काँकरभिट्टा २१ असार । झापा धुलाबारीका महिलाहरुको सक्रियतामा प्रकाशित साहित्यिक कृति इन्द्रेणीको शनिबार आयोजित एक समारोहका बीच विमोचन गरिएको छ ।
इन्द्रेणी साहित्यिक महिला मञ्चको अगुवाईमा इन्द्रेणी प्रकाशनद्वारा प्रकाशित कृतिको विमोचन कार्यक्रमका प्रमुख अतिथि तथा संघीय सभाका सांसद पवित्रा निरौला खरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य यज्ञराज प्रसाई, वर्तमान प्राज्ञ सदस्य सुभद्रा आचार्य र नेपाल प्रेस युनियन झापाका अध्यक्ष एवम् जनआन्दोलन साप्ताहिकका सम्पादक इन्दु पूर्वेलीले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले महिलाहरुको जीवन भोगाई र सोही क्रममा संहालिएका अनुभवलाई समेटेर प्रकाशित कृतिले आम नेपाली महिलाको मनोभावना समेट्ने धारणा राख्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा पूर्व प्राज्ञ सदस्य यज्ञराज प्रसाईंले सिर्जनामार्फत सार्थक जीवन खोज्न सकिने बताउँदै प्रत्येक महिलाको जीवन भोगाइ सुन्दर सिर्जना बन्न सक्ने धारणा राख्नुभयो ।
अर्का विशेष अतिथि तथा प्राज्ञ सदस्य सुभद्रा आचार्यले महिलाहको सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रत्येक ब्यक्ति सिर्जनाको स्रोत भएको धारणा राख्नुभयो ।
पुस्तकको समिक्षा गर्दै पत्रकार इन्दु पूर्वेलीले कृतिभित्र २७ वटा साना–ठूला गद्यात्मक रचना समेटिएको जानकारी दिदै कथा, समसामयिक विषय, सामाजिक परिवेश, शिक्षा, राजनीति, महिलाहरुको जीवन भोगाई, बाल मानसिकता लगायतका विषयवस्तु कृतिमा रहेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा प्रधान सम्पादक मिरा काफ्ले पोखरेलले कृति प्रकाशनका लागि महिलाहरुमा भएको प्रतिभा प्रस्फुटन गर्न विभिन्न चरणमा पलेंटी साहित्य गोष्ठी गरिएको र त्यही गोष्ठी सिर्जनशिलताको आधार भएको जानकारी दिनुभयो । लगभग डेढबर्ष अघि गठिन इन्द्रेणी साहित्यिक महिला मञ्चको अध्यक्षमा मिरा काफ्ले पोखरेल, उपाध्यक्षमा मुनामाया राना, सचिवमा कविता शर्मा, कोषाध्यक्षमा लीना भण्डारी, र सदस्यहरुमा चण्डिका बानिया, अमृत चौलागाई र रोजिना घिमिरे रहेका छन् । मञ्च गठन भएको लगभग डेढबर्षमा मुखपत्रको रुपमा इन्द्रेणीको प्रकाशन गरिएको बताइएको छ ।
इन्द्रेणी विमोचन
