भद्रपुर । आइतबार मध्यरातदेखि झापामा पनि निषेधाज्ञा गरिने भएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले दिनानुदिन कोरोना संक्रमितको संख्या उच्च बन्दै गएसंगै जिल्लास्थित कोरोना संक्रमण जोखिम व्यवस्थापन समितिको बैठकले आइतबार राति १२ बजेदेखि बैशाख २६ गतेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गर्ने तयारी गरेको हो ।
बैठकले १९ गतेदेखि २६ गते रातिसम्म सवारी तथा सार्वजनिक, एवं निजी सवारीसाधन सञ्चालनमा जोरविजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ । सो समयमा सभासम्मेलन, गोष्टी, ब्युटिपार्लर, सैलुन आदि सञ्चालन गर्न नपाउने, बैंक तथा वित्तीय संस्थाले कर्मचारीको अवस्था हेरि अत्यावश्यक सेवा बाहेक अन्यलाई स्थगित गर्ने निर्णय गरेको बैठकले औषधी तथा स्वास्थ्य सामग्री बाहेक अन्य पसल व्यवसाय डिपार्टमेन्ट स्टोरविहान ६ बजेदेखि ११ बजेसम्म मात्र खुल्ला गर्न पाउने निर्णय गरेको छ ।


त्यसैगरी सूचना संकलन तथा सम्प्रेषण गर्नका लागि सूचना विभागले जारी गरेको परिचय पत्रका आधारमा आवत जावत गर्न दिने, होटल रेष्टुरेन्टहरुमा अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी बेलुका ८ बजेसम्ममात्र सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।
बैठकमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, नयाँ श्रीनाथ गण झापाका प्रमुख अमरजंग थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराई, सशस्त्र प्रहरी बल–२ गण झापाका रमेशकुमार पाण्डे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका तिलक शर्मा प्रसाई, मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन पिताम्बर ठाकुर, कृष्ण कार्की, जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, संविधानसभा सदस्य मोहन टुडु, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु नेकपा एमाले जिल्ला अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस जिल्ला सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका हेमराज भण्डारी, जसपाका जिल्ला अध्यक्ष अनुपसिंह राजवंशी, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा, उद्योग वाणिज्यसंघ प्रदेश १ अध्यक्ष टिकाराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।
































































































