ये ‘जनै पूर्णिमा’ पनि एक विशेष महत्व जोडिएको पर्वको दिन हो । यहाँ यो पर्वसंग जोडिएका हिन्दुहरुको जीवन शैली र महत्वबारे संक्षिप्त रुपमा स्मरण गराउने प्रयास गरिएको छ ।
श्रवण शुक्ल पूर्णिमा तिथिलाई ऋषि तर्पणी रक्षा बन्धन, अर्थात जनै पूर्णिमा भनिन्छ । विशेषत यस पर्वमा सप्तऋषिहरुलाई तर्पण दिएर नयाँ जनै फेरी हातमा रक्षाबन्धन सूत्र बाँध्ने काम गरिन्छ । वर्तमानमा आएर यो परम्परा विशेष किसिमले झाँगिने मौका पाएको छ । यस दिन नदी तलाउमा गएर विधिवत स्नान गरी ब्राह्मणका हातबाट अभिमन्त्रित गरेको नयाँ जनै लगाउने गरिन्छ भने यसको साथै नाडी (पाखुरा) मा रक्षा बन्धन सूत्र बाँध्ने गरिन्छ । आज भोलि त दिदीबहिनीहरुले आफ्ना माइतीका नाडी डोरी (राखी) बाँधेर चेली माइतीको सम्बन्धलाई सूत्रवद्ध र सद्भावपूर्ण बनाउन चाहन्छन् । जसरी भाद्र शुक्ल द्वितीया तिथिलाई दरखाने पर्वमा विशेष गरी पराई घरमा भएका चेलीबेटीलाई अनिवार्य रुपमा माइती घरमा बोलाएर दर खुवाइन्छ त्यसरी नै आजभोलि चेलीबेटीले जनै पूर्णिका दिन माइतीलाई रक्षा बन्धन गराई खान दिने चलनका रुपमा यो पर्व विकसित हुँदै आएको छ । विशेष गरी यो पर्व हिन्दु धर्म भित्रका क्षेत्री ब्राह्मणमा जनै फेर्ने र राखी बाँध्ने हिसावले जोडिएको छ भने नेवार जातिहरुमा यो पर्व अझ हौसला र रमाइलोसंग मनाउने गरेको पाइन्छ । क्षेत्री बाहुन परिवारमा ज्वाँइ–भानिजलाई घरमै बोलाएर जनै फराइन्छ भने नेवार जातिमा मिठामिठा परिकार बनाएर खाने खुवाउने चलन रहि आएको देखिन्छ । नेवार जातिले बनाउने गरेको क्वाँटी (दाल, मास, बोडीबाट तयार एक स्वादिष्ट रसयुक्त खाना) यस पर्वको मुख्य विशेषतामा पर्दछ ।


यस पर्वलाई हालसम्ममा जतिसुकै रुपान्तरण गरी मनाउने गरिएता पनि यसको वैदिक र साँस्कृतिक महत्व अविष्मरणीय छ । विशेषतः यस पर्वको महत्व विधिवत स्नान र नयाँ जनै फेर्ने अनि पाखुरामा विधान सूत्र बाँध्ने कार्यसंग जोडिएको पाइन्छ । यसको बारेमा एक पौराणिक कथन अनुसार जब भगवान विष्णुले दानवराज बलिबाट तीन पाउ भूमिदान लिए त्यस्मा एक पाउ राख्ने भू–मण्डलमा ठाउँ नपुग्दा बलीले आफ्नो शरीरमा नै भगवानको चरण टेकाइ सर्वस्व आत्म समपर्ण गरे त्यसैको फल स्वरुप बलिराजलाई भगवानले सुतललोकको राजा बनाई सदैव आफूले रक्षा दिने वरदान दिएको हुँदा भगवान विष्णु सुतललोकमै रहि रहने भएकाले लक्ष्मीले आफ्ना पतिलाई मुक्त गराउन वलिराजलाई चेलीको रुपमा गएर विधान डोरी बाँधि दिएकी थिइन् । यसरी वलिलाई लक्ष्मीले चेली बनेर विद्यान बाँधी दिदं बलिले पनि खुशी भएर ‘मेरी बहिनी ! तिमी के माग्छ्यौ माग’ भन्दा लक्ष्मीले आफ्ना पति भगवान विष्णुलाई वैकुण्ठ लैजान पाऊँ भनेकी थिएन् । र विष्णुलाई लिएर बैकुण्ठ गएकी थिइन् । उता बलिराज स्वयं पनि लक्ष्मीका नै माइती बनेर विधान सूत्र बाँधी सूतललोकको निर्विध्न अधिपति भएर ऐश्वर्य भोग्न पाएका थिए रे ! त्यसैले त पुरोहितहरुले हातमा डोरी बाँधिदिंदा यो मन्त्र भन्दा रहेछन् :
‘येनबद्धो वलिराज दानवेन्द्रो महावल :
तेन त्वं प्रतिवद्धामि रक्षामा चलमा चल ।।
यसको अर्थ हो–‘जसलाई बाँधेर वलि राजा महा वलशाली वर्नका थिए । आज त्यही विधान बाँधेर म पनि चला नाम गरेकी लक्ष्मीको ऐश्वर्य पाउन सकौं ।
यसरी पौराणिक र ऐतिहासिक प्रसङ्गले के स्मरण गराउँछ भने कुनै पनि सामाजिक परम्परा र संस्कृतिको सुरुवात एक विशेष घटना क्रमबाट आरम्भ भएको हुँदो रहेछ । त्यसैले हाम्रा संस्कार र संस्कृतिलाई जीवनसंग जोडिएका महान व्याग तपास्यासंग जोडिएको मानी ख्याल ठट्टा अन्ध विश्वासको घेराभित्र हेरिनु उपयुक्त यसैगरी जनै पूर्णिमासंग जोडिएको जनै धारण गर्ने पनि वैदिक तात्पर्य यस्तो छ :– ॐकार : प्रथमे तन्तौ द्धितीयग्नि तथैवच :।
तृतीय नाग दैवत्व चतुर्थे सोम देवता :
पञ्चभि पितृ देवत्वं षष्ट चैव प्रजापति :
सप्तमे मरुतश्चैव अष्टमे सूर्य मेव च :
सर्वे देवास्तु नवमे इत्यास्तन्तु देवता ।।
स्मरण रहोस ब्राह्मणले ९ डोराको क्षेत्रीयले छ डोराको र वैश्य शुद्ध्रले तीन डोराको जनै लगाउनु पर्छ । माथिको वैदिक मन्त्रमा भनिएको छ पहिलो डोरी ॐकार दोस्रो अग्नि, तेस्रो नाग चतुर्थ चन्द्रमा पाँचौ पितृदेवता, छैटौ प्रजापति, सातौ मरुतगण आठौंमा सूर्य र नवौं सवै देवताको प्रतिक मानिन्छ । अव हेरौ त जनैमा कत्रो शक्ति रहेछ ! त्यसैले त यज्ञोपवीत संस्कार गरेर (ब्रतबन्ध) जनै नलगाएको मानिस देव वा पितृकार्यका लागि हाम्रो वैदिक विधानले आधिकारिक मान्दैन ।
हो, यस्तै वैदिक, पौराणिक र ऐतिहासिक तथ्य जोडिएको जनै पूर्णिमा हाम्रो हिन्दु समाजमा सामाजिक सद्भावको पनि सूत्र बन्न पुगेको छ । यस वर्षको २०७६ सालको जनै पूर्णिमाले हामी समस्त नेपालीलाई एकताको सूत्रमा आवद्ध गर्न सकोस् ! यही शुभकामना !
सर्वे भवन्तु सुखिन : सर्वे सन्तु निरामया :
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्जन : (उपनिषद वचन (उक्ति) विर्तामोड–४

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारजनै पूर्णिमासंग जोडिएका कुराहरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img