बिर्तामोड ९ असार । नेपाली कांग्रेसका उपसभापति बिश्वप्रकाश शर्माले सीमाका विषयमा स्पष्ट धारणा ल्याउन रास्वपा नेपाललाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले राष्ट्रियता, शुशासन, लोकतन्त्रका विषयमा स्पष्ट नीति लिन रास्वपालाई आग्रह गर्नुभयो ।
दुईतिहाइ नजिक मत प्राप्त राष्ट्रिय दलको महाधिवेशनको नीतिले राष्ट्रियता र जनजीविकाका सवालमा महत्वपूर्ण भूमिका राख्ने बताउँदै सीमाका विषयमा स्पष्ट धारणा ल्याई नेपालले भारतीय भूमी मिचेको भए प्रमाण पेश गर्न र नमिचेको भए संसदकै रोष्ट्रममा उभिएर आफ्ना भनाई फिर्ता लिन प्रधानमन्त्रीलाई महाधिवेशनले निर्देश गर्नुपर्ने धारणा राख्नुभएको हो ।

रास्वपाको नेतृत्वभन्दा नीतिले मुलुकको राजनीति प्रभावित हुने बताउँदै उहाँले महाधिवेशन सीमाका विषयमा मौन बस्न नहुने भनाई राख्नुभयो । वर्तमान मन्त्रीहरुको सम्पत्ति विवरणको श्रोत खोज्ने शाहस पनि महाधिवेशनले गर्नुपर्ने उहाँको भनाइ थियो ।
रास्वपाभित्र नेपाली कांग्रेस र नेकपा एमालेका थुप्रै कार्यकर्ता अवसर खोज्दै काजमा गएको बताउनुभएका शर्माले निश्चित समय सकिएपछि उनीहरु माउ पार्टीमै फर्कने विश्वास समेत ब्यक्त गर्नुभयो ।
‘६ सदस्यीय संसदीय समितिमा ३ जनाको बहुमत हुने कुन लोकतान्त्रिक विधि हो ?’– शर्माले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै भन्नुभयो–‘ जुनसुकै मुद्दा लागेको ब्यक्ति संसदमा जान पाउने विधिले कस्तो सुशासन स्थापित गर्छ ?’ राष्ट्रियता, अर्थतन्त्र र सुशासनका सवालमा साझा लक्ष हुनुपर्ने उहाँको भनाई थियो ।
पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि अग्रज नेताहरुलाई सातबुँदे प्रस्ताव पठाइएको बताउँदै उपसभापति शर्माले त्यस विषयमा नेताहरुको धारणा माग गर्नुभयो । बिशेष महाधिवेशनका असन्तुष्टि महाधिवेशनकै बन्द शत्रमा राख्न अपिल गर्दै उहाँले केन्द्रिय समितिमा रहनेले पनि वडाबाट नै अनुमोदित हुनुपर्ने बताउनुभयो ।
चिया उद्योग, मजदुर र ब्यापार समस्या समाधान गर्न सरकारलाइ आग्रह गर्दै शर्माले राष्ट्रियता, सुकुम्बासी, हात्तीआतंकजस्ता समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।

































































































