बिर्तामोड ६ असार । गणितलाई कठिन र डर लाग्दो विषयका रूपमा लिने विद्यार्थीको संख्या अझै उल्लेख्य रहेकाले शिक्षण पद्धतिमा परिवर्तन आवश्यक रहेको निष्कर्षसहित बिर्तामोडमा गणित शिक्षणमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रयोगसम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
बिर्तामोड नगरपालिका र काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रममा नगरभित्रका ३० वटा सामुदायिक तथा संस्थागत विद्यालयका माध्यमिक तहमा गणित अध्यापन गराउने शिक्षक सहभागी छन् । कार्यक्रमलाई न्यूटन्स एजुकेशन एकाडेमी, रिडमोर पब्लिकेशन र रिजेन्सी बुक्स स्टेसनरीले सहयोग गरेका छन् ।
बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकाडेमीको सभाहलमा सञ्चालन भइरहेको प्रशिक्षणको उद्घाटन बिर्तामोड नगरपालिकाको शिक्षा शाखाका प्रमुख तीलचन भण्डारीले गरेका हुन् । कार्यक्रमको सञ्चालन न्यूटन्स एजुकेशन एकाडेमीकी शिक्षिका पवित्रा पौडेलले गरिरहेकी छन् । तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा गणित शिक्षणका नवीन विधि, सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोग, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने रणनीति, कक्षाकोठालाई अन्तरक्रियात्मक बनाउने उपाय तथा ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने विधिमार्फत गणितलाई सरल र जीवनोपयोगी बनाउने विषयमा अभ्यास गराइनेछ । कतिपय शिक्षकहरुले आफूले गर्दै आएका असल अभ्यासका विषयमा समेत जानकारी गराइरहेका छन् ।
प्रशिक्षणमा पुस्तक लेखक किरणबाबु भट्टराई, विषयविज्ञ कृष्णकुमार सुवेदी र शिक्षाविद् उमेश राजवंशीले सहजीकरण गरिरहेका छन् । विषयविज्ञ सुवेदी भुटानका प्रभावशाली शिक्षकका रुपमा परिचित छन् ।
सहभागी शिक्षकलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी प्रत्यक्ष अभ्यास, समूहगत छलफल, समस्या समाधान, डिजिटल सामग्रीको प्रयोग तथा आधुनिक शिक्षण प्रविधिसँग परिचित गराइने आयोजकले जनाएको छ। विद्यालय शिक्षामा गणित सबैभन्दा बढी चुनौतीपूर्ण विषयमध्ये एक मानिन्छ । आधारभूत अवधारणा कमजोर हुँदा विद्यार्थीले उच्च कक्षामा पुग्दै जाँदा गणितप्रति रुचि गुमाउने, परीक्षा केन्द्रित अध्ययन गर्ने तथा गणितलाई ‘कठिन विषय’ का रूपमा बुझ्ने प्रवृत्ति अझै देखिन्छ ।
शिक्षाविद्हरूका अनुसार गणित कठिन भएर होइन, सिकाउने तरिका परम्परागत भएकाले विद्यार्थीमा डर उत्पन्न हुने गरेको हो । सूत्र र परिभाषा कण्ठ गराउने अभ्यासले विषयप्रतिको जिज्ञासा घटाउने गर्छ । त्यसको सट्टा विद्यार्थीलाई समस्या आफैं समाधान गर्न प्रेरित गर्ने, प्रयोगात्मक अभ्यास गराउने, खेल, चित्र, एनिमेसन, भिडियो तथा डिजिटल सामग्रीमार्फत अवधारणा स्पष्ट गराउने हो भने गणित सहज र रुचिकर बन्न सक्छ सिकाईका क्रममा जानकारी गाराइएको छ । त्यसैले यस प्रशिक्षणमा शिक्षकलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी सूचना प्रविधिको प्रयोग गरेर गणितलाई जीवनसँग जोडेर सिकाउने सीप विकासमा जोड दिइएको छ ।
आईसीटीले बदल्न सक्छ गणित सिकाइ
अहिले गणित शिक्षणमा डिजिटल बोर्ड, सिमुलेसन, इन्टरएक्टिभ सफ्टवेयर, मोबाइल एप, भिडियो सामग्री तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढ्दै गएको छ । यस्ता माध्यमले विद्यार्थीलाई अमूर्त अवधारणासमेत दृश्यात्मक रूपमा बुझ्न सहज बनाउँने कार्यक्रममा जानकारी गराइयो ।
विशेषगरी ज्यामिति, ग्राफ, बीजगणित, त्रिकोणमिति, तथ्यांक तथा सम्भाव्यता जस्ता विषयलाई दृश्य सामग्रीमार्फत सिकाउँदा विद्यार्थीको सिकाइ प्रभावकारी हुने जानकारी दिइयो ।
बिर्तामोडमा सञ्चालन भइरहेको प्रशिक्षणले यिनै आधुनिक अभ्यासलाई स्थानीय विद्यालयसम्म पु¥याउने प्रयास गरेको शिक्षा शाखा प्रमुख भण्डारीले बताएका छन् ।
‘लर्निङ बाइ डुइङ’ मा जोड
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष ‘लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने विधि हो । यस विधिमा शिक्षकले मात्रै पढाउने होइन, विद्यार्थी आफैं सक्रिय भएर समस्या समाधान गर्ने, समूहमा छलफल गर्ने, प्रयोग गर्ने र निष्कर्ष निकाल्ने अवसर पाउँछन् ।
विद्यार्थी स्वयं सिकाइ प्रक्रियाको केन्द्रमा रहेर अभ्यास गर्दा सिकेको ज्ञान दीर्घकालीन रूपमा स्मरण रहने, विश्लेषणात्मक क्षमता बढ्ने तथा आत्मविश्वाससमेत विकास हुन्छ ।
यस्तो विधिले केवल परीक्षामा अंक ल्याउने होइन, दैनिक जीवनमा आवश्यक तार्किक सोच, निर्णय क्षमता र समस्या समाधान गर्ने सीपसमेत विकास गर्न सहयोग पु¥याउँछ ।
शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारसँगै शिक्षकको क्षमता विकासलाई पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। पाठ्यक्रम परिवर्तन हुँदै जाँदा शिक्षण विधि पनि समयानुकूल हुनुपर्ने आवश्यकता बढिरहेको छ ।
यसै सन्दर्भमा सञ्चालन गरिएको प्रशिक्षणले शिक्षकलाई आधुनिक शिक्षण पद्धति, प्रविधिको प्रयोग तथा विद्यार्थीमैत्री सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
शिक्षा शाखाका प्रमुख तीलचन भण्डारीले उद्घाटनका क्रममा शिक्षकको निरन्तर क्षमता विकासबिना गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्दै सिकेका ज्ञानलाई कक्षाकोठामा व्यवहारमा उतार्न आग्रह गरेका थिए।
कार्यक्रमको वास्तविक सफलता प्रशिक्षण सम्पन्न हुनुमा मात्र होइन, त्यसबाट विद्यालयमा देखिने परिवर्तनमा निर्भर हुन्छ। सहभागी शिक्षकले सिकेका नयाँ विधि नियमित कक्षामा प्रयोग गर्न सके विद्यार्थीको गणितप्रतिको धारणा परिवर्तन हुन सक्ने जानकारी दिइयो ।
विद्यालयहरूले पनि डिजिटल सामग्रीको उपलब्धता, प्रोजेक्टर, इन्टरनेट, स्मार्ट कक्षाकोठा तथा प्रयोगात्मक सामग्रीको व्यवस्थापनमा ध्यान दिन आवश्यक देखिन्छ। त्यस्तै शिक्षकबीच अनुभव आदानप्रदान गर्ने नियमित मञ्च निर्माण गर्न सके यस्ता प्रशिक्षणको प्रभाव अझ दीर्घकालीन बन्ने कार्यक्रममा बताइयो ।
































































































