बिर्तामोड १२ असार । लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इनरह्वील क्लब बिर्तामोड मिडटाउनले सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा लागूऔषध दुव्र्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असरबारे विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लोकबहादुर दियालीले लागूऔषधको समस्या कुनै एक व्यक्तिमा सीमित नरही समग्र समाजको साझा चुनौती बनेको बताए। उनले समाजमा प्रत्येक व्यक्तिको आवश्यकता र जिम्मेवारी रहेको महसुस गर्न सके लागूऔषध जस्ता विकृतिबाट टाढा रहन सहज हुने उल्लेख गरे।
कार्यक्रमका अतिथि स्कुलका शिक्षक निलाम्बर झाले युवापुस्तामा लागूऔषधविरुद्ध सचेतना फैलाउन विद्यालय, परिवार र समुदायले संयुक्त रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। मनलाई नियन्त्रणमा राखी सकारात्मक सोचको विकास गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढ्न सके जीवनमा सफलता हासिल गर्न सकिने धारणा राखे।
कार्यक्रमका सहजकर्ता रोसन भण्डारीले लागूऔषध भनेको के हो, यसले मानिसलाई कसरी कुलतमा फसाउँछ र त्यसपछि घरपरिवार, आफन्त तथा समाजमा कस्तो नकारात्मक प्रभाव पार्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए। उनले लागूऔषध प्रयोगकर्ताको व्यक्तित्व, मानसिकता, व्यवहार र वृत्ति विकासमा गम्भीर असर पर्ने, विभिन्न स्वास्थ्य समस्या निम्तिने तथा साथीभाइ र समाजबाट तिरस्कार र घृणाको सामना गर्नुपर्ने अवस्था सिर्जना हुने बताए।
उनले लागूऔषधले सुरुमा साथ दिने जस्तो देखिए पनि अन्ततः मानिसलाई पूर्ण रूपमा नियन्त्रणमा लिँदै जीवन नै बर्बाद पार्ने भन्दै ूपहिले हात दिएजस्तो गर्छ, पछि बाँध्छू भन्ने सन्देशमार्फत सहभागीलाई सचेत गराएका थिए। साथै लागूऔषधले सामान्य जीवन बाँचिरहेको व्यक्तिलाई कसरी दुःख, अपराध र निराशाको चक्रमा पुर्याउँछ भन्ने विषयमा पनि जानकारी गराइएको थियो।
अभिभावक सन्तोष बाह्रकोटीले लागूऔषध भित्रिने र कारोबार हुने स्थानमा प्रभावकारी निगरानी तथा सुरक्षा व्यवस्था गर्न सके समस्या अहिलेको जस्तो विकराल नबन्ने धारणा व्यक्त गरे।
कार्यक्रममा क्लबकी संस्थापक अध्यक्ष भूमिका पोखरेलको समेत उपस्थिति रहेको कार्यक्रममा स्वागत तथा औचित्यमाथि अध्यक्ष लुना बस्नेत शिवाकोटीले प्रकाश पारेकी थिइन् भने सञ्चालन महासचिव कमला कट्टेल पौडेलले गरेकी थिइन्।
कार्यक्रममा सहभागीहरूले लागूऔषध दुव्र्यसन रोकथामका लागि परिवार, विद्यालय, समुदाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा अवाकस स्कूलका विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
लागूऔषध दुव्र्यसन विरुद्ध विद्यार्थी तथा अभिभावकलाई सचेतना कार्यक्रम

































































































