सैनिकमोड २९ माघ । महिलाहरुलाई सीप सिकाएर व्यवसायिक बनाउने उद्देश्यले विर्तामोड नगरपालिका वडा नंं १० मा संचालित १५ दिने सेनेटरी प्याड तथा बच्चाका लागि आवश्यक डाइफर बनाउने तालिमको बुधबार आयोजित एक कार्यक्रमकाबीच समापन गरिएको छ ।

वडामा गठित महिला संजालका अध्यक्ष खिलेश्वरी पाण्डेको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं.–१० का अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरुङले सिकेको सिपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सुझाव दिनुभएको थियो ।
वडा सदस्यहरु अर्जुन सिटौला, भक्तबहादुर राजवंशी, दिपीका शिवा, नेपाली कांग्रेस क्षेत्र नंं–३ क्षेत्र ख का सभापति नविन विमली, समाजसेवी मनु मुखिया, प्रशिक्षक दुर्गा श्रेष्ठ, सहभागीका तर्फबाट ववि गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वडामा गठित महिला संजालको आयोजना तथा विर्तामोड नगरपालिका वडा नं.–१० का आर्थिक सहयोगमा सञ्चालित तालिममा स्थानीय ३० जन महिलाको सहभागिता रहेको थियो ।
तालिमको अन्तिम दिन बुधबार सेनेटरी प्याड बनाउने तरिका र सुरक्षित प्रयोगका बारेमा वडामा रहेका माध्यमिक तहका किशोरीहरुलाई चेतनामुलक जानकारी दिइएको थियो ।

































































































