विर्तामोड । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवम् पूर्व राज्यमन्त्री उदयशम्शेर राणाले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने संभावना नरहेको बताउनु भएको छ । नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा आइतबार नेपाल तरुण दल २ नं क्षेत्रीय समिति झापाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता राणाले नेकपा माओवादी (केन्द्र) र जनता समाजवादी पार्टीले पूर्ण रुपमा समर्थन नगरेसम्म कांग्रेसले सरकार नबनाउने स्पष्ट पारे ।
तरुण दल २ नं क्षेत्रीय अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित सो समारोहमा नेता राणाले माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन आलटाल गरिरहेको र जसपामा पनि दुईटा धार देखिएकोले नयाँ सरकार गठन हुन समय लाग्ने उहाँले बताउनु भएको हो । कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास गुमिसकेकाले कांग्रेसले दुईतिहाइ मत ल्याउने गरी निर्वाचनको तयारीमा लाग्न कांग्रेस नेता–कार्यकर्तालाई आग्रह गरे ।
तरुण दल झापाका सचिव अनिल ढुंगानाले सञ्चालन र तरुण दलका महाधिवेशन प्रतिनिधि प्रशान्त भण्डारीले स्वागत गरेको समारोहमा कांग्रेस झापा सभापति उद्धव थापा, उपसभापति देउमान थेवे, कांग्रेस झापाका प्रवक्ता लोकराज ढकाल, नेपाल महिला संघ झापाकी सभापति सुशीला ढकाल, नेपाल विद्यार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेतील गायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा तरुण दलका युवाहरुले उल्लेख्य रक्तदान गरेको जिल्ला कोषाध्यक्ष काजीमान चौहानले जानकारी दिनुभयो ।
दुईतिहाई मत ल्याउने गरी तयारीमा लाग्न राणाको आग्रह

































































































