काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मिडिया काउन्सिल बिद्येयकको बिषयलाई लिएर भइरहेको आन्दोलन फिर्ता लिन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघको आन्दोलन र सुझावकै आधारमा हामीले मिडिया काउन्सिल बिद्येयक सच्चिने नेता नेम्वाङको भनाई छ ।
बिद्येयकको बिषयलाई लिएर आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघलाई संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट औपचारिक रुपमा आमन्त्रण गरी उपनेता नेम्वाङले सो प्रस्ताव गरेका थिए । ‘नेपाल पत्रकार महासंघको आन्दोलन र सुझावकै आधारमा हामीले मिडिया काउन्सिल बिद्येयकलाई होल्डमा राखेका छौं, राष्ट्रिय सभामा दर्ता भएर सांसदलाई बितरणबाहेक अरु कुनै काम अघि बढाइएको छैन,’ नेता नेम्वाङले भने–, ‘तपाईहरुको भवानाअनुसार नै मिडिया काउन्सिल बिद्येयक सच्चिन्छ, त्यस्को जिम्मा म लिन्छु, आन्दोलन फिर्ता लिनोस ।’
महासंघका अध्यक्ष गोबिन्द आचार्यसहितका पदाधिकारीसँग मिडिया काउन्सिल बिद्येयकको बिषयमा लामो छलफल गरेका छन् । महासंघ पदाधिकारीलाई नेता नेम्वाङले नै आमन्त्रण गरी प्रेस स्वतन्त्रतामा कँही कतै आँच आउने काम प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको नेतृत्वले गर्न नदिने प्रष्ट पारे । ‘मैले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग छलफल गरेको छु, उहाँहरुले मलाई नै मिडिया काउन्सिल बिद्येयकको बिषयमा सहमति गरी सवै पत्रकार मित्रहरुले दिपावली गर्ने अवस्था बनाउनोस भन्नुभएको छ, तपाईहरुले बुझाउनु भएको १६ बुँदा पनि मलाई थाहा छ, त्यसलाई सम्बोधन गर्न नसकिने कुरा छैन,’ नेता नेम्वाङको भनाई थियो ।
वार्तामा नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य, उपाध्यक्ष बिपुल पोखरेल, महासचिव रमेश बिष्टसहितका पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी थिए । महासंघका नेताहरुले मिडिया काउन्सिल बिधेयक फिर्ता हुनुपर्ने नभई प्रेस स्वतन्त्रताबिरोधी प्रावधान संशोधन गरेर पारित गर्नुपर्ने नै आफूहरुको भनाई रहेको बताएका थिए ।
‘छलफल अत्यन्त सकारात्मक ढंगबाट अघि बढेको छ, हाम्रो माग सम्बोधन हुन्छ भन्नेमा अव ढुक्क भएका छौं,’ वार्तापछि महासचिव बिष्टले भने ।
मिडिया काउन्सिल बिद्येयक सच्याउने जिम्मा लिंदै पत्रकार महासंघलाई आन्दोलन फिर्ता लिन नेम्वाङको आग्रह
































































































