बिर्तामोड । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमणको संख्या दिनानुदिन बढ्दै गएसंगै लम्बिएको निषेधाज्ञाका कारण अस्पतालमा बसेका विरामी, बिरामी कुरुवा र दैनिक ज्यालादारी गरेर घर धान्नेलाई हातमुख जोड्न कठिन हुदै गएको छ ।
निषेधाज्ञाका कारण अस्पतालबाट बाहिर निस्कनै नपाउने तथा बाहिर निस्किएपनि खानेकुरा केही नपाउने तथा आसपासमा रहेका आफन्तले समेत खाना डेलिभरी गर्ने अवस्था नरहेपछि विरामी, कुरुवा रोगका साथै भोकले मर्ने अवस्थामा पुगेका छन् ।

यही समस्यालाई मध्यनजर गर्दै मारवाडी युवती मंच झापाले अस्पताल तथा त्यस्ता बस्तीमा निःशुल्क खाना खुवाउँदै आएको छ ।
गत जेठ १ गतेबाट शुरु गरेको उक्त कार्य अन्तरगत अहिले भद्रपुरस्थित मेची अञ्चल अस्पताल, विर्तामोडस्थित मनमोहन सामुदायिक हस्पिटल, तथा विर्तामोड–४ स्थित मुसहर बस्तीको ३० परिवार तथा मजदुरहरुलाई खाना खुवाउँदै आएको बताइएको छ ।
सेवा नै धर्म हो भन्ने कुरालाई ह्ृदयंगम गर्दै महामारीका बेला कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले गत जेठ १ गतेदेखि अस्पतालका विरामी, विरामी कुरुवालाई खाना खुवाउन थालेका उनीहरुलाई छाक टार्नै समस्यामा परेकाहरुलाई पनि खाना खुवाउनु पर्ने माग आएसंगै अन्यलाई पनि खाना खुवाउन थालेको मारवाडी महिला मंचकी अध्यक्ष मुन्मुन अग्रवालले बताउनु भयो ।

खाना बनाउनेदेखि सम्पूर्ण श्रम आफैंले गरेर खाद्यसामग्री व्यवस्थापनका लागि मात्र पनि दैनिक १२/१३ हजार खर्च हुने अध्यक्ष अग्रवालले बताउनु भयो । शुरुमा आफैंले पैसा निकालेर खाना वितरण गर्न थालेकी मुन्मुनका उक्त पवित्र कार्यमा क्रमिक रुपमा सहयोगी हातहरु पनि बढ्दै गएको उहाँको भनाई छ । –सबैतिर बन्द भएसंगै महामारीमा कसैले पनि भोकले मर्न नपरोस् त्यसका लागि केही न केही गर्नुपर्छ भन्ने लाग्यो, मेरो कुरामा मेरो सासु, ससुरा, श्रीमान सबैले लु गर हामी साथ दिन्छौं भनेपछि सहज भयो, उहाँले भन्नुभयो–त्यसपछि युवती मंचमा कुरा राख्दा सबैले राम्रो काम भनेपछि शुरु गरेको, अहिले मंचका दिदीबहिनीहरु आफू विभिन्न कारणले आउन सक्नुहुन्न, तर, उहाँहरुले हस्वेण्डलाई पठाउनु भएको छ ।’
यो समय महिलालाई खाद्य सामग्री, (चामल, तरकारी, दाल, अचार) जुटाउन पनि कठिन हुने भएकोले बढी पुरुष दाजुभाइको साथ महत्वपूर्ण रहेको अध्यक्ष अग्रवालले बताउनु भयो ।
अस्पताल तथा समुदाय र सडक पेटीमा रहेका मानिसहरुलाई खाना खुवाउन प्रत्येक दिन मारवाडी समुदायका युवाहरु आफैं खट्ने गरेका छन् ।

विर्तामोडस्थित अध्यक्ष अग्रवालका घरमा पकाउने तथा प्याकिङ गर्ने र वितरण गर्ने कार्यलाई पनि संगसंगै गर्दै आएको सुमित अग्रवालले बताउनु भयो । जेठ १ गते कार्यक्रम शुरु हुँदा १ जनाबाट अहिले एकहप्ताको अन्तरमा बढ्दै ४०० बढी रहेको राहुल अग्रवालले जानकारी दिनुभयो । खानाको व्यवस्थापनका लागि खट्नु परेपनि अरुलाई खुवाउन पाउँदा आफूलाई आत्मसन्तुष्टि भएको बताउँदै भन्नु भयो कोही भोकै बस्नु त परेन् । ’
अध्यक्ष अग्रवालको विर्तामोडस्थित आफ्नै घरमा विहान ६ बजेदेखि नै खाना बनाउने, प्याकिङ गर्ने र अस्पताल तथा बस्तिमा पुर्याएर खाना खुवाउने काम भइरहेको सुमित अग्रवालले जानकारी दिनुभयो । काम नभइरहेको अवस्थामा सेवा गर्ने समय मिलेको उहाँको भनाई थियो । पहिलो चरणको लकडाउनका बेला खाद्यान्नसहित विभिन्न सहयोग गरेका मारवाडी समुदायले यो पटक भने आफैं खाना बाँडेको हो ।
बन्दले व्यापार व्यवसाय पनि नचलिरहेको बेला घरमा बसेर समय कटाउनु भन्दा सेवा गरेर समय पाएको खुशी लागेको उल्लेख गर्दै प्रविन अग्रवालले मंचले शुरु गरेको खाना खुवाउने कार्य महत्वपूर्ण भएको उहाँले बताउनु भयो ।
जेठ १ गतेबाट शुरु भएको कार्यक्रम एकमहिनासम्म सञ्चालन गर्ने भनिए पनि आवश्यकता परे त्यो पछि पनि सञ्चालन गर्न सकिने तथा अहिले पनि झापामा खाना खान नपाएर भोकै बस्नु परेको अवस्था भए सम्पर्क गर्न मारवाडी युवती मंचका अध्यक्ष अग्रवालले बताउनु भयो । आइतबारदेखि नै झापाको दमकमा पनि मारवाडी समुदायले निःशुल्क खाना खुवाउने कार्यको थालनी गरेको बताइएको छ ।

































































































