इन्द्रप्रसाद कटुवाल
भाषा विचार विनिमयको साधन मात्र नभएर एक अनिवार्य प्रेरक तत्व पनि हो । संसारमा सबैको सबैसंग भेटघाट हुन असम्भव कुरा छ । तर, भाषालाई लिपिवद्ध गरेपछि त्यसलाई संसारको कुना कुनासम्म पुर्याउन सकिएझैं मानव मनका विचारहरुलाई पनि पुस्तकको माध्यमबाट हरेकका हातहातमा अनि मस्तिष्कमा नै घुसाउन समेत सकिंदो रहेछ । जसरी पृथ्वीको सतहमा पानीको श्रोत, धारो, कुवा, खोल्सो, खहरे, हुँदै नदी र सागरको रुपसम्म बन्न पुगेको छ, त्यसैगरी भाषाको रुप पनि गद्य, पद्य, कथा, कविता, नाटक, निबन्ध हुँदै पद्यमा महाकाब्य र गद्यमा उपन्यासको रुपमा फिजारिन पुगेको पाइन्छ ।
भषाका यस्तै विविध माध्यम र स्रोतहरु मध्ये भगवती ढुङ्गेलद्वारा लिखित एक प्रेमकुण्ड शीर्षात्मक उपन्यास मेरो हातमा आइपुग्यो । यस अघि उनैबाट लिखित अरु दुईवटा आधा सत्य र प्रेमिल शीर्षात्मक उपन्यास पनि मैले पढेको थिएँ । तर, यो शीर्षक ‘प्रेमकुण्ड’ कस्तो कुण्ड हो त ? यो कुनै कुवा, कुप, पोखरी यानी यज्ञकुण्ड हो कि, कस्तो चाहिं कुण्ड जोडिएको छ । प्रेमसंग भनेर मलाई औधि नै कौतुहल पैदा भयो र पुस्तक अत्यन्त चासोका साथ पढें जस्मा निम्न विशेषताहरु रहेको पाएँ :–
आवरण भाग –
पुस्तकको ठाडोपट्टिको भाग १० इन्च र पानापट्टिको भाग ८ इञ्चमा रहेको हेर्दा मझौला साइजको डायरी जस्तै साइजमा रहेको देखिने हरियो र खैरो रङको भुँईमा सजिएको रातो रङको अक्षरमा ‘प्रेमकुण्ड’ लेखिएको र पुछारमा लेखकको नाम भगवती ढुङ्गेल लेखिएको छ ।
अनुच्छेद विधान –
दुई वाक्यदेखि बढीमा ४/५ वाक्यसम्मका अनुच्छेद रहेको, छोटा/छोटा वाक्यमा लेखिएको १५० पृष्ठको आयतनमा सज्जित पुस्तक पढ्नमा कुनै झञ्झट नलाग्ने छोटा–छोटा विश्राममा रहेको तर अङ्क चाहिं नलेखिएको पाइन्छ । यस पुस्तकको अनुच्छेद विद्यान वास्तवमा औपन्यासिक विशेषतामा पूर्ण आधारित छ ।
पात्र विधान :–
म र मेरो प्रथम पुरुष वाचक र तृतीय पुरुष वाचक नाम पात्रका माध्यमबाट प्रथम र द्वितीय पुरुष सम्वाद शैलीमा आधारित भई प्रमुख नारी पात्र ‘म’ भनिने पुष्पा र पुरुष पात्र सुरज सहायक पात्र आमा बुबा, हजुरआमा, बहिनी लीला पालित पुत्र सुन्दर, भाउजू-काका काकी आदि रहेका छन् । म भनिने ‘पुष्पा’ र सुरज नै यस उपन्यासका विचार सम्बाहक चरित्रवाहक पात्र हुन् । उपन्यासको अन्त्यमा देखिएकी पात्र भावना पुष्पाकै प्रतिच्छायाँ पात्र हुन् जस्मा नै गएर उपन्यासले विश्राम लिएको छ ।
परिवेश :–
उपन्यासकारको जन्म ओखलढुङ्गा भएपनि झापाको शिवगञ्ज र माइ खोला, किनार, गाउँवस्ती क्षेत्र र सम्पर्क क्षेत्र भद्रपुर रहेको देखिन्छ । माइ खोला किनार नजिकै रहेको गाउँवस्ती खेतीपातीको परिवेशमा पात्रहरुको चरित्र विकसित भएको पाइन्छ । कथानकको अन्त्यतिर विराटनगर र काठमाडौं जोडिन पुगेको पाइन्छ । क्षेत्र सीमित देखिए पनि चरित्र चित्रणमा एउटा सिङ्गो ग्रामीण र सहरिया झलक देख्न सकिन्छ ।
चरित्र चित्रण तथा पात्र मनोदशा (कथानक): –
निम्न मध्यम वर्गिय शिक्षिक परिवारकी ‘पुष्पा’ भनिने ‘म’ पात्र र सुरज नामक पुरुषपात्रको आपस्त छिमेकीका कारण बालसखाका रुपमा प्रेमभावनाको विकसित हुन पुग्दछ । ३ वर्षको साथी उमेरदेखि एक अर्कामा सखा भाव विकसित भएर एकअर्कामा संगै खाने, खेल्ने, नछुटिने जस्तो आदत बस्दै जान्छ । चरित्र चित्रणमा गौण रुपमा प्रेमको बाल मनोविज्ञान विकसित भएको आभाष हुन्छ । पात्र पुष्पा र सुरज ६ वर्षको हुँदा सुरजका घरमा भकारी भित्र लुकेको र पुष्पाकी आमाले लुक्ता उठेको हाँसोबाट थाहा पाएर हप्की दप्की गर्दै छुटाउँदा पुष्पाले निर्भीक रुपमा कि सुरज हाम्रा घरमा जानु पर्यो कि म यही वस्नु पर्यो भन्ने हठ गर्न पुग्छे । यो यौटा बालप्रेमको कसिलो ममता विकसित भएको उदाहरण हो ।
जब बालिका पुष्पा १४ वर्षकी र सुरज १५ वर्षका हुन्छन् । पुष्पाले आफ्नो सम्पूर्ण शारीरिक मानसिक इच्छा सुरजमा समर्पण गर्न पुग्दछे भने सुरज भने एकै परिवारमा हुर्किएका चेली माइती जस्तो ठान्दै पुष्पाकै काकाकी छोरी राधिकासंग आकर्षित हुँदै गएको व्यवहार देखाउन पुग्दा सुरज र पुष्पाको प्रेम उत्ताउलो र बासनात्मक नभएर स्वाभाविक प्राकृतिक प्रेमभावमा आधारित बन्न पुगेको देखिन्छ । बालिका पुष्पा सुरजसंग शारीकि समर्पण गर्न चाहे पनि सुरज त्यसमा समाहित हुन सक्तैन । पुष्पा केवल सुरजसंगको निकटता कल्पनाबाटै पूर्ति गर्न बाध्य बन्छे र भन्छे–‘कल्पनामा त निक्कै रमाइन्छ तर यथार्थमा रमाउन निक्कै दह«ो मुटु चाहिन्छ’ यस उद्गारले लेखकको स्वभावोक्ति प्रकट गरेको छ ।
नारी जाति प्रायशः अन्तर्मुखी स्वभावका हुनु प्राकृतिक गुण नै हो । पुष्पाका मनमा भएको कुरा कल्पनामा खेलाएर व्यवहारमा उतार्न नसक्नु नारी सुलभगुण नै हो । नारी र पुरुषका शारीरिक सम्बन्ध विकसित हुनमा पुरुषको संलग्नता नै सक्रिय हुने गरेको पाइन्छ । पुरुष पात्र सुरजमा यही सक्रियता कमजोर रहनाले नै पुष्पाको जीवनले अर्कै मोड लिन्छ । सुरजको यही निष्क्रियताले नै पुष्पामा मनोवैज्ञानिक रुपले डिप्रेसन बन्न पुग्छ । प्रुमख पात्रहरुको चरित्र उत्ताउलो नभए अन्र्तमुखी बन्न पुगेको छ । यो नारी सुलभ गुण नै मान्नु पर्छ । उपन्यासको यहाँसम्मको चरित्र चित्रणले लेखकको स्वभाव ठ्याक्कै साहित्यकार नारी श्रष्टा पारिजातसंग मिल्न पुगेको देखिन्छ । प्रगाढ प्रेमभावनाको कदर गर्न नसकेपछि सुरजको र पुष्पाको बीचमा नैराश्यता आउँछ । तर जब पुष्पा चाहन्छिन् सुरज पछि हट्तछ। जब सुरज पुष्पासंग नजिकिन चाहन्छ त्यतिबेला पुष्पाको शारीरिकस्थिति बेग्लै बन्न पुग्छ र परिवेश फरक भैसकेको हुन्छ । कलेज पढ्दाकी आत्मीय साथी भावनामाथि नै आफ्ना सम्पूर्ण भावना पोखेर आफू जीवनदेखि नै निराश बन्न पुग्छे पुष्पा ।
जब त सुरजा आफ्नो पढाइबाट घर विदामा आएको हुन्छ त्यो बेला सुरज र पुष्पाको भेट हुने संयोग मिल्दछ । त्यसबेला पुष्पाको विहेको कुरा चलेको हुन्छ । सुरजले आफ्नो पहिलेको कमजोरीप्रति पश्चाताप गर्दै अब पुष्पालाई आफूसंँगै काठमाडौं लैजाने प्रस्ताव राख्तछ । तर पुष्पाका ह्ृदयमा पारिवारिक मर्यादा पहाड बनेर अवरोध गर्छ । साथै शारीकि दुर्वलता पनि। अन्त्यमा सुरजलाई भावनाकाबारेमा लेखिएको डायरी अन्तिम मायाको चिनो दिंदै भावनासंग नजिक भएर रहने आग्रह गर्दै सुरजलाई विदा गर्न पुग्छे पुष्पा । केही दिनपछि पुष्पाले सदाका लागि संसारबाट विदा लिन्छे । यहाँसम्मको चरित्र चित्रणले कोमल ह्ृदय भएको जो कोही पाठकका आँखा रसाउनुका साथै गला अवरुद्ध हुन्छ । उपन्यास कारुणिक बन्दछ । यहाँसम्मको चरित्र चित्रणमा सच्चा प्रेमको समाधि पूरा हुन्छ ।
उपन्यासको अन्तिमतिर भावना र सुरजको काठमाडौंको एक लोकदोहोरी कार्यक्रममा भेट हुन्छ । भावनाले सुरजको पहिचान गर्छिन तर सुरजलाई थाहा हुँदैन । अर्कोदिन दुवैको भेटमा भावनाले पुष्पासँगको सबैकुरा खोल्छे विस्तारै दुवैको सम्बन्ध प्रगाढ हुँदै जान्छ । सुरजलाई पुष्पाको मायाँ भावनाबाट पूरा हुन्छ ।
उपन्यासमा मुख्य पात्र पुष्पा एउटा प्रेमको पुष्प गुच्छा हो जसको कुनै वास्ना कसैले लिन नपाई उसका पत्रपत्र ओइलाएर झर्न पुग्छन् र माटामा मिल्दछन् भने पुरक पात्र भावनाले पुष्पाको भावना पूरक गर्छे सुरजले पुष्पालाई भावनामा मात्र पाउँछ । यसरी उपन्यास प्रेमको एउटा गहिरो कुण्ड बन्न पुग्दछ । जुन कुण्डभित्र पाठकले पुष्पाको प्रेतछायाँ देख्न सकिन्छ । करुणा, भय, कौतुहलतामा उपन्यासले विश्राम लिन्छ । मान्छे अन्त्यमा बलेको आगो तापेर रमाउँछन् । सुरज भावनासँग रमेर जीवन व्यतीत गर्दछ ।
औपन्यासिक विशेषता :–
सुन्दर पदावलीले युक्त भएर पाठकको मनलाई तान्न सक्ने सामाजिक परिवेश भित्रको चरित्र चित्रण गरिएको विभिन्न परिच्छेदमा लिखित गद्य रचना नै उपन्यास हो । उप र न्यास जोडिएर बनेको शब्द उपन्यासले समाजको सिङ्गो चित्र छेउमा उभ्याएको हुन्छ, यही नै उपन्यासको अर्थ हो । यस उपन्यास भित्र थुप्रै मन छुने उद्धरण छन् ती मध्ये दुईटाको मात्र यहाँ उदृत गरिएको छ ।
उपन्यास भित्रका मन छुने पंक्ति : –
जिन्दगी जिउँनुको नाम हो, मरेर त कस्ले कस्लाई प्रस्तुती देखाउन सक्छ र ? तर पनि यो दुनियाँमा तँछाड म छाडको होडले कहित्लै विश्राम नलिने रैछ । (प्रेमकुण्ड पृष्ठ ८९)
जीवनको उज्यालो सायद यही ह्ृदयमा कैद भएको हुन्छ क्यारे । जब यो उल्लासमय रहन्छ, अनुहारमा ज्योति छाउँछ, जब यो तनावमय रहन्छ मुहारमा आँधिवेरी छाउँछ । (पृष्ठ १३७)
अन्त्यमा :-
यस ‘प्रेमकुण्ड’ उपन्यासको गहिराई नाप्ने उपकरण कुनै भौतिक सामग्री नपाएर आफ्नो बौद्धिकता र चेतनाको सहारालिई नाप्ने प्रयास गरेको छु । यसको परिणाम स्वरुप साहित्यकार पारिजातको लेखनको जुन उचाइ छ, यस प्रेमकुण्ड उपन्यासको गहिराई त्यति नै पाउन सकेँ । यो नपाई लेखक भौतिक कदको नभएर प्रेमकुण्ड उपन्यासको भावमय कदको हो । लेखकलाई धेरै धेरै धेरै धन्यवाद । अझ व्यापक परिवेश समेटिएको कृति पुत्र सन्तानको रुपमा जन्मिन सकोस ! यही शुभेच्छा छ मेरो ।

































































































