Homeसमाचारकन्यामको पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारको भुमिका

कन्यामको पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारको भुमिका

भुगोल
सुन्दर देखिने चियाका फाँटहरु । छिनछिनमा लाग्ने हुस्सु र खुल्ने मौषम । अनि, जो कोहीलाई आनन्दित तुल्याउने हावासँगै चल्ने तुँवालो । यिनै विशेषताले भरिपूर्ण ‘कन्याम’ पूर्वको एउटा सुन्दर पर्यटकीयस्थलका रुपमा परिचित छ ।
‘कन्याम’ इलाम जिल्लाको मात्र होइन, कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो । समुद्र सतहबाट साँढेपाँच हजारदेखि छहजार फिट उचाइँमा अवस्थित कन्याम आन्तरिकसँगै छिमेकी भारतीय पर्यटकहरुको पनि रोजाइँको गन्तव्य बन्दै आएको छ । दुईसय ४० हेक्टर क्षेत्रफलमा फैलिएको चियाबारीले कन्यामलाई पूर्वी पहाडकै ‘रानी’ बनाएर राखेको छ ।
कन्याम, इलामको सूर्योदय नगरपालिका–६, ७ र ८ नम्बर वडामा फैलिएको छ । कन्याम घुम्न आउनेको संख्या बर्षेनी बढ्दो छ । दैनिक एकहजारबढी आन्तरिक एवं बाह्य पर्यटकको आवागमनले कन्यामको पर्यटन व्यवसायलाई उद्योगको रुपमा विकास गरेको छ । पर्यटक बसोबासको लागि नगरपालिकामा दुईसय ५० वटा होटल लज र रेस्टुरेन्ट दर्ता छन् । कन्याम पर्यटकीय क्षेत्रमा भने २० देखि २४ वटा होटल र रेस्टुरेन्ट सञ्चालनमा छन् ।
कन्यामको सुन्दरताभित्र चलिरहेको अर्को एउटा उद्योग हो, चिया उद्योग । जसले विश्व बजारमा नेपाललाई चिनाएको छ । स्वाद र गुणस्तरका कारण विश्व बजारमा उत्कृष्ट मानिने नेपालको ‘अर्थोडक्स’ चिया यहीँ कन्यामको चियाबारीमा उत्पादन हुने गरेको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको चारआलीबाट उत्तर मोडिएपछि कन्याम पुग्ने मूल बाटो मेची राजमार्ग भेटिन्छ । मेची राजमार्गको करिब १५ किलोमिटर यात्रा पार गरेपछि इलामको उकालो चढ्न थालिन्छ । बाटोमा पर्ने बर्ने चिया कमान अनि, कोल्बुङको नागबेली दृष्यले कन्यामसम्म आइपुग्ने पर्यटकलाई आनन्दित तुल्याउँछ । धार्मिकस्थल कुटीडाँडा र हर्कटे बजार पार गरेपछि कन्यामको चिसो बतास सुरु हुन्छ ।
झापाको चारआलीबाट करिब ४० किलोमिटर दुरीको यात्रा गरेपछि कन्याम पुगिन्छ । कन्याम सुन्दरता हेर्ने र रमाउनका लागि मात्र होइन, तराईको ४० डिग्रीको गर्मी छल्न पुग्नेहरुको पनि गन्तव्य बन्दै आएको छ । पर्यटन व्यवसायी र टुरिजम गार्डको पहिलो रोजाइँमा पर्ने कन्याम विदा मनाउन पारिवारिक जमघटको पनि स्थल बनेको छ ।
साँस्कृतिक पहिचान झल्काउँने विभिन्न जातीय पहिरनमा सजिएर कन्यामको शान्त र शितल वातावरणमा चिया बगानको अवलोकन, घोडचढी, अनि फोटो तथा भिडियो खिच्न व्यस्त रहने आगन्तुकहरूले कन्यामलाई जिवन्त बनाउदै आएका छन् । संस्थागत तथा सामूहिक भ्रमण, शैक्षिक भ्रमण, झापा, मोरङ र सुनसरीसहित देशका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, कालेबुङ्, सिक्किम, सिलगुडी, कलकत्ताबाट समेत पर्यटकहरू आउने गर्दछन्  । आन्तरिक तथा बाह््य पर्यटकीय चहलपहल भइरहने भएकाले कोशी प्रदेशसँगै नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा समेत कन्यामलाई लिने गरिन्छ ।
जनप्रतिनिधिको धारणा :
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा परिचर्चा कमाउन सफल कन्याम क्षेत्रको बिकास बारेमा जानकारी दिदै यसो भन्छन् सुर्योदय नगरपालिकाका कार्यबहाक प्रमुख दुर्गा बराल पर्यटकीय क्षेत्र कन्यामका साँघुरा मेची सडक स्थानीय सरकारको पहलमा सडक विभागले फराकिलो बनाउने काम गर्यो । त्यस पश्चात पदमार्ग र साइक्लिङ ट्रयाक स्वीस गभरमेन्ट, प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो ।
वडा नं ७ का अध्यक्ष लोकबहादुर राई भन्छन् कन्याम ईन होटलदेखि पालटाँगेतर्फ कटुसघारीसम्मको क्षेत्रलाई कन्याम पर्यटकीय क्षेत्रको रुपमा क्षेत्र निश्चित गरी विकास र व्यवस्थित गर्न वडाले बिषेश नीति तथा कार्यक्रम तयार पारेको छ  । सोही अनुसार वडाले काम गर्नेछ ।
पर्यटकीय स्थल विकासका बारेमा जानकारी दिदै वडा नं ८ का अध्यक्ष जंगबहादुर गुरुङ भन्छन्, कोशी प्रदेश सरकारको सहयोगमा कन्यामदेखि माने डाँडा हँुदै आइतबारे–पूर्णेडाँडासम्म पदमार्ग निर्माण गरिएको छ । सोही पदमार्ग बीच भागमा ८ नं वडामा साइकलिङ ट्र्याक १५० मिटर लामो सिसाको पुल स्थानीय र प्रदेश सरकारको सहकार्यमा निर्माण गरिएको हो ।
स्थानीय र प्रदेश सरकारको प्रवद्र्धनका प्रयासहरु:
पर्यटन पूर्वाधार विकास

सडक, पार्किङ स्थल, पदमार्ग, दृश्यालोकन केन्द्र तथा अन्य पर्यटकीय संरचनाको निर्माण र स्तरोन्नतिका कार्यक्रम सञ्चालन गरिएको छ ।
चिया पर्यटन प्रवद्र्धन
कन्यामलाई चिया पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ब्रान्डिङ, प्रचारप्रसार तथा स्थानीय उत्पादनको बजारीकरणमा प्रदेश सरकारले सहयोग गर्दै आएको छ ।
सडक स्तरोन्नति
भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत सडक स्तरोन्नति कार्यक्रम सञ्चालन भइरहेका छन्, जसले कन्यामसम्मको यात्रालाई सहज बनाएको छ ।
लगानी र पर्यटन प्रवद्र्धन
होटल, रिसोर्ट तथा अन्य पर्यटन व्यवसायमा निजी लगानी आकर्षित गर्न प्रदेश सरकारले विभिन्न लगानी सम्मेलन र प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ ।
रोजगारी तथा स्थानीय उद्यम विकास
पर्यटनसँग सम्बन्धित होमस्टे, कृषि, सेवा, साना तथा मझौला व्यवसायलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिएका छन् । पर्यटनसँगै स्थानीय उत्पादन र उद्यमशीलतालाई जोड्ने नीति अवलम्बन गरिएको छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये प्रदेश सरकारले पालिका जोड्ने सडकहरू निर्माणको लागि ४ अर्ब रुपैयाँ र जनता आवासलाई ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३ र८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
पर्यटनले फस्टाएको व्यवसाय:
सूर्योदय नगरपालिका वडा नं. ७ को तथ्यांक अनुसार कन्याम ७ मा हाल एकसय ६२ वटा ट्रली तथा घुम्ती व्यवसाय सञ्चालनमा छन् । त्यसमा कोसेली, सांस्कृतिक पहिरन, कस्मेटिक, खाजाघर, सब्जी पसल र ४२ वटा फोटो व्यवसाय संचालनमा छन् । यसबाहेक ३९ वटा घोडचढी व्यवसाय सञ्चालनमा छन् । नेपाल चिया विकास निगमका सञ्चालक सांघाई समूहको अनुमति लिएर चारचक्के बाइकले सेवा सञ्चालन गरिरहेको छ । ८ देखि १० वटा सुविधायुक्त होटल ब्यवसाय सञ्चालनमा छन् ।
व्यवसायीको धारणा:
२०७४ साल देखि कन्याम भिलेज तथा कटेज संचालन गर्दै आएका स्थानीय युवा व्यवसायी टेक राज गिरीका अनुसार २०७४ साल तिर कन्याम क्षेत्रमा औलामा गन्न एक दुई वोटा होटलहरू संचालनमा थिए भने कन्याममा केवल आन्तरिक पर्यटकहरूको आगमन हुन्थयो । हाल आन्तरिक मात्र नभई भारतीय देखि अन्य बिभिन्न मुलुकबाट पर्यटकहरुको आगमन हुने गरेको छ । हाल कन्याममा दुई तीन दिने सेमिनार, गोष्ठी, व्यवसायिक कार्यक्रम, चियाको दृश्य अवलोकन, अनुसन्धान , सूर्योदयको दृश्य अवलोकन ,चरा हेर्न विभिन्न उद्देश्यले पनि पर्यटकहरु कन्याम आउने गर्दछन्।
रेष्टुरेन्ट व्यवसायी सुजता प्रधान भन्छिन्, ‘२०६३ तिर कन्याममा त्यति धेरै मान्छे आउदैन थिए, हुस्सु ,कुहिरो र पानी परिरहन्थ्यो । काठबाट बनाएका संरचना मकाईरहने मर्मत सम्भार गरिरहनु पर्ने हैरानी थियो । मुलुकमा संघीय व्यवस्था कार्यान्वयन पछि विकास र ब्युटिफिकेशनका कामहरु भए । पर्यटकहरु भित्रिन थाले । आफुले पनि व्यवसायिक रुपमा पक्की संरचना बनाइयो । वर्षभरि नै व्यवसाय खुला राख्ने गरेको छु । वैशाख र जेठ महिना गर्मी हो । त्यसैले पर्यटकको भिड नै हुन्छ । श्रीमानले केही बर्षयता रिसोर्ट सञ्चालन गर्दै आउनु भएको छ । आफुले रेष्टुरेन्ट चलाईरहेको छु ।’
घोडा व्यवसायी दिपक कटुवाल ‘कन्याममा व्यवसायिक रूपमा दर्ता भएका घोडा रूटमा संचालन हुने जानकारी दिन्छन् । कटुवाल भन्छन् १३/१३ वटा घोडाको रूट बनाईएको छ । सबैलै पालैपालो व्यवसाय संचालन गर्छौ । घोडा चढेर फोटो खिचेको ५० रूपैयाँ, वरिपरि नजिकै डुलेको तीनसय रूपैयाँ, अलि परसम्म एकहजार देखि एकहजार पाँचसय चियाबारी क्षेत्र पुरै डुलेको दुईहजार सय सम्मको शुल्क निर्धारण गरिएको छ ।’
खाटमै ब्यापारः
कन्याम ७ की नरमाया कटुवाल १२ बर्ष अघि देखि कन्याममा खाटबाट व्यापार शुरु गरेकी बताउछिन । हाल उनी घुम्ती पसलमा कोसेली तथा कस्मेटिक बस्तुको व्यापार गर्छिन । दैनिक कतिको व्यापार हुन्छ ? भन्ने प्रश्नको उत्तर दिदै उनी भन्छिन् दिनको रोज उठ्छ ।
रेगन निरौला डेढ बर्ष देखि फोटो व्यवसाय गर्दै आएको बताउछन् । निरौला फोटो खिचेको प्रति पिस ३० रुपैयाँ , भिडियो खिचेको एकसय रूपैयाँ लिने गरेको बताउँछन् । धेरै फोटो खिचे पर्यटकले मन परेको फोटोको मात्र शुल्क तिरे पुग्ने उनी बताउँछन् ।’’
कोशी प्रदेशको पर्यटन
झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी १४ जिल्ला समेटिएको कुल २५ हजार ९०५ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको कोशी प्रदेशको पर्यटन उकालो लाग्दो छ । प्रदेश सरकारले गत साल २०८२ कोशी प्रदेश पर्यटन बर्ष घोषणा गरेर पर्यटनका लागि बार्षिक योजना तथा कार्यक्रम घोषणा गरेर पर्यटन प्रवद्र्धनमा अग्रसरता देखाएको थियो । कोशी प्रदेश सरकारले पर्यटन वर्षलाई सफल बनाउन गत आर्थिक वर्ष १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । कोशी प्रदेशमा पर्यटनको प्रसस्त सम्भावना रहेको र सयौं आकर्षक गन्तव्यहरुले पर्यटक पर्खिरहेको भन्दै सरकारले ती पर्यटकीय गन्तव्यहरुको पूर्वाधारसँगै निजी क्षेत्रको क्षमता विकासमा सहयोग गर्ने योजना बनाएको लिएको थियो ।
संघीय सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्ये कोशी प्रदेशमा ३० वटा केन्द्रहरु रहेको र त्यस बाहेक सरकारले थप ८२ नयाँ गन्तव्यहरु पहिचान गरी विकास र प्रवद्र्धनमा जुटेको कार्यक्रममा जानकारी दिइएको छ । त्यसमध्ये कन्याम क्षेत्र समेटिएको हो । प्रदेश सरकारले, प्रदेश पर्यटन क्षेत्र विकासको लागि आर्थिक बर्ष २०८३/०८४ मा समेत तीनअर्ब ४९ करोड बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचार प्रसारका लागि सरकारले उक्त बजेट विनियोजन गरेको हो । सोही बजेटमा प्रदेशले मनाउने दुईवर्षे भ्रमण वर्षको कार्यक्रम समावेश गरिएको छ । यसअघि चालु आर्थिक वर्षलाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले आगामी दुईवर्ष पनि पर्यटन वर्ष घोषणा गरेको छ ।
पर्यटनको महत्व र इतिहास:
एक्काईसौ शताब्दीका मानिसहरूलाई तनावरहित जीवन बाँच्न घुमघाम, दृष्यालोकन, अपरिहार्य जस्तै भएको छ । पर्यटनले मानिसलाई आनन्द र मनोरञ्जन मात्र होइन, नयाँ कुराको जानकारी पनि गराउँछ ।
प्राचीन कालमा मानिसहरू धार्मिक र व्यापारिक उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दथे । सो समयमा मनोरञ्जनको उद्देश्यले नभई धार्मिक र व्यापारिक उद्देश्यले गरिएको यात्रा नै पर्यटनको विकासको प्रारम्भिक रुप मानिन्छ । आधुनिक पर्यटनको विकास १९ औँ शताब्दीको क्रान्तिबाट तीव्र रूपमा बढेको पाइन्छ । १९ औँ शताब्दीमा आइपुग्दा रेल, जहाज र सडक यातायातको विकास भए पश्चात आधुनिक पर्यटन सुरु भएको हो । नेपालमा पर्यटन प्रवद्र्धनका कार्यहरू २००७ साल, अर्थात सन् १९५० पछि सुरु भएको पाइन्छ । २००७ सालको क्रान्तिपछि प्रजातन्त्र स्थापना भयो । प्रजातन्त्र पश्चात हिडडुल, घुमफिर र यात्रा गर्न खुकुलो र सजिलो भयो । त्यसपछि सरकारले विदेशी पर्यटकलाई मुलुकमा प्रवेश दिन थाल्यो । त्यही समयबाट पर्यटन विकास तथा प्रवद्र्धनका कार्यक्रम सुरु गरिएको हो ।
पृथ्वीको कुल भुभागको ०.०३ र एसियाको ०.३ प्रतिशत अंश रहेको नेपालको कुल क्षेत्रफल १,४७,१८१ किलोमिटर रहेको छ । प्रकृतिको अनुपम सौन्दर्यसँगै विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा, हिम श्रखला, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, ६ सय भन्दा बढी खोलानाला, विभिन्न ताल तलैया, पहाड पर्वत, झरना, धार्मिक तथा सांस्कृतिक सम्पदा, १४१ जातिको बसोबास, सांस्कृतिक विविधताले भरिपूर्ण भुगोल, स्वदेशी तथा विदेशी दुवै पर्यटकहरुको आकर्षण दिनानुदिन बढ्दै गएको हो ।
निष्कर्ष :
कन्याम क्षेत्र जस्तै पर्यटकीय सम्भावना बोकेको धार्मिक, साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक गन्तव्यको पहिचान गरी संघीय सरकारले प्राथमिकता राखेर पर्यटन प्रवद्र्धन तथा बिकासका कार्यक्रमको गुरु योजना बनाउन आवश्यक छ । प्रचार–प्रसारमा ध्यान दिन सकेमात्र ओझेलमा परेका पर्यटकीय स्थलहरूलाई माथि उठाउन सजिलो हुनेछ । पर्यटनले नेपाल जस्तो मुलुकको अर्थतन्त्र चलायमान, रोजगारी सिर्जना, किसानका स्थानीय उत्पादनले बजारीकरण र बिदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत बन्ने छ ।
पर्यटन व्यवसायबाट आर्थिक सवलीकरण, रोजगारी, बन्धुत्वको भावना विकास गराउँछ । स्थानीय कला संस्कृति, राम्रो हावापानी, यातायातको सुविधा, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक महत्व, आकर्षक दृश्य, शान्त वातावरण, पुग्न सजिलो, सुविधायुक्त क्षेत्र, अतिथि सत्कार पर्यटनका आवश्यक तत्वहरु हुन् ।
झापा ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकन्यामको पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारको भुमिका
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img